काठमाडौं,
झापा बिद्रोहका ५ योद्धाले एकैपटक सहादत प्राप्त गरेको दिन आज फागुन २१ गते । विसं २०२९ फागुन २१ गते तत्कालिन निरङ्कुश पञ्चायती शासनको विद्रोह गर्ने क्रममा बन्दी बनाइएका पाँच जनाको हत्या गरिएको थियो ।
रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई चन्द्रगढी कारागारबाट इलाम सार्ने निहुँमा सुखानीको जङ्गलमा लगी हत्या गरिएको थियो । त्यो वर्ष कात्तिकमा प्रहरीद्वारा पक्राउ परेका उनीहरू झापा जेलमा राखिएका थिए ।
उनीहरूलाई पक्रिएपछि आन्दोलन मत्थर होला भन्ने सोचेको शासकको सोचाइ विपरीत कम्युनिस्टको प्रभाव झन् बढ्यो । झापाबाट इलाम जेल सार्ने बहानामा फागुन २१ गते राति सुखानीको जंगलमा पाँचै जनालाई गोली हानेर हत्या गरिएको थियो ।
झापाबाट इलाम जेल सार्ने बहानामा प्रहरीले गोली हानी हत्या गरेको यो घटना सुखानी काण्डको रुपमा चर्चित छ । हरेक वर्ष फागुन २१ गते ती योद्धाहरुको स्मरण गर्ने गरिन्छ । यही दिन पारेर नेकपा एमालेले शनिबारदेखि दुई हप्ते मेची–महाकाली राष्ट्रिय अभियान सुरु गर्दैछ ।