कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेका अगाडि धेरै समस्या नरहेको बताएका छन् । शनिबार प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संघ (पिपीएलए) को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले कोशीमा एमालेले हार्ने सिट सङ्ख्या थोरै मात्र रहेको दाबी गरे ।
‘कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरूक्क उठ्नुपर्थ्यो, त्यसरी उठेन, बरु एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागी भएको पाइयो,’ मुख्यमन्त्री कार्कीले भने । तत्कालीन प्रदेश नं १ को कोशी नामकरण ठीक भएको तथा यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उनले प्रस्ट पारे ।
कोशी नामकरणविरुद्ध जबर्जस्ती आन्दोलन उठाइएको बताउँदै उनले स्थानीयस्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीको सहयोगमा काठमाडौंदेखिका मानिस ल्याउन थालिएको दाबी गरे । मुख्यमन्त्री कार्कीले यहाँ पनि भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउन केही शक्तिले खोजिरहेको आरोपसमेत लगाए ।
उनले कोशी नामकरणको विषयमा पुराना सबै राजनीतिक दलहरूले आ–आफ्नो धारणा सार्वजनिक गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा प्रस्ट नआएकामा आश्चर्य व्यक्त गरे ।
सो अवसरमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कानुन व्यवसायी सहभागी थिए ।