काठमाडौं – सभामुख देवराज घिमिरेले नेपालको उन्नती जलविद्युतबाट नै सम्भव रहेको बताउनुभएको छ ।
बिहीबार ललितपुरमा आयोजित सामुहिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई वर्ष भित्र देशभरका सबै नागरिकको पहुँचमा विद्युत पुर्याउने लक्ष्यलाई साथ दिन महासंघले विद्युत उत्पादन गरी वितरण गर्नेकुरामा सहयोग गर्ने अपेक्षा गरेको बताउनुभयो ।
सभामुख घिमिरेले औद्योगिकरणमा विद्युत खपत गर्ने बाटो बनाउनका लागि संस्थाले महत्वपूर्ण कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले उर्जा ऐन १४ वर्षदेखि अड्किएको कुरा उठेको भन्दै अड्किएका कानूनहरु अघि बढाउने कुरामा आफू गम्भीर रहेको बताउनुभयो ।
सभामुख घिमिरेले थन्किएर बसेका कानून अघि बढाउने र कानूनहरु पास गर्ने र संशोधन गर्नुपर्ने काममा संसदको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।