Aamsanchar

एक बालकसँगको शारीरिक सम्पर्कबाट १३ वर्षीया बालिकाले बच्चा जन्माइन्

Author Image
शुक्रवार, भदौ १५, २०८०

विराटनगर : मोरङमा १३ वर्षीया बालिकाले बच्चा जन्माएकी छन्। एक बालकसँगको शारीरिक सम्पर्कबाट ८ महिनाअघि गर्भवती बनेकी बालिकाले छोरालाई जन्म दिएकी हुन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले विराटनगरकै सुविधा सम्पन्न अस्पतालमा ‘नर्मल डेलिभरी’ (सामान्य प्रसूति)मार्फत बालिकाले शिशु जन्माएको जानकारी दिए। उनका अनुसार बालिकाले पेट दुखेको महसुस गरेपछि अभिभावकले चेकजाँचका लागि भदौ १२ गते मंगलबार अस्पताल भर्ना गरेको पाइएको छ।

परीक्षण गराउँदा गर्भ रहेको पत्ता लागेको थियो। बालिकाले बुधबार बिहान २.७ किलोग्रामको बच्चा जन्माएको दाहालले बताए। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गत पुसमा १६ वर्षीय बालकसँग बालिकाको शारीरिक सम्पर्क भएको खुलेको छ।

बालिकालाई गर्भवती बनाउने बालकलाई नियन्त्रणमा लिएर ‘बाल निगरानी कक्ष’मा राखी घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि बालकविरुद्ध बालबालिका सम्बन्धित ऐन २०७५ अनुसार बाजबिच्जाइँअन्तर्गतको जबरजस्ती करणी मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी डीएसपी दाहालले दिए।

१८ वर्ष मुनिका बालिकासँग सहमतिमै शारीरिक सम्पर्क भए पनि कानुनले त्यसलाई बलात्कार (जबरजस्ती करणी) मानेको छ। बलात्कारमा बालक नै संलग्न रहेको पाइएपछि प्रहरीले घटनालाई अनौठो एवं संवेदनशील मानेर अनुसन्धान अघि बढाएको हो।

पीडित र पीडक दुवैको पहिचान गोप्य राखेर प्रहरीले डीएनए परीक्षणको तयारी पनि गरेको छ। आमा तथा बच्चा दुवैको अवस्था सामान्य रहेको र अस्पतालले डिस्चार्ज दिइसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालिका र उनले जन्माएको शिशुलाई संरक्षण गृहमा राखिएको छ।

डीएसपी दाहालका अनुसार लामो समयदेखि बालिकाको महिनावारी रोकिएको र उनी गर्भवती भएको कुरा थाहा नभएको अभिभावकले बताएका छन्। ‘एक्कासि पेट दुखेको महसुस गरेपछि अस्पताल लगेको पाइयो,’ उनले भने, ‘परीक्षण गराउँदा मात्रै गर्भ रहेको कुरा खुलेको जानकारी अभिभावकले गराएका छन्।’

कोसी अस्पताल विराटनगरका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. अशोक मेहताले अहिलेको खानपान तथा वातावरणको असरका कारण बालिकाहरूमा सानै उमेरबाट महिनावारी सुरु हुने गरेको बताए। ‘खानपान र वातावरणको प्रभावका कारण हर्मोनहरू विकास भएर चाँडै महिनावारी सुरु हुन थालेको छ,’ उनले भने, ‘कतिपयमा ११ वर्षकै उमेरमा महिनावारी हुने गरेको पाइन्छ।’ महिनावारी सुरु भएपछि शारीरिक सम्पर्क गर्दा गर्भ बस्ने डा. मेहताको भनाइ छ।

उनका अनुसार १८ वर्ष पूरा नभइकन सन्तान जन्माउँदा महिलामा स्वास्थ्य सम्बन्धी अनेक समस्या देखा पर्छ। ‘१८ वर्ष पूरा नभइकन महिलाको शारीरिक तथा मानसिक अवस्था परिपक्व भइसकेको हुँदैन,’ डा. मेहताले भने, ‘त्यो बेलामा गर्भधारण गरेर बच्चा जन्माउनु एकदमै जोखिमपूर्ण हुन्छ।’ उमेर पुगिसकेपछि भने महिलाहरूले स्वस्थ्य बच्चा जन्माउन सक्ने र जोखिम पनि कम हुने उनको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर