काठमाडौं,
विभिन्न देशका लागि सिफारिस १२ राजदूतको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाइ विशेष समितिले अष्ट्रेलियाको लागि सिफारिस लक्की शेर्पा, इजरायलको लागि निरन्जनकुमार थापा, ओमानको लागि शर्मिला पराजुली ढकाल, कतारको लागि रमेश प्रसाद कोइराला र गणतन्त्र कोरियाको लागि राजदूतमा सिफारिस अर्जुन जंग बहादुर सिंहको बारेमा कुनै गुनासो भए उजुरी गर्न आह्वान गरेको हो ।
यस्तै जापानको लागि सिफारिस प्रतिभा राणा, डेनमार्कको लागि युवनाथ लम्साल, बंगलादेशको लागि चोपलाल भुसाल, बहराइनको लागि पदम सुन्दास, म्यान्मारको लागि भीमकृष्ण उदास, श्रीलंकाको लागि विश्वम्बर प्याकुरेल र साउदी अरेवियाको लागि सिफारिस गरिएका राजदुत महेन्द्रप्रसाद सिंह राजपुत विरुद्ध उजुरी भए अबको १० दिनभित्र अर्थात आउँदो ३० गतेभित्र समितिको कार्यालयमा जानकारी दिन समय दिइएको छ । सूचना दिने व्यक्तिले आफ्नो परिचय स्पष्ट खुलाउनुपर्ने तर उसले नाम खुलाउन नचाहे गोप्य राखिने पनि समितिले जनाएको छ ।
चौतर्फी बिरोध हुँदाहुँदै पनि सरकारले म्यानपावर व्यवसायमा सम्बद्ध व्यक्तिहरुको नाम फिर्ता नगरी १२ राजदूतको नाम सिफारिस गरेको हो । कांग्रेसबाट सिफारिस आशा लामाको नाम मात्र फिर्ता भएको छ । म्यानपावर व्यवसायमा संलग्न शर्मिला पराजुली ढकाल र रमेश कोइरालाको नाम भने फिर्ता भएको छैन । संसदीय सुनुवाई समितिमा सांसदहरुले रोक्न खोजे उनीहरु राजदूतमा नियुक्त हुँदैनन् ।