Aamsanchar

जसले सुपारी दिँदै मलामी खोज्नुपर्छ

Author Image
बुधवार, फागुन २५, २०७३

(सुरेन्द्र भण्डारी)

बिर्तामोड।

राष्ट्रिय जनगणना – २०६८ को तथ्याङ्क अनुसार नेपालमा एक सय २५ जातजातिको बसोबास रहेको छ । ती जातजातिमध्ये एक सय २३ जातजातिले आफ्नै मातृ भाषा बोल्ने गरेका छन् । फरक – फरक जातजातिको धर्म, संस्कृति, रहनसहन र रितिरिवाज पनि फरक–फरक नै रहेको पाइन्छ ।
नेपालमा बसोबास गर्ने जातजाति मध्ये मध्य तराई तथा दक्षिणी भेगमा बस्ने राजवंशी जातिको मृत्यु संस्कार भने अन्य जातिको भन्दा फरक छ । करिव दुईलाख ५० हजारको संख्यामा नेपालमा बसोबास गर्ने यो जातिको मृत्यु संस्कारमा आफ्ना परिवारका कुनै सदस्यको मृत्यु भएमा मलामीका लागि प्रत्येकको घर–घरमा पुगेर सुपारी दिँदै बोलाउने प्रचलन रहेको छ ।

मलामीका लागि भेला भइदिन उपस्थितिको निम्ता दिन जाने प्रचलनलाई यो जातिले ‘काठियारी’ भन्ने गरेको पाइन्छ । ‘काठियारी’ नदिई यो समुदायमा कोही पनि मलामी जाँदैनन् ।
राजवंशीले हिन्दू धर्म संस्कार मान्ने गरेता पनि यो समुदायले आफ्ना सदस्यको मृत्यु हुँदा अन्त्येष्टिपछि खोलामा गएर तीन दिनमा तीन सिनान (नुहाउने) गर्दछन् । जसका लागि पनि निम्तो नै दिनुपर्ने बताउँछन् – राजवंशी समाज विकास समिति झापाका पूर्व अध्यक्ष टोम राजवंशी । मृतकको आत्माको चिर शान्तिको कामना गर्दै ‘तीन सिनान’ लगत्तै ११ वा त्यसपछि दोस्रोपटक पुनः खोलामा गएर नुहाउने चलन छ ।

जसलाई यो जातिले ‘डाँगीहाट’ भन्ने गरेको छ । त्यसका लागि पनि आफन्त र छरछिमेक तथा बन्धू वान्धवलाई निम्तो नै दिनुपर्छ । यो जातिमा १२÷१३ दिनमा मृत्युको अन्तिम संस्कार गर्ने प्रचलन छ । जसलाई ‘जीउ उठानी’ भन्ने गरिन्छ ।

‘जीउ उठानी’का लागि पनि मृतकका परिवारले सवैलाई बोलाउने चलन छ । परापूर्वकालदेखि चलिआएको परम्परालाई अहिले पछिल्लो पुस्ताले परिमार्जन गर्दै आए पनि मृत्यु हुँदा भने मृतकका पारिवारका कोही न कोही सदस्यले मलामीका लागि भेला भइदिन सुपारी बोकेरै बोलाउन जानुपर्ने चलन नहटेको बताउँछन्– राजगढ निवासी शम्भू राजवंशी । उनी भन्छन्– ‘पहिला भन्दा केही मात्रामा संस्कार परिर्वतन भए पनि मलामी बोलाउने चलन भने उस्तै छ ।’
मृत्यु भएको तीन दिनमा गरिने ‘तीन सिनान’ कर्म र ११ दिन या त्यसपछि गरिने ‘डाँगीहाट’ तथा १२÷१३ दिनमा गरिने ‘जीउ उठानी’ कर्मका लागि उपस्थिति हुन अहिले कार्ड पठाउन थालिएको छ शम्भूले भने – ‘मलामी भेला भइदिन सुपारी लिएर जाँदा नमस्कार गर्दै आफ्ना घरमा फलानाको मृत्यु भयो, मलामी आइदिनु प¥यो भन्दै निम्तो दिन आएको भन्नुपर्छ ।’ यो समुदायमा ‘डाँगीहाट’ पछि मलामीलाई भोज खुवाउने प्रचलन छ । जसका लागि पनि अहिले कार्ड मार्फत निम्तो दिने गरिएको छ– उनले भने ।
कस्तो जाति हो रावजंशी
पश्चिम बंगाल (कुच बिहार) र आसामको सीमानामा बस्ने कोचहरूकै वंशज हुन् राजवंशी । शारीरिक बनोटले मंगोल आकृतिका भए पनि यिनको भाषा बंगाली र आसामीसँग मिल्दोजुल्दो छ । यिनीहरुको भाषालाई धेरै नामले चिनिन्छ । राजवंशी, रंगपुरी, कामतापुरी, ताजपुरी, गुवालपाडिया, पोलिया, सृजापुरी साथै कोच भाषाको नामले यिनीहरुको भाषालाई चिनिने गरिन्छ ।
झापा, मोरङ, सुनसरी राजवंशीहरुकै राज्य ‘कामतापुर’ रहेको जानकारहरु बताउँछन् । जुन कुरा इतिहासमा पनि उल्लेख भएको पाउन सकिन्छ ।
पाँच किसिमको विवाह गर्ने प्रचलन रहेको यो जातिको बसोबास झापा, मोरङ, सुनसरीमा अधिक रहेको पाइन्छ । झापामा खास गरेर जिल्लाको सदरमुकाम भद्रपुर, पथरिया, अनारमनी, गरामनी, काँकरभिट्टा, गौरीगञ्ज, घैलाडुव्वा, कोरोबारी, डाँगीबारी, वैगुनधुरा, चकचकी, राजगढ, घेराबारी, बालुबाडी, महेशपुर, हल्दिबारी, बनियानी, शरणामतीमा बढी केन्द्रित भएको पाइन्छ । यो जातिमा बिहेवारीमा केटीको आमाबाबुलाई केटा पक्षले दस्तुरको रूपमा पैसा दिने प्रचलन समेत रहेको छ । यो प्रचलन अन्य केही जातजातिमा मात्र पाइन्छ ।
यो समुदायमा दामेदुंमे (केटीका आमाबाबुलाई जानकारी गराउने तर विधिविधान नगर्ने) डंगुवा (पतिको मृत्यु पश्चात् विधवाले अर्का केटासँग विवाह गरी पूर्व पतिको घरमा नै बस्ने संस्कार ), समन्द (पतिको मृत्युपछि अर्कासँग विवाह गरी उसैको घरमा गई बस्ने गरी गरिएको विवाह), धजिया (अविवाहित केटा केटीबीच विवाह भई केटीको घरमा घरज्वाइँ बस्ने किसिमको विवाह) र मागी विवाह गरी ५ किसिमका विवाह संस्कार प्रचलनमा रहेको बताउँछन्– राजवंशी समुदायका इतिहासविद् खड्ग राजवंशी । उनका अनुसार विवाह आठ प्रकारका हुने गरेपनि तरवार विवाह, किया विवाह र तरवार– किया विवाह खासै प्रचलनमा छैन ।
राजवंशीका मुख्य पर्व
प्रकृति पुजक हुन् राजवंशी । यो जातिले ठाकुर ब्रह्मानीको पूजा गर्दछन् । यो जातिले धामी झाँक्रीमा पनि विश्वास गर्ने गरेको पाइन्छ । नवबर्षको उपलक्ष्यमा मनाइने सिरुवा पर्व तथा भगवान कृष्ण जन्मको उत्सवको रूपमा मनाइने दधिकादो पर्वमा यिनीहरू हिलो, पानी र रंग खेल्छन् । सिरुवा, दधिकादो पर्व, होली यो जातिका मुख्य पर्व हुन् । प्रकृतिका पुजारी भनेर चिनिने कोच राजवंशी अहिले आफ्नो संस्कृति संरक्षणमा जुटेका छन् ।
यो समुदायका युवापुस्ता आफ्नो विधि–संस्कारबाट टाढिन थालेको अनुभव भएपछि अगुवाहरु जन्मदेखि मृत्युसम्मका संस्कारलाई लिपिबद्ध पार्न जुर्मुराएका छन् । जसका लागि संस्कार–दस्तावेज निकाल्ने काम राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्रमार्फत भइरहेको छ ।
राजवंशीहरूको जन्मदेखि मृत्युसम्मका संस्कारमा गुरु, गोसाइँ, किर्तनिया दास र हजामहरूको भूमिका अनिवार्य हुन्छ । व्राम्हणको विषयमा अहिले मतभेद छ ।
के हो किर्तनिया ?
किर्तनिया दासले गाइन (किर्तन) गरेको व्यक्तिको सात दिनभित्र मृत्यु हुने विश्वास राजवंशी समुदायमा छ । मानिसलाई गाइन सुनाएपछि मृत्युको बाटो खुल्छ । मृत्युपछि मलामीमा सुद्घाट गाइन गरिन्छ भने मलामीलाई शुद्ध पार्न तेरातघाट गाइन गरिन्छ ।

यसैगरी, मृत्युको १२ औं दिनमा मतकमनि किर्तनिया (गाइन), १२औं दिनको बेलुका निसी किर्तनिया र राति गौचरन किर्तनिया गरिन्छ भने १३औं दिनको बिहानीपख भरकुवा गाइन र १३औं दिनमा शुद्धिशान्तिका लागि धेमाली दिवार बेला गाइन गरिन्छ । यसैगरी, शुद्ध शान्ति सकिएपछि धेमाली हवार बाद गाइन र भाकलहरूमा बिहार बेलार गाइन गरिन्छ ।
राजवंशीहरू वर्षमा एकपटक कूल पूजा गरेर गुरुबाट कानभाजा (मन्त्र) लिन्छन् । गुरुले कानमा मन्त्र सुनाइएपछि राजवंशीहरू पवित्र हुन्छन् । मन्त्र नपाएकाहरूको विवाह हुँदैन । गुरु वा गोसाइँले ठाकुर देवताको पूजा गरेर मृत्यु शोकमा रहेको परिवारलाई शुद्ध पार्छन् । गाईगोरु मर्दा पनि घर शुद्ध पार्ने संस्कार रहेको राजवंशीहरू वैशाखभर धुमधामसँग प्रकृतिको पूजा गर्छन् । पूजास्थलमा अलग–अलग दिन पूजा गरिन्छ । हरेक पूजास्थलमा मेला लगाइन्छ र राति दिएको बलिलाई प्रसादको रूपमा ग्रहण गरिन्छ ।
मृत्यु संस्कार विशिष्ठ छ– इतिहासविद् खड्ग
पारिवारको कुनै सदस्यको मृत्यु भएपछि परिवारजनले काजकिरिया गर्ने संस्कार प्रायः सबै मानव समुदायमा छ । हिन्दू समुदायमा पनि मृत्यु संस्कार गर्ने कार्य परापूर्वकालबाट नै हुँदै आएको छ । तर पहिलेको तुलनामा अहिले धेरै नै सरल र सहज हुँदै आएको छ । सामान्य अर्थमा मृत्यु संस्कार भनेको मृतकप्रति श्रद्धापूर्वक गरिने सम्झना एवम् मृतकको आध्यात्मिक यात्राका लागि परिवारका सदस्यबाट गरिने कामना तथा शुभेच्छा हो ।
हिन्दू संस्कारमा शवलाई प्रायः घाटमा पु¥याएपछि मृतकको छोरा वा परिवारका कुनै सदस्यले दागबत्ति दिँदै सद्गत गर्दछ । आफ्नो जातीय, धार्मिक परम्परा र आस्थाअनुसार मृत्यु संस्कार गरिने चलन ठाउँ र जातजाति अनुसार फरक छन् । हाम्रो समाजमा आफ्नै समुदाय र आफ्नै सांस्कृतिक प्रचलन अनुसार काजकिरिया गर्ने परम्परा छ । यो संस्कार कुनै समुदायमा खुकुलो छ भने कुनै समुदायमा अति कठोर देखिन्छ । केही समुदायले अचेल काजकिरियामा लचकता अपनाउन थालेका छन् ।
किरिया कर्मको अवधिमा १३ दिनसम्म जति कष्ट खेप्दै चोखोनितो र शुद्ध रहन सक्यो मृतक उति सजिलै स्वर्ग जाने बाटो सहज हुन्छ भन्ने प्रचलन रही आएको छ । केही समुदायमा किरियापुत्रीले दिनहुँ नुहाइ–धुवाइ गरी घाँस, परालमा राडी ओछ्याएर, राडी नै ओडेर सुत्नुपर्ने, शरीरमा सेतो लँगौटी र खाँडीको बर्को ओडी पुस–माघको जाडो भए पनि कटाउनुपर्ने, शौचालय प्रयोग गर्न नहुने, घिउ, अदुवा र कागती मात्र खाएर बस्नुपर्ने चलन छ । किरिया अवधिभर कसैलाई नछोई धागो बेरेर कोरो बनाइएको भुइँमा सुत्नुपर्ने प्रचलन पनि रहेको छ ।
तर, राजवंशी समुदायमा मलामीका लागि पनि घर–घरमा पुगेर बोलाउने प्रचलनले पीडित परिवारमा थप पीडा भएको भन्दै दक्षिणी झापाको डाँगीवारी, चकचकी लगायतका गाविसका राजवंशी समुदायका अगुवाले संस्कार परिर्वतन गर्नुपर्ने आवाज उठाउन थालेका छन् । राजवंशी समाज विकास समिति झापाका पूर्व अध्यक्ष टोम राजवंशी भन्छन्– हाम्रो समुदायमा विस्तारै यो संस्कार परिर्वतन हुँदैछ, हामीले डाँगीवारी चकचकी लगायतका ठाउमा त्यस्तो चलन नै हटाउन अभियान सञ्चालन गरेका छौं ।

उता इतिहासविद् खड्गले भने– मृत्यु संस्कार परिमार्जन आवश्यक रहे पनि यसको महत्व विशिष्ठ छ । नेपालमा रहेका जातजाति मध्ये आफ्नो समुदायको संस्कार विशिष्ठ रहेकाले यसको केही परिमार्जन गर्नुपरे पनि धर्म संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई संस्कार हस्तान्तरण गर्न आवश्यक छ– उनले भने ।

Views: 150

प्रतिक्रिया (०)