धनकुटा : कोशी प्रदेशका १४ जिल्लामध्ये ३ जिल्लामा क्षयरोगका बिरामी धेरै रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा कोशीमा ३ हजार ५५८ जना क्षयरोगका बिरामीमध्ये मोरङ, सुनसरी र झापामा बढी रहेको निर्देशनालयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईंले बताए।
उनले मोरङमा १ हजार ३ जना, झापामा ९२३ जना, सुनसरीमा ८७५ जना र उदयपुरमा २४२ जना क्षयरोगका बिरामी रहेको बताए।
यसैगरी तथ्याङ्कमा ताप्लेजुङमा ४६ जना, सङ्खुवासभामा ५२ जना, सोलुखम्बुमा ४४, खोटाङमा ५५, भोजपुरमा ५३, धनकुटामा ६४, तेह्रथुममा २३, पाँचथरमा ४८ र इलाममा ९२ जना रहेको देखिन्छ।
सरकारले क्षयरोगका कारणले परिवारमा पर्ने अधिक व्ययभार शून्यमा झार्ने रणनीतिका साथ काम गरिरहेको फोकल पर्सन गुरागाईंले बताए।
उनले हाल जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामार्फत गाउँगाउँमा पुगेर क्षयरोगका बिरामी खोज्ने, नियमित औषधि सेवनका लागि आग्रह गर्ने काम गरिरहेको बताए।
उनले नेपालमा कूल जनसङ्ख्याको ४५ प्रतिशत व्यक्ति क्षयरोगबाट सङ्क्रमित रहेको अनुमान गरिएको बताए। राष्ट्रिय क्षयरोग कार्यक्रमका चुनौतीलाई सामना गर्दै र स्थानीय तहलाई जवाफदेही बनाई सन् २०५० भित्र नेपालमा क्षयरोग अन्त्य गर्ने सरकारको लक्ष्य रहेको उनले जानकारी दिए।
उनले सो अवधिमा क्षयरोगको अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि संयन्त्र विकास गर्ने, स्थानीय तहमा आवश्यकताअनुसार सरोकारवालाको सहभागिता हुने गरी समिति गठन र जिम्मेवारी तोक्ने, स्वास्थ्यकर्मी, स्वयम्सेवक, शैक्षिक संस्था, सामाजिक सङ्घ संस्था, सरकारी नीति तथा गैर सरकारी सङ्घसंस्था समेतलाई कार्यक्रमप्रति जिम्मेवार बनाउने बताए।