Aamsanchar

सेप्सिस भनेको के हो ? कसरी बच्ने र बचाउने ?

Author Image
बुधवार, भदौ २७, २०८०

विश्व सेप्सिस दिवस हरेक वर्ष सेप्टेम्बर १३ मा मनाइन्छ र यस दिवस सेप्सिस विरुद्धको लडाइँमा विश्वभरका मानिसहरू एकजुट हुने अवसर हो। सेप्सिसले वार्षिक रूपमा विश्वभर कम्तीमा पनि एक करोड भन्दा धेरै जनाको मृत्यु हुने गरेको छ।

विश्व सेप्सिस दिवस सन् २०१२ मा ग्लोबल सेप्सिस गठबन्धन द्वारा सुरु गरिएको थियो। हरेक वर्ष सेप्टेम्बर १३ मा, विश्व भरि गरिने कार्यक्रमहरूले विश्वव्यापी रूपमा सेप्सिसको लागि चेतना जगाउँदछ।

सेप्सिस भनेको के हो ?
सेप्सिस एक गम्भीर अवस्था हो जुन तब हुन्छ जब शरीरको प्रतिरक्षा प्रणालीले सङ्क्रमणको लागि चरम प्रतिक्रिया गर्दछ। यस्तो बेला शरीरको आफ्नै प्रतिक्रियाले आफ्नै तन्तु र अङ्गहरूलाई क्षति पुर्‍याउँछ। सेप्सिसले कसैलाई पनि असर गर्न सक्छ, तर वृद्ध, गर्भवती वा अन्य स्वास्थ्य समस्या भएका मानिसहरू यसको उच्च जोखिममा हुन्छन्।

सेप्सिस एउटा डरलाग्दो अवस्था हो जुन सङ्क्रमण भएको जो कोहीलाई सेप्सिस हुन सक्छ।

सेप्सिसका मूलतः तीन रुप हुन्छन्रु
– सेप्सिस
– सेप्सिस र अंग प्रणाली कमजोर हुनुः जस्तै फोक्सो, कलेजो र मिर्गौला
– सेप्सिस र रक्तचाप अत्यन्त कम हुनुः नशाबाट दिइएको तरल पदार्थ (सलाइन) ले पनि नभई रक्तचाप बढाउन औषधि प्रयोग गर्नुपर्ने अवस्था, यसले गर्दा शरीरका महत्वपूर्ण अंगलाई चाहिने रगत, अक्सिजन र आवश्यक तत्वको कमी हुने अवस्था।

सेप्सिस कुनै रोग नभई रोगहरुको समूह (सिन्ड्रोम) हो। यसले प्रायजसो उमेर ढल्केका र रोग प्रतिरोधात्मक क्षमता कम भएका जस्तैः एचआइभी/एड्स, क्यान्सर, अंग प्रत्यारोपण भएका बिरामीहरु, सघन उपचार कक्ष (आइसियु) का बिरामीहरु, चोटपटक लागेका वा पोलेको घाउ भएका बिरामी र कृत्रिम श्वासप्रश्वास दिएर राखेका बिरामीलाई बढी हुने सम्भावना हुन्छ।

सेप्सिसको पहिचान र उपचार सक्दो चाँडो हुनु आवश्यक छ किनभने उपचारमा गरिने प्रत्येक घन्टाको ढिलाइले बिरामीको मृत्युदर बढाउँछ। र, चाँडै गरिने उपचारले त्यो मृत्युदरलाई घटाउन सकिन्छ।

सेप्सिसका लक्षण
तलका चारमध्ये कुनै दुई लक्षण देखिएमा सेप्सिस भएको हुनसक्छ
– शरीरको तापक्रम ३८ दशमलव ३ डिग्री सेन्टिग्रेट भन्दा बढी अथवा ३७ डिग्री सेन्टिग्रेट भन्दा कम भएमा,
–मुटुको चाल प्रतिमिनेट ९० भन्दा बढी भएमा,
– श्वासप्रश्वासको गति प्रतिमिनेट २० भन्दा बढी भएमा र
– प्रमाणित अथवा अनुमानित संक्रमण भएको अवस्थामा त्यस बाहेक यी लक्षण देखिएमा सेप्सिससहित अंग प्रणाली काम छोडेको थाहा हुन्छः
– पिसाबको मात्रा अति कम हुनु,
– होस कम हुनु,
– शरीरको रगत जमाउने कोषिका (प्लेटलेट) को मात्रामा कमी हुनु
– श्वासप्रश्वासमा गाह्रो हुनु,
– मुटुको चाल र काम गर्ने क्षमतामा कमी आउनु,
– पेट दुख्नु,
– जन्डिस देखिनु

माथि लेखिएका लक्षणसित यदि रत्तचाप अति कम भई बढाउनका निम्ति औषधि प्रयोग गर्नुपरेमा सेप्सिसको अन्तिम अवस्था अथवा विकराल अवस्था मानिन्छ। र, यसको मृत्युदर अति नै धेरै हुन्छ। अर्थात् ५० प्रतिशतभन्दा बढी।

सेप्सिसका कारण
धेरै किसिमका जिवाणु (ब्याक्टेरिया, भाइरस र फंगस) को कारणले हुन सक्छ। सामान्यतयाः ती जीवाणुले गराउने रोगहरुमाः
– न्युमोनिया (फोक्सोको संक्रमण)
– पेटको संक्रमण
– मिर्गौलाको संक्रमण
– रगतको संक्रमण

यदि सेप्सिस अथवा कुनै अंग प्रणालीले काम गर्न छाडेको शंका लाग्ने वित्तिकै तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ। आफैंले नजिकैको मेडिकलमा जँचाएर एन्टिबायोटिक भने खानु हुँदैन। अस्पताल वा डाक्टरको परार्मश लिएर मात्र औषधि सेवन गर्नुपर्छ।

सेप्सिस भएको शंका लागेमा चिकित्सकलाई देखाएर रगत, खकार, पिसाब, छातीको एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान वा आवश्यक भएमा एमआरआई समेत गर्नुपर्ने हुन्छ।

यी बाहेक रोगको किसिम र अंगको प्रणालीमा भएको असर हेरी विभिन्न जाँच गराउनुपर्ने हुनसक्छ।

सेप्सिस भएको खण्डमा एन्टिबायोटिक चलाउने, स्लाइन, अक्सिजन र परेको खण्डमा कृत्रिम श्वासप्रश्वास र मिर्गौला खराब भएको खण्डमा डायलाइसिस, रक्तचाप न्यून भएमा बढाउने औषधि र शरीरको कुनै भाग कुहिएमा वा पिप जमेको खण्डमा शल्यक्रिया समेत गर्नुपर्ने हुनसक्छ।

सेप्सिस बाट कसरी बच्ने र बचाउने ?
सम्भावित रूपमा सेप्सिस निम्त्याउन सक्ने सङ्क्रमणहरू रोक्न सबैले भूमिका खेल्न सक्छन्। यहाँ तपाईँलाई र तपाईँका प्रियजनहरूलाई मद्दत गर्न केही सुझावहरू छन् ।

नियमित रूपमा आफ्नो हात धुने वातावरणको पर्याप्त सरसफाइ बच्चाहरू, गर्भवती महिलाहरू र वृद्धहरू का खोपको समय र तालिका कायम राख्नु कुनै पनि यान्टिबायोटिकहरू प्रयोग गर्दा प्रदान गरिएका निर्देशनहरू पालना गर्नुहोस् र मात्रा र डोज पूरा गर्नु घाउहरू सफा गर्नुहोस् र हेरचाह गर्नु, सेप्सिस शरीरमा भाइरल, ब्याक्टेरिया र फंगल सङ्क्रमणको कारणले हुने गम्भीर स्वास्थ्य अवस्था हो, र जुनसुकै उमेरका मानिसहरूलाई असर गर्न सक्छ। यूटीआई, फोक्सोको सङ्क्रमण, छालाको सङ्क्रमण र जीआईटी सङ्क्रमण जस्ता विभिन्न प्रकारका सङ्क्रमणले सेप्सिस हुने भएकाले हरेक सङ्क्रमण र ओखतीको प्रयोगमा सजग रहन जरुरी हुन्छ ।

श्रोत: स्वाथ्य खबर र विभिन्न माध्ययम ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर