[राजकुमार पोखरेल]
बिर्तामोड ७
आमाको काख भर्न
बुवाको साख जोगाउन
कहाँबाट , कसरी हो
यो पृथ्वीमा आईपुगें
थाहै पाईन।
*
हातमा पुस्तक बोकेका
केटा केटीहरुको हुलमा
बुवाले छोडी फर्कनु भो
पढ्नलाई स्कुल पुगेछु
थाहै पाईन ।
*
कोही बाबु भनि बोलाउँथे
कोही भन्थे ए भाई
यसो गर्दा गर्दै
दाईको परिचय भईसकेछ
कद कहिले कहिले बढ्यो
थाहै पाईन ।
*
पत्नीको पती भएछु
छोरा छोरीको बुवा
समाजले नागरिक देखेछ
यसो गर्दा गर्दै उहिले
जिम्मेवारी बोकी सकिएछ
थाहै पाईन ।
*
सभा समारोहमा
दर्शक दिर्घामा बस्दथें
गाली गर्थें , ताली मार्थें
यसो गर्दा गर्दै
आशन, भाषण गर्नु पर्ने भो
पद कहिले कहिले बढेछ
थाहै पाईन ।
*
जन बढ्यो , बढेछ मान
धन बढ्यो , बढेछ मन
माथी हेर्ने बानी बसेछ
यसो हुँदा हुँदै
तल परिवर्तन भैसकेछ
थाहै पाईन ।
*
हात समाई डोर्याएकाहरुलाई
अाफैंले मौका दिएकाहरुलाई
आफुलाई सधैं मान्नेहरुलाई
यस्तो हुँदा हुँदैं तिनैलाई
आज आफैंले मान्ने दिन आईसकेछ
थाहै पाईन।
*
समय गती हो
कहिले रोकिदैंन
आफूले , हिजो अरुलाई उछिने झैं
अरुले अाफैंलाई उछिनेको
थाहै पाईन।
*
संसारले मलाई चिन्यो
मैले संसारलाई चिन्ने प्रयास गरें
मैले मलाई कहिले चिन्ने ?
पर्खेर बस्दैमा उमेर ढलेछ
थाहै पाईन।
*
सपार्न बन्धु बान्धवलाई खोजें
अनी खोजें , गाउँ समाजलाई पनि
दोषै दोष मात्र देखें अरुमा
आफुमा प्रशस्त बिकार रहेको
थाहै पाईन।
*
शिक्षाले सिकाउँछ
ज्ञानले सुधार्छ
विवेकले बनाउँछ
भन्दथे गुरुजनले
यो बुझ्दा बुझ्दै
समय सर्कि सकेछ
थाहै पाईन।