Aamsanchar

चितुवाको आक्रमणबाट वन कर्मचारीसहित चारजना घाइते

Author Image
बिहिवार, फागुन ५, २०७३

मोरङ ।

मोरङको राजघाटमा विहीबार बिहान चितुवाको आक्रमणबाट वन कार्यालयका दुईजना कर्मचारीसहित चारजना घाइते भएका छन् ।

घाइतेहुनेमा राजघाट–१ अठियाबारीका ६२ वर्षीय टंकलाल धिमाल र ५० वर्षीय खुसीलाल धिमाल तथा सेक्टर वन कार्यालय उर्लाबारी–मंगलबारेका कर्मचारी ३५ वर्षीय हेमसागर न्यौपाने र ४६ वर्षीय वीरबहादुर कटवाल रहेका छन् ।

राजघाट–१ अठियाबारीस्थित नगेन्द्र लिम्बूको सिसौघारीमा लुकेर बसेको चितुवाले एक्कासि आक्रमण गर्दा उनीहरु घाइते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

बिहान ८ बजे हलो जोतेर डोरी लिन जाँदा चितुवाले आफूलाई एक्कासि आक्रमण गरेको घाइते टंकलालले बताए ।

टंकलाललाई चितुवाले टोकेको खबर पाएपछि घटनास्थल पुगेका खुसीलाललाई पनि चितुवाले आक्रमण गरेको थियो । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

चितुवालाई नियन्त्रणमा लिन सेक्टर वन कार्यालय उर्लाबारी–मंगलबारेबाट घटनास्थलमा पुगेका कर्मचारीद्वय न्यौपाने र कटवाललाईसमेत चितुवाले आक्रमण गरेर समान्य घाइते बनाएको प्रहरीले जनाएको छ ।

अहिले चितुवालाई मानवबस्तीमा पस्न नदिनका लागि सुरक्षाकर्मीको टोलीले सुरक्षाघेरा बनाएका छन् भने विशेषज्ञसहितको वनरक्षक टोलीले उक्त चितुवालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरी निरीक्षक थापाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर