Aamsanchar

नेपालमा ५४ हजार यौनकर्मी महिला : काठमाडौंमा मात्र ११ हजार

Author Image
बिहिवार, फागुन ५, २०७३

काठमाडौं :

नेपालमा यौनकर्मी महिलाको संख्या ६ बर्षमा दोब्बरले बढेको पाइएको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विभिन्न दातृ निकायको सहयोगमा हालै गरेको एक अध्ययनले नेपालमा यौनकर्मीको संख्या सन् २०१० को भन्दा दोब्बर भएको पाइएको हो।

सन् २०१० मा यौनकर्मीको संख्या २७ हजार एक सय ९७ जना रहेकोमा सन् २०१७ मा ५४ हजार एक सय ९७ जना रहेको पाइएको अध्ययनमा उल्लेख गरिएको छ। केन्द्रको अगुवाइमा सेभ द चिन्ड्रेन र ग्लोबल फन्डले संयुक्त रुपमा गरेको अध्ययनले काठमाडौंमा मात्रै ११ हजार ६ सय ७० जना महिला यौनकर्मी रहेको देखाएको छ।

२०७३ भदौदेखि मंसिरसम्म गरिएको अध्ययनले १ लाख ११ हजार ८ सय ५२ जना पुरुष यौनकर्मी र २४ हजार १ सय ८५ जना तेस्रोलिङ्गी यौनकर्मी रहेको देखाएको छ। ६ बर्षको अवधिमा यौनकर्मी महिलाको संख्या दोब्बर बढ्नु आश्चर्यको विषय भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. तरुण पौडेलले बताए।

केन्द्रले यौनकर्मीलाई एचआइभी एड्सको मुख्य समूहमा राखेर त्यसको न्युनीकरणका लागि रणनीति तयार गर्नका लागि तथ्याङ्क संकलन गरेको हो। केन्द्रका निर्देशक डा. पौडेलका अनुसार ६ वर्षमा यौनकर्मीको संख्या धेरै बढेको पाइएकाले यस विषयमा पुन अध्ययन गर्नुपर्ने बताए। ‘हामी यसलाई थप छलफल र अध्ययन गर्नेछौं’ पौडेलले भने ‘यो तथ्याङ्कमा केही कमी अवश्य नै छ।

यसलाई सुधार गर्नेछौं।’ यौनकर्मीहरुको संख्या बृद्धि हुदै जाँदा एचआइभी एड्स लाग्ने सम्भावना पनि त्यतिकै हुने पौडेलले बताए। यस्तै अध्ययनका अनुसार नेपालमा ३४ हजार ३ सय ७५ जनाले लागू पदार्थ सेवन गर्छन्।

काठमाडौं उपत्यकामा मात्र लागू पदार्थ सेवन गर्ने को संख्या ३ हजार २ सय ५९ जना रहेको अध्ययनले देखाएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले अध्ययनबाट आएको तथ्याङ्कको आधारमा नयाँ कार्यक्रम बनाउनुपर्ने बताए। उनले भने, ‘एचआइभी एड्स धेरै संवेदनशील विषय हो। त्यसैले यसलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने छौं।’थाहाखबरबाट

Views: 172

प्रतिक्रिया (०)