

रातको समयमा चारपाने उत्तर सडक
चारपाने । चारपाने अर्जुनधारा विकास समाजले स्थानीय विकासलाई प्राथमिता दिँदै विभिन्न योजना सञ्चालन गरेको छ । विकासमा समुदायको अग्रसरता र सहभागिता बढाउने उद्देश्यले समाजले विभिन्न कार्यक्रम गरेको हो । समाजको अगुवाइमा चारपाने अर्जुनधारा क्षेत्रका विभिन्न सात स्थानमा उपभोक्ता समति गठन गरी सौर्य वत्ती जडान गरिएको छ ।
समाजको कार्यक्षेत्रलाई विभिन्न चारवटा व्लकमा विभाजन गरेर ढल व्यवस्थापनदेखि सडक चौडा पार्ने सम्मका काम गरिएको अध्यक्ष हरिप्रसाद भण्डारीले बताउनु भयो । संस्थाको पहिलो साधारणसभाको पूर्व सन्ध्यामा पत्रकार सम्मेलन गरी समाजले आफूले गरेका गतिविधि सार्वजनिक गरेको हो । सोमवार समाजको पहिलो साधारणसभा हुँदैछ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भण्डारीले सामाजिक हितका काममा संस्थालाई केन्द्रीत गर्दै अघि बढिरहेको बताउनु भयो । समाजले स्मार्ट चोकका साथै नाली बनाउन पाँच करोड रुपैयाँको योजना नगरपालिकामा पेश गरेको छ । समाजका सांस्कृतिक संयोजक माधव कल्पितका अनुसार चारवटै व्लकमा मर्दापर्दा प्रतिपरिवार सय रुपैयाँ सङ्कलन अभियान थालिएको छ ।
यस्ता छन् भावी योजनाः
समाजले स्थानीय क्षेत्रको सुरक्षाका लागि सामुदायिक प्रहरी विट स्थापना गर्ने लक्ष्य राखेको छ । महिला पुरुषका लागि चारपानेमा छुट्टाछुट्टै शौचालयको व्यवस्थापन लक्ष्य राखिएको अध्यक्ष भण्डारीले बताउनु भयो । चारपाने चोकको पहिचान झल्कने गरी स्तम्भ निर्माण गर्नुका साथै जेष्ठ नागरिक चौतारी निर्माणका लागि पनि पहल अघि बढाउने समाजको लक्ष्य छ ।
स्थानीय बासिन्दासँगको समन्वयमा चारपाने अर्जुनधारा क्षेत्रका सबै घरको अगाडिको भागमा एउटै रङ्ग लगाउने समाजको भावी लक्ष्य रहेको सांस्कृतिक संयोजक कल्पितले जानकारी दिनुभयो । उहाँका अनुसार रामचोक सामुदायिक वनलाई पार्कका रुपमा व्यवस्थित गरिँदै लगिनेछ ।
Views: 124

