Aamsanchar

बहुविवाहको आरोपमा बेहुला बेहुली मण्डपबाटै पक्राउ

Author Image
मङ्गलवार, चैत १, २०७३

पर्वत ।

बाजा गाजा र भोज भतेरसहित तामझामका साथ विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन् । उत्तरी पर्वतको माझफाँट गाविस–६ पाखाथरका बेहुला डिलबहादुर परियार र विवाहका लागि सिङ्गारिएकी बेहुलीलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार इष्टमित्र र आफन्तजनको साथमा माझफाँट–६ स्थित बेहुलाको घरमा नै विवाह गर्ने तयारीसहित मण्डपमा बेहुला बेहुली बसिरहेका बेला डिलबहादुरकी जेठी पत्नी कुमारी परियारले जिल्ला प्रहरी कार्यालय पर्वतमा बहुविवाहको जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

विवाह सम्पन्न नहुँदै चौकीबाट पुगेको प्रहरी टोलीले दुलाहा दुलहीसहित केही इष्टमित्रलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्वतमा ल्याएको थियो ।

कुमारीले आफू हुँदाहुँदै श्रीमान्ले दोस्रो विवाह गर्न लागेको भन्दै रोक्न प्रहरीमा जाहेरी दिनुभएको थियो । सोही आधारमा प्रहरीले नियन्त्रणमा लिई दुवै पक्षका आफन्तसहित छलफल गराउँदा डिलबहादुर परियारले आफू वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया रहँदा श्रीमतीले अन्य व्यक्तिसँग अनैतिक सम्बन्ध गाँसेर हिँडेको र आफूले कमाएको पैसासमेत रित्ताएको आरोप लगाएका छन् । डिलबहादुरले श्रीमती कुमारीलाई छिमेकी व्यक्तिसँग दोस्रो विवाह गरेर गएको आरोप समेत लगाएका छन् ।

यता जेठी श्रीमती कुमारीले भने आफू श्रीमान्को अनुमति बिना कुनै पनि ठाउँमा नगएको र कसैसँग पनि अनैतिक सम्बन्ध नभएको दाबी गरेकी छिन् । डिलबहादुरले आफू विदेशमा रहँदा घरमा वृद्ध आमालाई छाडेर गएको र श्रीमतीले औषधि उपचारमा ख्याल नगरिदिँदा आमाको ज्यान गएको भन्दै कुनै हालतमा कुमारीलाई नस्वीकार्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज न्यौपानेले दुवै पक्षको रोहबरमा छलफल जारी रहेको जानकारी दिनुभएको छ ।

Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर