Aamsanchar

१७ सडक निर्माणका लागि माओवादीको पहलमा तीन करोड

Author Image
आइतवार, फागुन २२, २०७३

बिर्तामोड । झापामा विकास निर्माणका लागि स्थानीयको पहलमा थप बजेट प्राप्त भएको छ । अर्थमन्त्रालय अन्तर्गत विकास निर्माणका लागि तीन करोड ६५ लाख रुपैयाँ प्राप्त भएको हो ।
नेकपा माओवादी केन्द्रका नेता सीपी कडरियाको पहलमा भौतिक र स्थानीय विकास निर्माणतर्फ गरी सो रकम प्राप्त भएको हो । भौतिकतर्फ तीन वटा ठूला विकासका योजना र स्थानीयतर्फ १४ वटा गरी १७ वटा योजनाका लागि सो रकम विनियोजन भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापाका विकास निर्माण विभाग प्रमुख कडरियाले बताए ।
कडरियाका अनुसार भौतिकतर्फ धाइजन–सहरेडाँगी–शनिअर्जुन–बुधबारे–महानन्द चोक सडक स्तरोन्नतिका लागि ४५ लाख रुपैयाँ विनियोजन भएको छ । त्यस्तै, बिर्तामोडको पश्चिम बस स्टेण्डबाट मेघाबाडी कालीमन्दिरसम्मको सडक स्तरोन्नतिका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ । यसैगरी शहीद चन्द्र मार्ग गरामनी–हल्दिबारी–जलथलका लागि ४० लाख रुपैयाँ रकम विनियोजन भएको हो ।
तीन वटा ठूला योजना सम्पन्न गर्नका लागि एक करोड ३५ लाख रुपैयाँ विनियोजन भएको हो । जुन रकम सांसद विकास कोषको रकमभन्दा थप हो । यसैगरी स्थानीयतर्फ १४ वटा योजनामा कडरियाको एकलौटी प्रयासमा झण्डै दुई करोड १० लाख भन्दा बढी रकम झापा भित्रिएको छ । स्थानीयतर्फ बुट्टाबारी–पगलीभट्टी सडक स्तरोन्नतिका लागि १५ लाख रुपैयाँ, शहीद चोक पश्चिम गंगालाल मार्ग भद्रपुर–१३ र १४ को सडक स्तरोन्नतिका लागि १५ लाख रुपैयाँ, महानन्द मार्ग शान्तिनगर–३, ४ र ७ हुँदै महानन्द डाँडा देवानछाप जोड्ने बाटो स्तरोन्नतिका लागि १५ लाख रुपैयाँ, राजगढ–६ जाल्पा बस्ती सडक कल्भर्ट निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन भएको छ ।
यसैगरी बुधबारे–भोटेटार–कोल्बुङ्ग सडकका लागि १५ लाख रुपैयाँ, गरामनीको सापडिग्री हुँदै चकचकी–७ जनताहोली– जनजागृति उच्च मावि हुँदै गोलधाप जोड्ने सडकका लागि १५ लाख रुपैयाँ, चम्मापुर–सुरुङ्गा सडकका लागि १५ लाख रुपैयाँ, धरमपुरचोक लक्ष्मीनारायण उच्च मावि हुँदै चर्चाबारी सडक स्तरोन्नतिका लागि १५ लाख रुपैयाँ विनियोजन भएको छ ।
यसैगरी चम्मापुर–सुरुङ्गा सडक मर्मतका लागि १५ लाख रुपैयाँ, हिमालयचोकदेखि हरि थापाको घरसम्मको सडक स्तरोन्नतिका लागि १५ लाख रुपैयाँ, मदनआश्रित मार्ग धाइजन–१, ७, ८ हुँदै मेचीनगर–४ बाट शान्तिनगर जाने बाटोको स्तरोन्नतिका लागि १५ लाख रुपैयाँ विनियोजन भएको छ । धरमपुरचोक–लक्ष्मीनारायण उच्च मावि हुँदै चर्चाबारी सडक स्तरोन्नतिका लागि १५ लाख रुपैयाँ विनियोजन भएको छ । जनआदर्श मावि साविक शिवगञ्जबाट सामाजिक प्रावि हुँदै चर्चाबारी–पाँचगाछी सडक स्तरोन्नतिका लागि १५ लाख रुपैयाँ विनियोजन भएको छ । कडरियाको प्रयासमा यसअघि विद्युत् विस्तारका लागि ९ वटा ट्रान्सफर्मर प्राप्त भएको थियो । जुन ट्रान्सफर्मर झापाको विभिन्न स्थानमा वितरण समेत गरिएको छ ।
त्यस्तै मेची अञ्चलको केन्द्रविन्दुको रुपमा रहेको बिर्तामोडस्थित कृषि थोक उपज बजारमा कृषिजन्य सामग्रीको परीक्षणका लागि अत्याधुनिक मेसिन भित्रिएको छ । हर्कलाल मार्गको सडक कालोपत्रेका लागि डीपीआर गरिएको र जसका लागि करोडौं रुपैयाँ विनियोजनको तयारी भइरहेको बताइएको छ । यसैगरी बिर्तामोड–५ बुट्टाबारीबाट शुक्रराज निमावि गरामनी जोड्ने सडकको कालोपत्रेका लागि डीपीआर सम्पन्न गरिएको जनाइएको छ । सिञ्चाईतर्फ अर्चना तीनमुखे सिञ्चाई योजना सञ्चालनका लागि रकम विनियोजन भएको छ । जसबाट गरामनी ३, ४ र ५मा सिञ्चाई हुने बताइएको छ ।
त्यस्तै बांगुरभिट्टा तीनमुखे पैनी, बिर्तामोड–५ र गरामनी–२सम्म सिञ्चाई हुने गरी सिञ्चाई आयोजना सञ्चालनका लागि सिञ्चाई पुनस्र्थापना कार्यक्रम अन्तर्गत समावेश भएको छ । यसैगरी सन्थाल भवन बिर्ताबजारका लागि २० लाख रुपैयाँ बजेट विनियोजनको तयारी भइरहेको बताइएको छ ।

Views: 97

प्रतिक्रिया (०)