Aamsanchar

त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयले बरामद गरेको साढे ४ किलो पहेँलो धातु पित्तल रहेको पुष्टि

Author Image
शनिवार, साउन ६, २०८०

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको पहेँलो धातु पित्तल रहेको पुष्टि भएको छ। भन्सार विभागले त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षण गर्दा बरामद गरिएको साढे ४ किलो पहेँलो धातु पित्तल रहेको पुष्टि भएको हो।

सुन भएको आशंकामा भन्सार कार्यालयका कर्मचारीले बैंककबाट काठमाडौं आइपुगेका थाई नागरिकबाट १० थान बिस्कुट आकारको पहेँलो धातु जफत गरेको थियो। उक्त पहेँलो धातु थाई नागरिकलाई नै हस्तान्तरण गरिएको भन्सार विभागका एक कर्मचारीले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले उक्त धातु जफत गर्दा थाई नागरिकले आफू लुम्बिनी घुम्न आएको र त्यहाँ चढाउनका निम्ति उक्त सामान ल्याएको आग्रह गरेका थिए।

‘उहाँ (थाई नागरिक)ले आफू लुम्बिनी घुम्न आएको र त्यहीँ चढाउनका लागि उक्त सामान ल्याएको बताउनुभएको थियो। तर हामीले सुन भएको आशंकामा प्रयोगशालामा परीक्षण गरेका हौं। पित्तल भएको पुष्टि भएपछि हामीले उक्त सामान फिर्ता गरेका छौं,’ विभागका एक कर्मचारीले भने।

Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर