Aamsanchar

मानवद्वेषी धार्मिक अतिवादको पूर्वाभ्यास

Author Image
मङ्गलवार, भदौ १२, २०८०


नेपालको संविधान २०७२ ले नेपाललाई बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक राज्यको रूपमा परिभाषित गरेको छ । ऐतिहासिक र प्रागऐतिहासिक प्रमाणहरूले नेपाल धार्मिक सहिष्णुता भएको मुलुकको रूपमा गौरवान्वित भएको देखाउँछ । २०७२ सालमा जारी संविधान निर्माणदेखिका असन्तुष्टि, फरक मत र खास धर्मप्रतिको आग्रहका कारण धार्मिक अतिवादी सोच पटकपटक सल्बलाउन कोसिस भइरहेको सतहमा देखिने गरेको छ । पछिल्लो समय धरानमा धार्मिक विवाद चुलिएको छ । मन्दिर र चर्च आमनेसामने हुने भएपछि विवाद भएको हो । इसाई समाजले धार्मिक स्वतन्त्रता संविधानले दिएको मौलिक हक बताउँदै विजयपुर क्षेत्रमा चर्च बनाउन पाउनुपर्ने माग गरेका छन् भने मन्दिर पक्षधरहरू इसाई समाजको तर्कमा सहमत छैनन् । धार्मिक, ऐतिहासिक, पौराणिक महत्त्वको विजयपुर क्षेत्रबाट उक्त चर्च स्थानान्तरण गराउन र भविष्यमा पनि कुनै चर्चहरू निर्माण हुन नदिन मन्दिर पक्षधरहरूको माग छ ।

धरान ख्रिस्टियन समाज र विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले आआफ्नो पक्षको नेतृत्व गरिरहेका छन् । उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले विवाद मिलाउने कोसिस गरे । मन्दिर पक्षधर र इसाई समाजको बहस सुनेपछि साम्पाङले ठोस निकास भने दिएनन् । आफूले यो विवाद समाधान गर्न नसक्ने भन्दै अदालत जान सुझाएर उनी पन्छिए । छलफलपछि साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा समेत आफ्नो धारणा दिए । ‘देशको सर्वोच्च अदालतको प्रधानन्यायाधीश होइन म । धर्मको विषयमा न्यायालयले नै हो बोल्ने । कसको भगवान् ठूलो कि कसको ईश्वर ठूलो त्यो कुराको फैसला न्यायालयले गरिदेओस्’, उनले लेखेका छन् । सामाजिक तथा राजनीतिक अगुवाहरूले विवाद समाधानका लागि सद्भाव ¥याली निकाल्ने, वार्ताको माध्यमबाट समस्या समाधान गर्ने पहल शुरु गरेका छन् । नेपाल सरकारका तर्फबाट सुनसरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सबैसँग अपिल गरेको छ ।

यसै वीच राष्ट्रिय मानव अधिकार आयोगले धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ । साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अपिल गरेको छ । साथै आयोगले एक आपसमा देखिएका विमतिहरुलाई वार्ताको माध्यमबाट समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ । नेपालको संविधानको प्रस्तावनामा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बिचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रबर्द्धन गर्ने उल्लेख गरिएको र उल्लिखित संवैधानिक व्यवस्थाका साथै संयुक्त राष्ट्र संघको बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरुलाई समेत आत्मसात गर्दै सामाजिक सद्भाव कायम गर्नु, गराउनु सबैको कर्तव्य हुन आउने आयोगले सम्झाएको छ ।

धर्मगुरुहरूको कर्तव्य धार्मिक र साम्प्रदायिक सद्भावको बढोत्तरी गर्ने हो, तर धार्मिक विद्वेष र सामाजिक सद्भाव भड्काउने काम प्रत्यक्ष–परोक्ष रूपमा भइरहेको छ । पछिल्ला दिनमा धार्मिक कथावाचकका रूपमा उदाएका धर्मगुरुहरू अन्धविश्वास तथा धार्मिक विद्वेष फैलाउने र हिंसा भड्काउने खालका अभिव्यक्ति दिन थालेका छन् । धार्मिक सभामा अन्य धर्मका अनुयायीलाई अपमानजनक अभिव्यक्ति दिने गरिएका धेरै उदाहरण छन् ।  जुनसुकै धर्मका नाममा भए पनि अतिवादी सोचले न धर्म रक्षा हुन्छ, न धार्मिक सद्भाव वृद्धि हुन्छ, न समाजमा शान्ति र अमनचयन कायम हुन्छ । धार्मिक अतिवादले कसैको भलो गर्दैन । खास समुदायका विरुद्ध हतियार उठाउने, घरमाथि बुल्डोजर चलाउने अभिव्यक्तिले खास समुदायविरुद्ध उक्साउने प्रयास अवश्यमेय राम्रो होइन । आफूलाई कट्टर समर्थकका रूपमा प्रस्तुत गर्नेबाट नै धार्मिक सहिष्णुताविरुद्ध काम भइरहेका छन् ।

नेपालमा कुनै पनि देशको नागरिक सहजै आउन सक्ने, खुला सिमाना र कमजोर सुरक्षा व्यवस्थाका कारण बेला बेलामा देखिएको घुसपैठ हुने गरेको, नेपालका विभिन्न धार्मिक सङ्गठन प्रयोग गरिरहेको, आतङ्कवादलाई अन्तर्राष्ट्रिय सञ्जालमा मलजल पु¥याउने हुण्डी कारोबार, हतियार ओसारपसार, भारतीय जालीनोटको कारोबार, सुन तस्करी, लागूपदार्थ जस्तै अफिम, चरेस, स्म्याकको ओसारपसार एवं मानव तस्करी लगायतका अवैध कारोबार बढेको आजको अवस्था छ । धार्मिक अतिवाद बढावाका लागि अप्रत्याशित रूपमा बढिरहेका वैदेशिक लगानीमा सञ्चालित सामाजिक संस्थाहरू बढेको, फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालबाट नेपाली युवालाई दिग्भ्रमित गर्ने काम योजनाबद्ध रूपमा सञ्चालन भइरहेको बिझाउँदो अवस्था छ । नेपाललाई धर्मनिरपेक्ष राज्य रहेको संवैधानिक प्रावधान रहे पनि सबैभन्दा ठूलो चुनौती धर्म परिवर्तन गरेर युवाहरूलाई धार्मिक अतिवादमा फँसाउनु रहेको छ । 

धार्मिक कट्टरताले विभाजक र विखण्डनकारी अवस्था सृजना गर्छ । आफ्नोबाहेक अरू धर्मका मानिसलाई नगन्ने प्रवृत्ति नेपालजस्तो शान्त र सहिष्णु समाजलाई असर पार्ने मानवद्वेषी र गैरसंवैधानिक प्रवृत्ति हो । ‘सर्वधर्म समभाव’ अर्थात् सबै धर्मप्रति समान भावना राख्ने हाम्रो परम्परा हो । यही परम्पराका कारण हाम्रो मुलुकमा विभिन्न धर्मावलम्बीबीच सद्भावपूर्ण सम्बन्ध रहिआएको छ । धर्मका नाममा अन्य मुलुकमा हुने हिंसात्मक घटनालाई हामीले कहिल्यै आफ्ना निम्ति सान्दर्भिक देखेनौं । मुलुकमा हिन्दु धर्मावलम्बीको ठूलो उपस्थिति रहँदा पनि संविधान निर्माणका बखत धर्मनिरपेक्षको निर्णयप्रति आपत्ति नजनाउनुले हामीबीच सदियौंदेखि हुर्किँदै आएको धार्मिक सहिष्णुताको महान् परम्परालाई श्रेय जान्छ । तर, पछिल्ला वर्षहरूमा मुलुकको ‘धर्म निरपेक्ष’ नीतिलाई उपयोग गर्दै धर्म परिवर्तनलाई तीव्र बनाइएको महसुस भइरहेको छ । राज्यले कुनै एक धर्मविशेषलाई प्रोत्साहन नगरी समान व्यवहार गर्ने नीति लिएको स्थितिलाई उपयोग गर्न केही धर्मविशेषका व्यक्ति सक्रिय हुनु आफैँमा आपत्तिजनक स्थिति हो । कतिपय राजदूतावास र अन्तर्राष्ट्रिय संस्थाहरूले समेत धर्म परिवर्तनलाई आफ्नो कार्ययोजना बनाएको तथ्य पनि सार्वजनिक भइआएकै छ । बहुलवादी राजनीतिमात्र होइन, बहुसांस्कृतिक र बहुधार्मिक वातावरणतर्फ मुलुक अघि बढिरहेको भए पनि यसमा धार्मिक अतिवाद भित्र्याउने प्रयास विभिन्न कोणबाट भइरहेका छन् ।

धार्मिक अतिवादले सिर्जना गरेका हिंसा कति भयावह हुन्छ भन्ने बुझ्न हाम्रो छिमेकी भारतका विभिन्न घटना हेरे पुग्छ । पछिल्लो समय भारतको पूर्वी राज्य मणिपुरका अमानवीय क्रुर घटनालाई हेर्ने हो भने जोकोही मानिसको हृदय छियाछिया हुन्छ । मणिपुरेहरूले बाहिरी आवरणमा कुकी र मेटेईवीचको हिंसा देखे पनि अन्तर्यमा हिन्दु र इसाईवीचको द्वन्द्वको विद्रुप परिघटनाका रूपमा यो चित्रित भइसकेको छ । धार्मिक अतिवादलाई उपयोग गरेर राजनीतिको रोटी सेक्ने घृणित प्रयासका कारण १ सय ६० बढी निर्दोष जनताको हत्या भएको छ, लाखौंले आन्तरिक शरणार्थीका रूपमा झरीवर्षाको समयमा पालमुनि बस्नुपरेको छ । उनीहरूले न आफ्नो घर भन्न पाए, न गाईबस्तु भन्न पाए, न खेतीपाती भन्न पाए । अन्धश्रद्धामा राजनीतिको विष घोलेपछि हुने भनेको सभ्यताको विनाश हो, जनधनको क्षति हो ।
समाजमा सबै धर्म, संस्कृति, सम्प्रदाय र व्यक्तिको महत्ता छ । यिनीमध्ये कुनै उत्कृष्ट र कुनै निकृष्ट पनि होइनन् । यी सबै आफैँमा अनुपम र अद्वितीय छन् । यसकारण कसैलाई उपल्लो र कसैलाई तल्लो देखाउनु पनि आवश्यक छैन । हाम्रो मुलुकको मूल समस्या पछौटेपन हो, गरिबी हो, अशिक्षा हो । सबै धर्मका असल परम्परालाई संरक्षण गर्दै मुलुकको पिछडापनलाई हटाउन प्रयास गर्न आवश्यक छ ।

धार्मिक अतिवाद र अन्धविश्वास होइन, धार्मिक सद्भाव र सहिष्णुतालाई बढावा दिन आवश्यक छ । धार्मिक अतिवादले मानवको होइन, शासक वर्गको मात्र कल्याण गर्छ ।  धर्म जब राजनीतिमा मिसिन्छ, तब त्यसले कहिल्यै मानवको भलो गर्दैन, चाहे जुनसुकै धर्म होस् । नेपाल अहिले उग्रवादको राजनीतिबाट आक्रान्त छ । नेपालको हरेक समाज र व्यवस्थामा उग्रवादको वर्चस्व छ । शिक्षा, राजनीति, प्रशासन, जातजाति, धर्म, वर्ग र लिङ्गीय कुनै न कुनै रूपमा उग्रवादी सोचको वर्चश्व छ । उग्रवादको कुनै स्थायी स्वरूप नहुने हुनाले यसले आफ्नो रूप एकविरुद्ध अर्कोमा परिवर्तन गरिरहन्छ । सबैभन्दा घातक उग्रवाद धार्मिक उग्रवाद वा जातिवाद वा क्षेत्रीयतावाद हो । अतिवाद र विशेष गरी धार्मिक अतिवाद उदार लोकतन्त्र र देशको स्थायित्वको विरोधी हुन्छन् । सामाजिक सञ्जाल र प्रेसका नयाँ प्रविधिको विकाससँगै अतिवादको प्रचार पनि तीब्र भएको छ । नेपाल अहिले गणतन्त्रामक, सङ्घीय, लोकतान्त्रिक, धर्मनिरपेक्ष राज्यमा रूपान्तरित भएको छ ।

समावेशीको उदाहरण मानिन्छ नेपाल । तर, यी सबै परिवर्तनका बाबजुद नेपाल स्थायित्व हराएको, अस्थिर र आफ्नो निर्णय गर्ने अधिकार गुमाएको अवस्थामा छ । अस्थिर र उग्रवादी राजनीतिले समावेशिता, समानता र नागरिक स्वतन्त्रताको खोल ओढेर विभेद र असमानतालाई बढावा दिएको छ । देशमा साम्प्रदायिक विद्वेष र धार्मिक असहिष्णुता फैलाउने शक्ति पनि बढ्दै गएको आजको परिवेशमा देशको लोकतन्त्रको भविष्यमाथि पनि खतरा बढ्ने निश्चित छ । सबै धर्म, जाति र वर्णका मानिसका बीच तमाम असमानता छन्, तर पनि जनता दुध–चिनी जस्तै मिलेर रहेका छन् ।  धार्मिक, जातीय दङ्गा–फसाद गरेर आफ्नो अभिष्ट पुरा गर्ने गलत तत्त्वका कारण मुलुकमा अप्ठेरो अवस्था बन्दै गएको छ ।

धर्मको नाममा उन्माद र भयको माहौल बनाएर जनताको आँखामा धुलो फ्याँकेर अँध्यारोमा राख्ने उद्देश्यबाट धार्मिक अतिवादी क्रियाकलाप भइरहेकोमा कुनै शङ्का छैन । धर्म त मानिस–ईश्वर सम्बन्धको कुरा हो, जसलाई कुनै राज्य वा समुदायले लाद्ने विषय होइन । यो त स्वतन्त्र मानव आत्माले चिन्तनरमनन गरेर स्वेच्छाले अपनाउने कुरा हो । मठ, मन्दिर, मस्जिद, गिर्जाघर, गुरुद्वार जानु वा भगवान्, ईश्वर, परमेश्वर, अल्लाह, खुदा भनी पुकार्नु  वा गीता, गुरुग्रन्थ, कुरान, बाइबल, त्रिपिटक आदि पढ्नु स्वेच्छाको कुरा हो । देश विकासका लागि मानव अधिकार र स्वतन्त्रतालाई धार्मिक अतिवाद र दमनले फस्टाउन दिँदैन, किनभने धर्मको राजनीतीकरण भगवान् वा ईश्वरका लागि नभएर मानिसको दुष्टता  वा जनविरोधी अनुहार लुकाउन गरिन्छ ।  धार्मिक अतिवादका कारण असहिष्णुता र हिंसाको सम्भावना हुनु दुर्भाग्यपूर्ण छ । समुदायमा हिंसा, असहिष्णुता, घृणा फैलिने अभिव्यक्ति रोकेर नैतिकता, निष्ठा स्थापना गर्न प्रयत्न गर्नु सबैको कर्तव्य हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१