Aamsanchar

वर्षमा एक पटक मिर्गौला परीक्षण गर्न डाक्टरको सुझाव

Author Image
बिहिवार, फागुन २६, २०७३

काठमाडौं,

विश्व मिर्गौला दिवस ‘स्वस्थ मिर्गौलाको लागि स्वस्थ जीवनशैली’ भन्ने नारासहित बिहीबार जनचेतनामूलक कार्यक्रम गरी मनाईंदै छ ।

मिर्गौलाको महत्व बुझाउनको लागि हरेक वर्ष मार्च ९ मा यो दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा विभिन्न अस्पताल तथा संस्थाले निःशुल्क परीक्षण सहित विभिन्न कार्यक्रम गर्दैछन् ।

नेपालमा झण्डै ३० लाख मानिसमा कुनै न कुनै किसिमको मिर्गौला सम्बन्धी रोग लागेको अनुमान छ भने ३ हजार जनालाई हरेक वर्ष दुवै मिर्गौला फेल हुने गरेको पाइएको छ । मिर्गौला फेल हुने ९० प्रतिशत भन्दा धेरैको केही महिनामा नै ज्यान जाने गरेको पाइएको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक पुकारचन्द्र श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार मोटोपना भएका मानिसको मिर्गौला फेल हुने सम्भवाना २ देखि ७ गुणा बढी हुन्छ । सन् २०२५ सम्ममा मोटोपनले संसारभर १८  प्रतिशत पुरुष र २१ प्रतिशत महिलालाई असर गर्ने अनुमान गरिएको छ । मधुमेह, उच्च रक्तचाप, पत्थरी, वंशाणुगत लगायत कारणले मिर्गौलामा समस्या देखिन सक्छ ।

पिसाबको रङमा परिवर्तन वा पिसाब पोल्नु, आँखाको डिल सुन्निनु, खानामा रुची घट्दै जानु, दुब्लाउँदै जानु, दुवैतर्फका कोखा दुख्नु, खुट्टा सुन्निनु, थकाइ लाग्नु र सास फेर्न गार्हो हुनु मिर्गौला रोगको लक्षण हो  । वर्षमा एक पटकमात्रै भए पनि मिर्गौलाको परीक्षण गरे रोग लाग्नबाट बच्न सकिने डाक्टरले बताएका छन् ।

Views: 78

प्रतिक्रिया (०)