Aamsanchar

सुनौला हजार दिनको लाखौं रकम गाविस सचिवले झ्वाम पारेपछि…

Author Image
शनिवार, फागुन ७, २०७३

महोत्तरी :

गर्भवती महिला तथा बालबालिकालाई लक्षित पोषण कार्यक्रमको लागि महोत्तरीको ग्रामीण क्षेत्रमा पठाइएको लाखौं रकम गाविस सचिवले झ्वाम पारेको रहस्य खुलेको छ ।

अति पिछडिएको बनौलीदनौली गाविसमा ‘सुनौलो हजार दिन’ कार्यक्रम अन्र्तगत जिल्ला विकास समिति महोत्तरीले गाविसको खातामा पठाएको ९ लाख रुपैयाँ तत्कालिन गाविस सचिव जिवछ मिश्रले हिनामिना गरेको खुलासा भएको हो ।

वल्र्ड बैंकको ऋण अनुदानमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सञ्चालन गरेको सुनौलो हजार दिन कार्यक्रम अन्र्तगत जिल्ला विकास समिति महोत्तरीले गाविस बनौलीदनौलीको खातामा पठाएको रकम गाविस सचिवले गायव गरेका हुन्।

गाविसमा सुनौलो हजार दिन आयोजना कार्यक्रमको लागि गठित आरआरएनआई समिति (उपभोक्ता समिति)का सदस्यले सामूहिक रुपमा आयोजनाको रकम हिनामिना भएको भन्दै मंगलवार जिल्ला प्रशासन कार्यालय महोत्तरीमा रकम असुल उपर गराउन पहल गराई दिन उजुरी गरेपछि रकम अनियमिता भएको पर्दाफास भएको हो।

समूहमा आवद्ध पित्रफुल झा, रौकता झा, सुकिल्ला देवीलगायतले गाविस सचिव विरुद्धमा उजुरी दिएका छन् । बनौलीदनौली गाविसमा सुनौलो हजार दिन कार्यक्रम संचालनको लागि गठित आर.आर.एन.आई. समूहको लागि गत आर्थिक वर्ष २०७२÷०७३ मा जिविसले तत्कालिन गाविस सचिव जिवछ मिश्रको पालमा ९ लाख रुपैंया पठाएको थियो ।

गाविस सचिव मिश्र गाविस सचिवबाट अवकास प्राप्त गरिसकेका छन् । वर्तमान गाविस सचिव रामएकवाल साहलाई समूहले सोध्दा गाविसको खातमा रकम नदेखिएको जनाएपछि स्थानीयले दुवै गाविस सचिवलाई झिकाई तथ्य सत्य बाहिर निकाल र दोषीलाई कारवाही गर्न प्रशासन समक्ष उजुरी हालेका हुन् ।

‘जिविसले हाम्रो समूहको लागि ९ लाख रुपैयाँ पठायो । जिविसले पठाएको रकम गाविसको खातामा पनि छैन । हाम्रो समूहको खातमा पनि गएन,’ समूहका पित्रफूल झाले भने, ‘गाविस सचिवले नै गाविसको खाताबाट रकम निकालेर खायो ।’

सुनौलो हजार दिन कार्यक्रमका महोत्तरी संयोजक अजयकुमार साहले बनौलीदनौली गाविसमा आर्थिक वर्ष २०७२÷०७३ मा दोस्रो किस्ता वापत पठाएको ९ लाख रकम गाविसका तत्कालिन सचिव जिवछ मिश्रले नै खर्च गरेको बताए । संयोजक साहका अनुसार, गाविस सचिव मिश्रलाई स्पटीकरण सोध्दा सुनौलो हजार दिनको लागि आएको रकम विकास निर्माणको कार्यमा खर्च गरेको भनेर लिखित रुपमा जानकारी गराएको छ । तर, कार्यक्रमको लागि आएको रकम विकास निर्माणको कार्यमा खर्च गरे पनि विकास निर्माणको लागि आएको रकम गाविस सचिवले कहाँ खर्च ग¥यो भन्ने कुरा स्पष्ट छैन ।

तत्कालिन गाविस सचिव मिश्रले अहिलेका गाविस सचिव रामएकवाल साहलाई बरबुझारथ गर्दा गाविसको खातामा ५ लाख रकम सहित बुझाएको बताएपनि वर्तमान सचिव रामएकवालले गाविसको खातामा सो रकम नरहेको जनाएको छ ।

गर्भवती अवस्थादेखि दुई वर्षसम्मको बालबालिका समेतलाई लक्षित गरी तीनका हेरालु समेतको सहभागितामा सुनौला हजार दिन आयोजना महोत्तरी जिल्लाको १९ वटा गाविसहरुमा संचालनमा छ । बच्चा गर्भमा रहेदेखि जन्मेको दुई वर्ष सम्मको अवधिलाई सुनौला हजार दिन मानेर कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
गर्भवती महिलाको स्वास्थ्य, पोषण, सरसफाई, खोप, सुरक्षित पानीको प्रयोग, धुवाँबाट बँच्ने उपाय, खुला दिसामुक्त, हात धुने लगायतका बारेमा कार्यक्रममा जानकारी दिइन्छन् । ‘गर्भवती, सुत्केरी र शिशुलाई दुई वर्षसम्म कसरी स्याहार सुसार र खानपान गराउने भन्ने विषयमा हामीले बृहत जानकारी पायौं । समुदायको रुची बनौलिदनौलिमा जाग्यो । तर, गाविस सचिवले कार्यक्रम रकम अनियमितता गरेपछि समुदायले सोंच जस्तो र कार्यक्रमको उद्देश्य अनुरुप कामै भएन,’ लक्षित समुहकी सदस्य सुकिल्ला देवीले भनिन् ।

तत्कालिन सचिव मिश्रमाथि कार्वाही प्रक्रिया अगाडि बढाई सकेको स्थानीय विकास अधिकारी कृष्ण प्रसाद चापागाईले बताए । उनले भने, ‘मिश्र अहिले अवकास प्राप्त गरिसकेको हुँदा उनको पेनसन लगायतका सुविधाहरु रोक्का गरेका छौं । नौ लाख कहाँ खर्च भयो भनेर हामी खोजिनिती गरिरहेका छौं । रकम जुनसुकै हालतमा असुल उपर गर्छाैं ।’

सुनौला हजार दिन कार्यक्रम प्रथम चरणमा औरही, रामगोपालपुर, हतिसर्वा, हरिहरपुरहरिणमरी, गोनरपुरा, भटौलिया, बथनाहा, पिगौला, लोहरपट्टी र तत्कालिन गाविस बर्दिबासमा संचालन रहेकोमा अहिले दोश्रो चरणमा खैरमारा, वलवा, खोपी, बसबिट्टी, मठिहानी, रतौली, भंगहा, धिरापुर, बनौलीदनौली र फुलहट्टा गाविस गरि ९ वटा थप गाविसमा कार्यक्रम सञ्चालन भईरहेको छ । कार्यक्रम संचालनको लागि यस चालु आव २०७३÷०७४ को लागि ७ करोड बजेट रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१