
फायल तस्वीर ।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग तथा ट्याक्सी-वे मा रहेको घाँस काट्नकै लागि एक करोडभन्दा बढी रकम खर्चिने भएको छ।बर्सेनि घाँस काट्ने तथा नाली सफाका लागि ठेक्का लगाउँदै आएको प्राधिकरणले आगामी वर्षका लागि यस्तो कामका लागि टेन्डर आव्हान गरेको छ।

विमानस्थल कार्यालयले उक्त कामका लागि १ करोड ३८ लाख ३ हजार १ सय ३७ रुपैयाँ लागत अनुमान गरेको छ। विमानस्थलको बीचमा रहेको घाँस व्यवस्थापन गर्नुपर्ने भएकाले ठेकेदारमार्फत काम गराउँदै आएको छ।
घाँस काट्नका लागि भनेर किनिएको मेसिन उपयोगविहीन बनाएर ठेकेदारमार्फत काम गराएको भन्दै महालेखाले प्रश्न उठाउँदै आएको छ।

एक करोड ४० लाख रुपियाँ खर्चिएर आव २०७५/७६ मा ग्रास कटर खरिद गरिएको थियो। कटर किनेदेखि नै प्रयोगविहीन अवस्थामा थन्क्याएको छ। डेढ करोडमा किनेको घाँस काट्ने मेसिन प्रयोगमै नल्याएको र दुई करोडमा किनेको विद्युतीय भर्याङलाई पनि किनेर ल्याएकै दिनदेखि प्रयोगविहीन अवस्थामा फ्याँकिरहेको पाइएको छ।
विमानस्थल कार्यालयले अध्ययन र आवश्यकताबिना नै अनावश्यक सामान खरिद गर्ने, प्रयोगमा नल्याउने र कमिसनका लागि मात्रै सामान खरिद गरेर थन्क्याउने गरेको भन्दै महालेखाले प्रश्न उठाएको थियो। साभार: बिजनेस न्युज


