Aamsanchar

तमोर नदीको मोटरेबल पुल निर्माणमा ढिलाइ

Author Image
बिहिवार, फागुन ५, २०७३

(सन्तोष पुर्कुटी)

ताप्लेजुङ।

ताप्लेजुङका दुई निर्वाचन क्षेत्रलाई जोड्ने दोभानस्थित तमोर नदी माथिको मोटरेबल पुल यो वर्ष पनि बन्ने छाँट देखिएको छैन । नदीको सतह घटेका बेला गर्नुपर्ने कामको सुरुवात अझै भएको छैन ।

निर्माण सम्झौता भएको पाँच वर्षपछि वर्षात्को समयमा कामले गति लिँदै गर्दा निर्माणकै क्रममा गत वर्षको असार अन्तिममा आएको बाढीले पुल बगाएको थियो । अढाई वर्षभित्रै सक्ने गरी २०६६ मङ्सिर ८ गते निर्माणको जिम्मा सरकारले कनकाई मैना चुलीयाक्थुङ्हाङ कम्पनीलाई दिएको थियो । प्राविधिक समस्या देखाउँदै २०७३ असोज १५ गते सम्म म्याद थप गरिएको थियो ।

सम्झौताअनुसार समयमै पुल बनेको भए जिल्लावासीको सपना पहिल्यै पूरा हुन्थ्यो । तर वर्षात्को समयमा बल्लतल्ल काम थालिँदा बाढीले पुल नै बगाएपछि जिल्लावासीमा निरासा छाएको छ । फेरि काम थाली हाल्ने हल्ला त्यही बेला चलेको थियो तर थप गरिएको म्याद पनि गत असोज १५ मा नै सकिएर चार महिना बितिसक्दा समेत यहाँ देखिने काम सुरु नहुँदा अब पुल नै बन्दैन भन्नेको सङ्ख्या बढ्दै गएको छ । तर आगामी वैशाखभित्रै पुल बनिसक्ने ठेकेदार कम्पनीले दाबी गरिरहेको छ ।

विगतमा हुलास कम्पनीले समयमै निर्माण सामग्री उपलब्ध नगराएको बताउने कम्पनीले फागुनभित्रै निर्माणस्थलमा सामान झारिसक्ने र त्यसपछिको दुई अढाई महिनाको अवधिमा काम सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

कम्पनीका रामप्रसाद मैनालीले यो महिनाभित्रै सामान भित्र्याइ सक्ने र वैशाखदेखि जेठ लाग्दासम्ममा निर्माणको काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले काम धमाधम भइरहेको बताउनुभयो । मैनालीले अहिले सामान तयार गर्ने र ढुवानीका लागि आवश्यक काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार कतिपय सामान भारतबाट ल्याउनुपर्ने र यसका लागि पनि प्रक्रिया लामो हुने भएकाले थप गरिएको म्यादभित्रै काम नभएको हो ।

यसको रेखदेख गर्ने सरकारी निकाय मूलघाट दोभान ओलाङ्चुङगोला सडक आयोजना प्रमुख कुवेर नेपालीले राससलाई दिएको जानकारी अनुसार सामान खरिदको जिम्मा पाएको हुलास कम्पनीले करिब ८० प्रतिशत सामान तयार गरेको छ भने ती सामान तत्काल नै निर्माणस्थलमा ढुवानी गर्ने तयारी भइसकेको छ । उहाँले भन्नुभयो – “गत वर्षको बाढीले पुल बगाउँदा ताप्लेजुङ निकैपछि प¥यो तर यो वर्ष हामीले समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीसँग सक्दो ताकेता गरेका छौँ । वैशाखसम्ममा काम सक्ने गरी सबै पक्षबाट पहल भइरहेको छ ।”

फागुनभित्रै पुलका सामान ढुवानी गरी काम सुरु गर्ने गरी पछिल्लो पटक सहमति भए अनुसार नै अहिले आवश्यक काम भइरहेको बताइएको छ । यता पुल निर्माणका लागि अग्रसर क्षेत्र नम्बर २ का सांसद डम्बरध्वज तुम्बाहाम्फेले पनि अब चाँडै पुल निर्माण हुनेमा ढुक्क हुन जिल्लावासीलाई आग्रह गर्नुभएको छ । तर झन्डै सात वर्ष बित्न लाग्दा पनि निर्माण नभएको पुल दुई अढाई महिनामा बन्छ भन्नेमा यहाँका सर्वसाधारण भने विश्वस्त देखिएका छैनन् ।

दोभान घर भएका मानबहादुर मोक्तानले भन्नुभयो– “अब पुल बन्छ भन्ने कुनै आशा छैन । यदि बनिहाल्ने भए पनि गत वर्षकै हालत दोहोरिने देखिन्छ,” उहाँले थप्नुभयो – “समयमै काम सुरु गर्नु पथ्र्यो अझै काम भएको छैन । अब पनि वर्षात्को समयमा काम सुरु भयो भने हामी काम गर्न दिदैनौँ किनकि पुल बनाउने निहुँमा राज्यको सम्पत्ति फेरि खोलामा बगेको देख्न मन छैन ।” गर्मी सुरु भएसँगै हिउँ बिलाउन थाल्ने र खोलो क्रमिकरुपमा बढ्ने उहाँको तर्क छ ।

यस्तै नजिकै रहेको चाँगे गाविस निवासी उदय लिम्बूको भनाइ पनि उस्तै छ । लिम्बू भन्नुहुन्छ – “नदीमा गरिने काम बर्खा लागेपछि सम्भव देखिँदैन । गत वर्षकै क्षतिबाट सजग हुनुपर्ने हो, तर यो वर्ष पनि बर्खामै काम सुरु गरेर त्यही गति दोहोरिने देखिन्छ ।” यता ताप्लेजुङ नगरपालिका–१ का नवीन गुरागाईले भन्नुभयो – “गत वर्ष नाकाबन्दीलाई देखाएर निर्माण पक्ष पन्छिँदा पुल निर्माण नभएको हो । यो वर्ष पनि पुल बन्ने छाँट देखिएन ।” गत सालको बाढीले पुलको टेकालगायतका सामग्री बगाउँदा रु दुई करोड बढीको क्षति भएको अनुमान गरिएको थियो । ती सामान अझै पनि नदीभित्रै यत्रतत्र छरिएर रहेका छन् ।

जिल्लाका २३ गाविस जोड्ने पुल नबन्दा क्षेत्र नम्बर २ का बासिन्दा दोभान बजारबाट भारी ओसारेर खान बाध्य छन् । यो पुल बने ताप्लेजुङ क्षेत्र नम्बर २ का २३ गाविस सडक सञ्जालसँग जोडिने छन् र स्थानीय जनताको दोभानबाट भारी ओसारेर जीविकोपार्जन गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । यस्तै, ताप्लेजुङ सदरमुकामसँग जोडिएको दोभान, सङ्खुवासभाको गुफापोखरी, तेह्रथुमको वसन्तपुर हुँदै धरान धनकुटा सिधा यातायात सञ्चालन हुने थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)