Aamsanchar

कलिलो उमेरका किशोरीका व्यथा कसले बुझ्ने ?

Author Image
आइतवार, साउन १४, २०८०

पाँचथर फालेलुङ गाउँपालिका–४ की कोपिला लिम्बूको १४ वर्षकै उमेरमा प्रेम विवाह भयो । विवाह गरेको ७ महीना नपुगी सुत्केरी व्यथा लाग्यो । उनले चैत १७ गते छोरी जन्माइन् । महीना नपुगी जन्मेकी बच्चीको तौल ५०० ग्राम मात्रै थियो । जन्मेको १२ घण्टा नबित्दै अस्पतालमै शिशुको निधन भयो ।
अस्पतालका अनुसार सुत्केरी व्यथा लागेर अस्पताल आइपुग्दा कोपिला स्वयंको तौल जम्मा ४१ केजी थियो । बच्चा जन्मिएको दुई महीना बित्दासम्म कोपिलाको स्वास्थ्य अवस्था कमजोर नै छ ।
त्यस्तै प्रसूति व्यथा लागेर जिल्लाको याङवरक गाउँपालिका–४ बाट पाँचथर अस्पताल ल्याइएकी सरिता लिम्बूको नर्मल डेलिभरी हुन नसकेपछि अप्रेसन गरेर बच्चा निकालियो । १८ वर्षीया सरिताको अप्रेसनपछि जन्मेको शिशु उनको तेस्रो सन्तान हो । उनको पहिलो साढे तीन र दोस्रो सन्तान दुई वर्षका छन् । स्कुल पढ्दा पढ्दै प्रेममा परेर बिहे गरेकी उनले पन्ध्र वर्ष उमेर नटेक्दै पहिलो सन्तान जन्मिएको बताइन् । वर्षेनी जन्मेका दुवै बच्चा दुब्लो पातलो छन् । सदरमुकाम फिदिमकै एक निजी विद्यालयमा कक्षा १० मा अध्ययनरत एक छात्राले १४ वर्षको उमेरमै छोरी जन्माइन् । उनले जन्माएको बच्चाको तौल १६०० ग्राम मात्रै थियो ।

फिदिम नगरपालिका–८ की १६ वर्षीय शर्मिला राईले गत चैत १४ गते पाँचथर अस्पतालमै जन्माएको बच्चाको तौल पनि १७०० ग्राम मात्रै छ ।
माथि उल्लिखित अवस्था कलिलै उमेरमा बिहे गरेका किशोरीबाट कम तौलको बच्चा जन्मेका प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । सरदर मासिक १०० जनाले प्रसूति सेवा लिने पाँचथर अस्पतालका ३५ प्रतिशत सेवाग्राही २० वर्षभन्दा कम उमेरका किशोरी रहेको अस्पतालको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/८० को साउनदेखि चैत महिनासम्म पाँचथर अस्पतालमा ८३५ जना महिलाले प्रसूति सेवा लिएका छन्। तीमध्ये १४५ जना २० वर्षभन्दा कम उमेरका छन् । तीमध्ये १८ जनाको महीना नपुगी बच्चा जन्मेको तथ्यांकले देखाएको छ । यसरी महीना नपुगी जन्मेका १८ मध्ये ३ जना शिशु जन्मेको २४ घण्टाभन्दा बढी जीवित रहन सकेका छैनन् ।

२४ वर्ष पुगेपछि बिहे गरेकी पाँचथर फिदिम –१ की कविता नेपालीको अनुभव भने अलि फरक छ । आफू परिपक्व भएर विवाह गर्दा गर्भधारणसँगै गर्भावस्थामा अपनाउनुपर्ने सावधानीबारे राम्रो जानकारी पाएकाले आफ्ना सन्तान स्वस्थ जन्मेको उनी सुनाउँछिन् । उनका दुवै सन्तान स्वस्थ छन् ।
बालविशेषज्ञ डा। बरुण अग्रवाल भन्छन्, “३७ हप्ताभन्दा कम समयमा शिशु जन्मिनुलाई चिकित्सकीय भाषामा ’प्रि म्याचुअर्ड बर्थ’ भनिन्छ । यसरी महीना नपुगी जन्मिएका बच्चा नवाँच्ने सम्भावना धेरै हुन्छ । ३७ हप्ता नपुगी जन्मेकालाई अक्सिजन सहित स्वास्थ्यकर्मीको निगरानीमा लामो समय उपचार गर्नुपर्छ जुन अत्यन्तै झन्झटिलो र जटिल प्रक्रिया हो। ”

कलिलो उमेरका किशोरीका व्यथा कसले बुझ्ने ?

पाँचथर अस्पतालमा कार्यरत एमडीजीपी डा। बुद्धिबहादुर थापा भन्छन्, “अपरिपक्व उमेरमा गर्भवती हुँदा, एउटा बच्चा जन्मेको १८ महीना नपुग्दै पुनः गर्भवती हुँदा, पर्याप्त पौष्टिक आहाराको कमी र गर्भावस्थामा धूमपान र मद्यपान गर्ने महिलाले जन्माएका बच्चा महीना नपुगी जन्मने खतरा धेरै हुन्छ । “

कानून एकातिर सामाजिक व्यवहार अर्कैतिर 
नेपालको मुलुकी देवानी संहिता २०७४ ले २० वर्ष पूरा नभई विवाह गर्न बन्देज लगाएको छ । यद्यपि किशोर अवस्थामै बिहे गरेर बच्चा जन्माउनेहरूको संख्या भने घटेको छैन। कानूनले विवाह गर्ने उमेर तोके पनि उमेर नपुग्दै गर्भवती हुने किशोरीको संख्या जिल्लामा घटन सकेको छैन । सन् २०२२ मा गरिएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण ९एनडीएचएस० ले देशमा कम उमेरमा सन्तान जन्माउने किशोरीको संख्या ३ प्रतिशतले मात्रै घटेको देखाएको छ । उक्त सर्वेक्षणले नेपालमा १४ प्रतिशत किशोरी ९१५ देखि १८ वर्ष० २० वर्ष नपुग्दै गर्भवती हुने देखाएको छ । यसअघि सन् २०१६ को अध्ययनले नेपालमा १७ प्रतिशत किशोरी कम उमेरमै गर्भवती हुने गरेको देखाएको थियो । उक्त सर्वेक्षणले कोशी प्रदेशमा १५ प्रतिशत किशोरी २० वर्ष नपुग्दै गर्भवती भएको देखाएको छ ।

कलिलैमा बच्चा जन्माउँदा निम्तिने खतरा 
२० वर्ष नपुग्दै बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा असर गर्ने पाँचथर जिल्ला अस्पतालमा कार्यरत नर्सिङ निरीक्षक लक्ष्मी जोशी बताउँछिन् । कलिलो उमेरमै गर्भवती हुँदा आमामा विभिन्न किसिमका जटिलता आउँछन् । सुत्केरी भइसकेपछि पनि पाठेघर खस्ने, पिसाब चुहिरहने र बच्चा ख्याउटे हुने जस्ता दर्जनौं समस्या निम्तिने गरेका छन् । यसैगरी पाठेघर वयस्क नभई जन्मिएका बच्चालाई सास फेर्न गाह्रो हुने, तापक्रम सन्तुलन गर्न कठिनाइ हुनेदेखि रगतमा संक्रमण हुने जस्ता समस्या देखिन्छ ।
नेपालमा हरेक पाँच जना सुत्केरी मध्ये एक जना कम उमेरको हुने प्रसूति गृहको तथ्यांकले देखाएको छ । सुरक्षित गर्भपतन सेवालाई अझै पनि सामाजिक लाञ्छनाको रूपमा हेरिने भएकोले किशोरीहरूलाई गर्भपतन गराउन सामाजिक अवरोध रहेको छ जसले गर्दा सुरक्षित गर्भपतन सेवामा सबैको पहुँच हुन सकेको देखिदैन। गर्भपतन नहुने अवस्थामा किशोरीहरू मन नलागीनलागी बच्चा जन्माउने स्थितिमा पुग्छन्। त्यसले महिला र बच्चा दुवैको स्वास्थ्यमा असर पर्छ । २० वर्ष उमेर नपुगेका किशोरीको पाठेघरको विकास राम्रोसँग नहुने भएकाले विभिन्न किसिमका संक्रमण हुने डर, खतरा पनि उत्तिकै हुन्छ । त्यस्तै, उनीहरू सन्तान जन्माउन मानसिक रूपमा पनि तयार नहुने हुनाले उनीहरूमा मानसिक समस्या हुन सक्छ, जसको कारण पोस्टपार्टम डिप्रेसन निम्तिन सक्छ । त्यस्तै लाज, डरले गर्दा किशोरीले आइरन चक्की खाँदैनन् र रक्तअल्पता जस्ता समस्या निम्तिन्छ । सानो उमेरमा जन्मिएका बच्चा कम तौलका हुने, बच्चा जन्माउँदा दुखाइ सहन सक्ने क्षमता कम हुने हुनाले प्राकृतिक रूपमा सुत्केरी हुन नसक्ने, अप्रेसन गर्नुपर्ने स्थिति आउने, बढी आत्तिने जस्ता जोखिम पनि उत्तिकै हुने स्वास्थ्यकर्मी बताउँछन् ।

समस्या न्यूनीकरणका उपाय
सानो उमेरमा गर्भवती हुने समस्या कम गर्न सरकारले विद्यालय तहबाट नै यौन शिक्षा दिने, स्कुल नर्सको सहयोगमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने, किशोर–किशोरीमैत्री सूचना केन्द्रबाट जनचेतना फैलाउने काम भइरहे पनि त्यो ग्रामीण क्षेत्रसम्म पुगेको छैन ।
परिवार नियोजनको साधनको प्रयोग गरियो भने आमाको मृत्युदर ३० प्रतिशतले र बच्चाको मृत्युदर १० प्रतिशतले घटाउन सकिने पाँचथर जिल्ला परिवार नियोजन तथा प्रजनन स्वास्थ्य शाखाकी प्रमुख कविता अर्याल बताउँछिन् । “उमेर नपुग्दै गर्भवती भएकाहरूबाट जन्मिएको बच्चाको मृत्यु हुने दर दुई गुणा बढी हुन्छ । त्यस कारण यसको कार्यान्वयन गर्न कानून कार्यान्वयन गर्ने निकाय, अन्य सम्बन्धित निकायका पदाधिकारी तथा स्थानीय तहको उत्तिकै भूमिका हुन्छ“, अर्याल भन्छिन् ।
पछिल्लो समय दुर्गम क्षेत्रसम्म विस्तार भएको इन्टरनेटको पहुँच र सामाजिक सञ्जालको उपभोगले किशोर अवस्थामै विवाह गर्नेहरूको संख्या बढ्दो अवस्थामा छ । योसँगै प्रजनन स्वास्थ्य र परिवार नियोजनको साधन प्रयोगका विषयमा गलत भ्रम, अन्धविश्वास आदिले पनि कलिलो उमेरमा गर्भवती हुनेको संख्या नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली काठमाडौंका निर्देशक डा। पवनजंग रायमाझी बताउँछन् ।

छैन परिवार नियोजनका साधनको प्रयोग
पछिल्लो तथ्यांक अनुसार औपचारिक शिक्षा हासिल नगरेका ३३ प्रतिशत किशोरी उमेर नै नपुगी गर्भवती हुन्छन् । यो समस्या घटाउन किशोर– किशोरीलाई गर्भ कसरी बस्छ, के–के कुरामा ध्यान दिने, परिवार नियोजनका साधनहरू कसरी प्रयोग गर्ने लगायत कुरा सिकाउनुपर्ने विज्ञहरू बताउँछन् ।
यस सम्बन्धी जनचेतनाको पक्षमा काम भइरहेको भए पनि पर्याप्त नभएको पछिल्लो तथ्यांकले देखाएको छ । “कम उमेरमा बिहे गर्ने र उनीहरूमा परिवार नियोजनका अस्थायी साधन प्रयोगका लागि जानकारी नहुँदा पनि कलिलै उमेरमा आमा बन्नेहरूको संख्या नघटेको हो“, रायमाझीले बताए ।
२० वर्ष पूरा नभई विवाह गर्ने हुँदैन, यदि भइहाले पनि गर्भनिरोधक प्रयोग गरेर बच्चा २० वर्ष उमेर पुगेपछि मात्र जन्माउनुपर्छ साधन भन्ने चेतना फैलाउन सके यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धित समस्या न्यूनीकरण हुने स्वास्थ्यकर्मीहरू बताउँछन्।
सरकारले अहिले महिला स्वास्थ्य स्वयंसेवकको सहयोगमा कण्डम, पिल्स र ४८ घन्टे आकस्मिक गर्भनिरोधक चक्की निःशुल्क वितरण गरिरहेको छ। तर पनि परिवार नियोजनका आधुनिक विधिको प्रयोग गर्नेको संख्यामा सुधार आउन सकेको छैन ।

किशोरकिशोरीको लागि अनिवार्य रूपमा बृहत् यौनिकता शिक्षा प्रदान गर्नुपर्छ जसले उनीहरूलाई यौन र प्रजनन स्वास्थ्यका सम्बन्धमा सही निर्णय लिन मद्दत गर्दछ । स्थानीय सरकार र नागरिक समाजले हानिकारक सामाजिक मान्यता हटाई किशोरकिशोरी मैत्री वातावरण सिर्जना गर्न हातेमालो गर्नुपर्दछ । सरकार, नागरिक समाज, सञ्चारमाध्यम, स्वास्थ्यकर्मी, शैक्षिक संस्था, जनप्रतिनिधि र समुदायका सबै तहले किशोरकिशोरीको उचित शिक्षा, सूचना र सेवामा पहुँच विस्तार गर्न समन्वय र सहकार्य गर्नुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)