Aamsanchar

मिल्स गोल्डकपको उपाधी झापाको ध्रुवतारालाई

Author Image
आइतवार, चैत ५, २०७९

मोरङ  । झापाको ध्रुवतारा युवा क्लबले सिराहा गोलबजारको प्रतिभा फुटबल क्लबलाई ३–२ ले हराउँदै शनिबार तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगर जुट मिलको मैदानमा सम्पन्न फाइनलमा झापाका लागि गौरव धिमालले दुई र प्रवीण राईले एक गोल गरे । सिराहाबाट बिनु आलेमगर र विधान लामाले १–१ गोल गरेका थिए । प्रतियोगितामा विजयी हुने ध्रुवताराले २ लाख ११ हजार रुपैयाँ र उपविजेता प्रतिभाले १ लाख ११ हजारमा पुरस्कार प्राप्त गरेका छन् ।

खेलको १६ औं मिनेटमा गौरवले गोल गर्दै झापालाई अग्रता दिलाए । बादल तामाङले निकालेको पासलाई गौरवले गोलमा परिणत गरे । ३७ औं मिनेटमा झापाका प्रवीण राईले गोल थप्दै अग्रता दोब्बर बनाए । विक्रम राईको सटिक पासलाई प्रवीणले दर्शनीय गोलमा परिणत गरे । पहिलो हाफमा दुई गोलले पछि परेको सिराहाले दोस्रो हाफमा सुधारिएको खेल पस्कँदै ५० औं मिनेटमा बिनुको गोलबाट खेल २–१ मा ल्यायो । त्यसको ५ मिनेट नबित्दै झापाका गौरवले सिराहाका चार डिफेन्सलाई कटाउँदै दर्शनीय गोल गरेर टिमलाई ३–१ को स्थितिमा पुर्‍याए । उनकै गोल निर्णायक बन्यो । अन्तिम समयमा सिराहाका अब्दुलाको प्रहार झापाका गोलकिपर आयुष लिम्बूले पञ्च गरेर बाहिर फाल्दै संकट टारेका थिए । इन्ज्युरी समयको अन्त्यमा सिराहाका विधान लामाले गोल गर्दै अग्रता छोट्याएका थिए ।

म्यान अफ द फाइनल झापाका गौरव धिमाल भए । गोलरक्षकमा झापाका आयुष लिम्बू, मिडफिल्डरमा सिराहाका सुजन पुलामी, डिफेन्समा गोलबजारका मुकेश माझी, फरवार्डमा झापाका प्रवीण राई, प्रशिक्षकमा झापाका सन्दीप मगर उत्कृष्ट घोषित भए । सर्वोत्कृष्ट खेलाडी झापाका प्रवीण राई भए । समापनका अवसरमा फुटबलमा योगदान पुर्‍याउने कुमार महर्जन, मनोज खड्का र पप्पु सेनलाई सम्मान गरिएको थियो । उनीहरूलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला र ट्रस्टका अध्यक्ष किशोर शाहीले दोसल्ला ओढाएर सम्मान गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर