Aamsanchar

पैसामा केरमेट गर्ने बानी छ? परिएला तीन महिना जेल!

Author Image
बिहिवार, फागुन ५, २०७३

काठमाडौं :

पैसामा केर्ने बानी छ? केर्ने बानी सुध्रिएन भने अब कानुनी फन्दामा पर्न सक्नुहुन्छ। मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको फौजदारी कसूर सम्बन्धी विधेयकबारे छलफल गर्न गठन गरिएको उपसमितिले पैसामा केरमेट गर्न निषेध गर्ने कानुन सहितको प्रतिवेदन तयार गरेको छ।

उपसमितिले प्रस्ताव गरेको फौजदारी संहिताको दफा २६३ मा नोट वा सिक्का जलाउने गाल्ने वा च्यात्नेलाई सजायको प्रबन्ध गरिएको छ। दफा २६३ को उपदफा २ मा बैंक नोटमा लेख्न वा कोर्न नहुने व्यवस्था छ भने उपदफा ३ मा सजायको व्यवस्था गरेको छ।

‘तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना हुनेछ,’ सजाय सम्बन्धी प्रावधानमा उल्लेख छ। नेपाल राष्ट्र बैंकले सफा नोट नीति लागू गर्ने भन्दै नोटमा स्टिच नगर्न बैंकिङ संस्थालाई दिएको निर्देशन अझै कार्यान्वयन हुने सकेको छैन।

सर्वोच्च अदालतले २०७२ फागुन ३० गते नोट सफा राख्नका लागि अन्तरिम आदेश जारी गरेको थियो। अधिवक्ता अनन्तराज लुईंटेल, मनोजकुमार खड्का, प्रविन्द्रराज जोशी, रुद्रप्रसाद पाठक र पदम श्रेष्ठले नोट सफा राख्नका लागि लापरबाही रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटमा सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले सरकार र राष्ट्रबैंकका नाममा नेपाली नोटको सुरक्षामा ध्यान दिन आदेश दिएको थियो।

Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर
चरेससहित दुई जना पक्राउ
आइतवार, पौष ६, २०८२
सुनको मूल्य
आइतवार, पौष ६, २०८२