Aamsanchar

थप आठ जिल्लामा ‘पेन प्याकेज’ कार्यक्रम लागू हुने

Author Image
बिहिवार, चैत ३, २०७३

काठमाडौं।

‘प्याकेज अफ इसेन्सियल नन कम्युनिकेवल डिजिज (पेन प्याकेज)’ कार्यक्रम थप आठ जिल्लामा लागू हुने भएको छ ।

यो कार्यक्रम लागू हुने जिल्लामा पाल्पा, बाग्लुङ, म्याग्दी, अछाम, बर्दिया, सुर्खेत, मकवानपुर र रौतहट छन् । यसअघि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहयोगमा नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न सरकारले कैलाली र इलाममा यो कार्यक्रम लागू गरिएको छ ।

पेन कार्यक्रम सञ्चालन गर्न लागिएको आठ जिल्लाका जनस्वास्थ्य अधिकृत र स्वास्थ्यकर्मीलाई लक्षित गरी आजदेखि यहाँ नसर्ने रोगबारे दुइदिने तालिम सुरु गरेको छ । तालिमपछि उनीहरुले जिल्लाका स्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीलाई यस सम्बन्धी तालिम दिनुपर्ने हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले पेन प्याकेजमा मुटु, मधुमेह, क्यान्सर र श्वासप्रश्वास लगायतका रोग नियन्त्रण गर्ने योजना भए पनि सरकारले कैलाली र इलाममा मुटु र मधुमेहलाई मात्रै लिएर नमुना कार्यक्रम सुरु गरेको थियो ।

तालिमको उद्घाटनगर्दै स्वास्थ्यमन्त्री गगन थापाले नसर्ने रोगको न्यूनीकरणका लागि जनचेतना जगाउन र यस्ता रोग लागेमा स्थानीयस्तरमै स्वास्थ्य संस्थामा परीक्षण गराई उपचार गराउनका लागि यो कार्यक्रम लागू गरिएको बताउनुभयो ।

स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले नसर्ने रोगको न्यूनीकरणका लागि सरकारले पहिलेदेखि नै लगानी गरिरहेको चर्चा गर्दै यो रोग लाग्नै नदिन रोकथाम र रोगको सुरुआतमै परीक्षण गर्ने विषयमा व्यवस्थित कार्यक्रम सुरु गरेको बताउनुभयो ।

प्राथमिक स्वास्थ्य पुनर्जागरण महाशाखा प्रमुख मोहम्मद दाउदले यो कार्यक्रम सुरु हुने जिल्लामा सबै रोगको परीक्षण र उपचार हुने बताउनुभयो ।  विश्व स्वास्थ्य सङ्गठनका नेपालस्थित नसर्ने रोग कार्यक्रमका स्रोत व्यक्ति पर्सन लुनिम प्रसाईं दीक्षितले भन्नुभयो, “नेपालमा सन् २०१० मा नसर्ने रोगबाट मृत्यु हुनेको सङ्ख्या ५१ प्रतिशत रहेकोमा सन् २०१४ मा आईपुग्दा बढेर यो ६० प्रतिशत पुगेको छ ।”

पेन प्याकेज कार्यक्रममा नसर्ने रोगको जोखिम न्यूनीकरणका उपाय, रोकथाम र उपचार लगायतका एकिकृत कार्यक्रम समावेश गरिएका छन् । “मुख्यतया स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाटै नसर्ने रोगको जोखिम पहिचान तथा उपचार गर्ने कार्यक्रमलाई यसले विशेष महत्व दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)