Aamsanchar

लसुनेमा पर्यटक लोभ्याउन लसुन स्तम्भ

Author Image
शुक्रवार, फागुन २७, २०७३

तेह्रथुम ।

तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित लसुने बजारका स्थानीयवासीले पर्यटकलाई आकर्षित गर्न पहिचान झल्कने लसुनको पोटी आकारको लसुन स्तम्भ निर्माण गरेका छन् ।

पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा मानिएको गुराँसको राजधानी तीनजुरे–मिल्के –जलजले क्षेत्रमा अवस्थित लसुने बजारको ऐतिहासिक पहिचानसमेत झल्काउने र पर्यटकलाई आकर्षण गर्न भन्दै स्थानीयवासीले रु नौ लाख रुपैयाँभन्दा बढीको लागतमा स्तम्भ निर्माण गरेका हुन् ।

स्थानीयवासीका अनुसार बाउबाजेले खोरिया फाँडेर लसुन खेती गर्ने गरेको र लसुनका लागि ख्याति प्राप्त ठाउँमा बस्ती विकास भएपछि बजारको नाम पनि लसुने बजार राखिएको थियो ।

सडकलगायत अन्य पूर्वाधारको विकास भएसँगै लसुने बजारको रुप फेरिँदो छ । पर्यटकको आवागमन पनि बर्षेनि बढिरहेको छ । बजार नजिकको पात्लेपोखरी र चिया बगानका कारण लसुने बजारमा पर्यटकीय आवागमन हुने गरेको स्थानीयवासी पुण्यप्रसाद तिम्सिनाले बताउनुभयो । यहाँ आउने आन्तरिक पर्यटकले लसुने बजारका बारेमा सोधपुछ गर्ने र अचम्मित हुने गरेकाले पनि उनीहरुलाई प्रस्ट पार्नसमेत लसुन स्तम्भ आवश्यक ठानेर निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

“लसुन स्तम्भ हाम्रो पहिचान हो”, तिम्सिनाले भन्नुभयो–“यहाँ आउने पर्यटकलाई पनि स्तम्भले थप मनोरञ्जन दिएर अल्मल्याउने छ भन्ने हाम्रो विश्वास छ ।”

स्तम्भ निर्माण भएपछि यहाँ आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएर गएको स्थानीयवासी पदमबहादुर नेपालीले बताउनुभयो । यो बजार भएर पर्यटकीय क्षेत्र तीनजुरे, मिल्के, जलजले, रातपोखरी, पात्लेपोखरी तथा आकर्षक चिया बगान जाने आउनेको सङ्ख्या बर्षेनि बढिरहेको छ ।

लसुने बजारको मुख्य चोकमै लसुनको पोटी आकारकै स्तम्भ निर्माण गरेर पर्यटकलाई आकर्षित गर्न प्रयास गरिएको निर्माण समितिका संयोजक धर्मराज खड्काले बताउनुभयो । स्तम्भ स्थानीयवासी, गाविस र अन्य दाताको सहयोगबाट गरी कुल रु नौलाख सातहजार एकसय ५५ लागतमा निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
सोमवार, पौष १४, २०८२