बिर्तामोड २ स्थित बेलडाँगीमा रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा झापा एफसीले बुट्टाबारी युनाइटेड एफसीलाई फराकिलो गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
खेल अवधिभर झापाले बुट्टाबारीलाई निक्कै दबाबमा राखेको थियो । उत्कृष्ट फिनिसिङ र लयमा रहेको झापाले बट्टाबारीलाई ५–० गोल अन्तरले हराएको हो ।
झापाका लागि आयुष श्रेष्ठले २९ औँ र ४८ औँ मिनेटमा गोल गरे भने सञ्जय धिमालले ३४ औँ, दिपेश श्रेष्ठले ३८ औँ र राजेश तामाङले ७१ औँ मिनेटमा गोल गरे । बुट्टाबारीका गोलकिपर रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि उनको ठाउँमा प्रशान्त सेन्च्युरीले गोलपोस्ट सम्हालेका थिए ।
आजको खेलको प्लेयर अफ द म्याच झापा एफसीका आयुष श्रेष्ठ भए । उनले नगद तीन हजार पाए ।
प्रतियोगितामा झापाका आठवटा क्लबहरूले सहभागिता रहेको छ । झापा ११ एफसी, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको अध्यक्ष किरण पौडेलले बताए ।
प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद ३ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।
२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने उद्देश्यले वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष प्रशिक्षकको व्यवस्था गरी १६ वर्षमुनिका १ सयभन्दा बढी बालबालिकाहरूलाई फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ ।
अन्डर १२ फुटबल प्रशिक्षण गर्ने, योग्य खेलाडी उत्पादन गर्ने, युवाहरूलाई फुटबलप्रति उत्प्रेरित गर्ने उद्देश्य रहेको छ ।