एजेन्सी – बोरुसिया डर्टमण्डलाई हराउँदै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा बायर्न डर्टमण्डलाई ४–२ ले हराएर शीर्षस्थानमा उक्लिएको हो ।
खेलको १३ औं मिनेटमा गोलरक्षक ग्रेगर कोबेलको आत्मघाती गोलबाट बायर्नले सुरुआती अग्रता लिएको थियो । १८ औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई दोब्बर अग्रता दिलाए । २३ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३–० को अग्रता दिलाए ।
५० औं मिनेटमा किङ्सले कोम्यानले गोल गर्दै बायर्नलाई ४–० को अग्रता दिलाए । ७२ औं मिनेटमा इम्री क्यानले पेनाल्टीमार्फत गोल गर्दै डर्टमण्डलाई ४–१ को स्थितिमा ल्याए । त्यसपछि ९० औं मिनेटमा डोनएल मालेनले गोल गर्दै डर्टमण्डलाई ४–२ को स्थितिमा ल्याएपनि टोलीको हार टार्न सकेन ।
जितसँगै शीर्षस्थानमा उक्लिएको बायर्नको २६ खेलबाट ५५ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा झरेको डर्टमण्डको ५३ अंक छ ।