झापा । किर्ते गरी नक्कली जग्गा धनीपूर्जा बनाएर रकम ठगी गरेको आरोप लागेका दुईजना वृद्धहरू मध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं. ६ बस्ने वर्ष अन्दाजी ७३ का ज्ञानबहादुर गिरी रहेका छन् । सोही स्थानका अर्का आरोपित वर्ष ७५ का भूपध्वज दाहाल भने फरार रहेको प्रहरीले जनाएको छ ।
ऐलानी जग्गाको जग्गा धनी प्रमाण पत्र उपलब्ध गराउने भन्दै विभिन्न व्यक्तिबाट जनही १० हजार देखि ७० हजार रुपैयाँ सम्म रकम लिएर ठगी गरेको भनेर पीडितहरूले प्रहरीमा दिएको उजुरीको आधारमा प्रहरीले गिरीलाई पक्राउ गरेको हो । फरार रहेका दाहालको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
फोटो टाँसिएका रातो मसीले सहीछाप समेत गरी नक्कली जग्गा धनी दर्ता प्रमाण पुर्जा तयार पारी दिएकाले निजहरू उपर आवश्यक कारवाही गरी पाउ भनी जिल्ला प्रशासन कार्यालय झापामा ७ जनाको निवेदन परिसकेको छ । निवेदन प्राप्त भए पश्चात इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले वैशाख १२ गते आरोपित ज्ञानबहादुर गिरीलाई पक्राउ गरेर झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
अझै ५० देखि ६० जना पीडित रहेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।