Aamsanchar

जनमुक्ति सेना बसेको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण थालियो

Author Image
बिहिवार, फागुन १२, २०७३

चितवन :

सरकारले पूर्वी–चितवनको कालिका नगरपालिका–४ शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेपछि निर्माण प्रक्रिया अघि बढाएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले शक्तिखोरमा रहेको २ हजार बिघा क्षेत्रफल जमिनमा औद्योगिक क्षेत्र बनाउन प्रक्रिया सुरु गरेको हो।

चितवनको शक्तिखोरस्थित तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेना बसेको तेस्रो डिभिजनमा औद्योगिक क्षेत्र प्रस्ताव गरिएको हो। १८ फागुनदेखि कार्यालय स्थापना गरी काम गरिने भए पनि प्रक्रिया भने सुरु भइसकेको लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले जानकारी दिए। साथै उनले जग्गा दर्ता भएको एक महिनाभित्र शक्तिखोर औद्योगिक क्षेत्रको शिलान्यास गर्ने र शिलान्यासको १५ दिनभित्र डीपीआर तयार गर्ने जानकारीे दिए।

चार वर्षभित्रमा उद्योग नै सञ्चालन गर्ने लक्ष्य लिएर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड लागि परेको जनाइएको छ। सरकारले ३ फागुनमा शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो। स्थानीय उद्योगी व्यवसायीहरूले सरकारको यो निर्णयलाई स्वागत गरेका छन्।

क्षेत्र चितवनको मात्र नभई देशकै गौरव हुने भन्दै यसमा सहयोग गर्न बस्नेतले स्थानीयवासीलाई आग्रह गरे। सो क्षेत्रका सांसद शेषनाथ अधिकारीले स्थानीयवासीको समस्या समाधान गर्दै औद्योगिक क्षेत्र स्थापनाको कार्यलाई तीव्रता दिनुपर्ने बताए। यता, स्थानीय उदयपुर सामुदायिक वनले भने जैविक मार्ग रहेको सामुदायिक वनभित्र औद्योगिक क्षेत्र स्थापना गर्न नहुने भन्दै विरोध गरेको छ।

सामुदायिक वन अध्यक्ष केशव लामाले आफूहरूको छलफलविना सामुदायिक वन क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्न लागेको भन्दै आपत्ति जनाउँदै अन्य क्षेत्रमा लैजानुपर्ने धारणा व्यक्त गरे।

चितवनस्थित शक्तिखोरमा तत्कालीन नेकपा माओवादी जनमुक्ति सेनाको तेस्रो डिभिजन बसेको थियो । सेना समायोजन तथा शान्ति सम्झौतापछि उक्त क्षेत्र खाली रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर