दाङ । ज्योतिपुञ्ज एजुकेसन ग्रुपले विद्यार्थीहरूलाई आज बिहीवार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूलाई मोटिभेसनल कार्यक्रम घोराहीमा सम्पन्न गरेको छ । विद्यार्थीहरूलाई अनुशासित, संस्कारित सँगै अध्ययन अध्यापनमा प्रेरित गर्ने उद्देश्यले मोटिभेसनल कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।
घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र वडा नं २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल अंग्रेजी स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई मोटिभेसनल कार्यक्रम गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय प्रा।लि का प्रबन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो । कार्यक्रममा योगगुरु, प्रशिक्षक एवं मोटिभेटर रविन्द्र बस्नेतले विद्यार्थीलाई प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले पालना गर्नुपर्ने अनुशासन, उनीहरूको व्यक्तित्व विकास, असल बानी व्यवहार, अभावकाप्रतिको जिम्बेवारी, संस्कार र संस्कृति, काम र पढाई बिचको समन्वय लगायतका विषयमा प्रशिक्षण गराइएको थियो । कार्यक्रममा एउटा विद्यार्थी बिहान उठेदेखि राती नसुत्दासम्म समय तालिका नै बनाएर अघि बढ्नुपर्ने विषयमा जानकारी गराइएको थियो ।
ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज थपलियाको सभापतित्व भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको आवश्यकतामाथि विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा ज्योतिपुञ्ज आवासीय मा। वि का सञ्चालकहरू ध्रुवराज पौडेल, माधव खनाल, शालिकराम खनाल, ज्योतिपुञ्ज मोडेल अंग्रेजी स्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनाल, प्रिन्सिपल शिव भण्डारी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका सहायक प्रधानाध्यापक पूर्णचन्द्र पाण्डेयले गर्नु भएको थियो ।