Aamsanchar

ज्येष्ठ नागरिकलाई दिइँदै आएको निःशुल्क यातायात सेवा कटौती

Author Image
शनिवार, असोज १३, २०८०

खोटाङ –खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ज्येष्ठ नागरिकलाई दिइँदै आएको निःशुल्क यातायात सेवा कटौती गरिएको छ । गाउँपालिकाका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क यात्राका लागि आर्थिक वर्ष २०७४र०७५ देखि शुरु गरिएको ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा कटौती गरिएको हो ।

लक्षित वर्गको नाममा परिवारका अन्य व्यक्तिले पनि सुविधा लिएको पाइएका कारण ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा कटौती गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । प्रभावकारी मापदण्ड अभावमा कतिपय ज्येष्ठ नागरिकका आफन्तले टिकट देखाएर निःशुल्क यातायात सेवा लिएको खुलेको गाउँपालिकाले जनाएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका र खोटाङ यातायात प्रालिबीचमा भएको सम्झौता अनुशार निःशुल्क यातायात सेवा पाउने ज्येष्ठ नागरिकलाई परिचय–पत्र वितरण गर्ने र त्यही परिचय–पत्र देखाएर निःशुल्क यात्रा गर्ने व्यवस्था गरिएको थियो । तर, ज्येष्ठ नागरिकलाई वितरण गरिएको परिचय–पत्र देखाएर परिवारका अन्य सदस्यले दुरुपयोग गरेको पाइएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । तत्कालीन गाउँपालिका अध्यक्ष भुपेन्द्र राई र उपाध्यक्ष सपना राई नेतृत्वको स्थानीय सरकारले ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा शुरु गरेका थिए ।

यातायात प्रालि र गाउँपालिकाबीचमा गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात उल्लेख भएको टिकटको व्यवस्था गर्ने, निस्शुल्क यातायात सुविधा लिनका लागि ज्येष्ठ नागरिकले गाउँपालिकाले जारी गरेको ज्येष्ठ नागरिक निःशुल्क यातायात परिचय–पत्र बोकेको हुनुपर्ने, भुक्तानी लिन आउँदा यातायात व्यवसायीले उपयोग भएको त्यही टिकटको अर्धकट्टी लिएर आउने, गाउँपालिकाले भुक्तानी समिति गठन गरेर त्यही समितिमार्फत यातायात प्रालिलाई मासिकरुपमा भुक्तानी दिने, सम्झौता वार्षिकरुपमा नवीकरण गर्ने लगायतका सम्झौता भएको थियो ।

साकेलामा सम्झौता नवीकरण भएन

यस्तै, साकेला गाउँपालिकामा ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचय–पत्र पाएका अपाङ्गता भएका व्यक्तिलाई दिइँदै आएको निःशुल्क यातायात सेवाको सम्झौता नवीकरण नभएको पाइएको छ ।

साकेला गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष अर्जुन खड्का र उपाध्यक्ष सरिता खड्काको पालामा आर्थिक वर्ष २०७६र०७७ देखि ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचय–पत्र पाएका फरक क्षमता भएका व्यक्तिलाई सडक यात्रामा शतप्रतिशत छुट दिने व्यवस्था मिलाइएको थियो ।

चालु आर्थिक वर्षमा भने ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचय–पत्र पाएका फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क यातायात सेवाको सम्झौता नवीकरण नभएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो । प्रालिले सम्झौता नवीकरणका लागि २०७९ चैत २२ गते प्रतिनिधि सुन्दर तामाङलाई साकेला गाउँपालिका पठाएको थियो ।

साकेला गाउँपालिका र खोटाङ यातायात प्रालिबीच साकेला गाउँपालिका–रसुवाघाट–गाईघाट सडक तथा साकेला गाउँपालिका–दिक्तेल–काठमाण्डौ सडकमा यात्रा गर्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई भाडामा शतप्रतिशत छुट दिने सम्झौता भएको थियो ।

साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले भने ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचय–पत्र पाएका अपाङ्गता भएका व्यक्तिलाई दिइँदैआएको निःशुल्क यातायात सेवाले निरन्तरता पाइरहेको बताउनुभयो।

गाउँपालिका अध्यक्ष राईका अनुसार अहिले वडा–वडामा टोकन वितरण भइरहेको छ । साकेला गाउँपालिकामा पनि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि उपलब्ध गराइएको टोकन प्रयोग गरेर अन्य व्यक्तिले निःशुल्क यातायात सेवा लिएको पाइएको छ ।

साकेलामा यातायात प्रालिको बसबाट यात्रा गर्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले सम्बन्धित वडाको वडाध्यक्ष वा वडा सचिवले प्रमाणित गरेको र वडा कार्यालयको छाप हालिएको टोकन लिएर यात्रा गर्ने व्यवस्था मिलाइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर