विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरीबी निवारण र विकासका काममा प्रदेश सरकारको नीतिगत निर्णयलाई सक्रियता साथ लाग्न कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
प्रदेश सरकारको विषयगत मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा गोष्ठीलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे मुख्यमन्त्री थापाले विविध कारणले अडकिएका कामलाई सचिव स्तर, मुख्यमन्त्री कार्यालय र प्रदेशसभाबाट बाधा अड्काउ फुकुवा गर्दै अघि वढ्नु पर्ने बताउनु भयो । प्रदेशस्तरबाट समाधान हुन नसक्ने समस्यालाई संघीय सरकार समक्ष सिफारिस गरेर बाधा अड्काउ फुकाउ गर्नुपर्नेमा मुख्यमन्त्री थापाले जोड दिनुभयो ।
मुख्यमन्त्रीको कार्यालयमा आयोजित उक्त समीक्षा कार्यक्रममा मुख्यमन्त्रीको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, खानेपानी तथा उर्जा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, पर्यटन बन तथा वातावरण मन्त्रालयका सचिवहरूले आ–आफ्नो बिषयगत मन्त्रालयको प्रगति विवरण, समस्या र समाधानका उपायहरूका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।
त्यसै गरी प्रदेश लोकसेवा आयोग र प्रदेशसभा सचिवालयका सचिवहरूले पनि आआफ्ना निकायका प्रगति विवरण प्रतिवेदनहरू प्रस्तुत गर्नु भएको थियो ।
मुख्यमन्त्रीको कार्यालय तथा मन्त्री परिषद् सचिवालयका प्रमुख सचिव डा। दीपक काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्थमन्त्री बाबुराम गौतम, खानेपानी मन्त्री प्रदिप सुनुवार, भौतिक पूर्वाधार मन्त्री कमल जगेबु र स्वास्थ्य मन्त्री निर्मला लिम्बुले आफ्नो मातहतका मन्त्रालय यसका विषयमा उठेका सबालहरू र समाधानका विषयमा काम गर्न सचिवहरूलाई निर्देशन दिनु भएको थियो ।