Aamsanchar

चारआली–केचना सडक बारे स्थानीयको गुनासैगुनासा

Author Image
शनिवार, चैत ५, २०७३

[पार्थ मण्डल]
भद्रपुर।

चारआली–केचना सडकखण्ड समयमा निर्माण नभएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । आक्रोशको निशानामा सडकसँग सम्बन्धित दुई जना इञ्जिनियर परेका छन् । उक्त सडक ठेक्का स्वीकृति भएको झण्डै चार महिना पश्चात स्थानीयबासीको दवावमा निर्माण कार्य शुचारु भएको छ ।
सडक निर्माणमा देखिएका समस्या र कार्य योजनाका बारेमा शुक्रवार झापा उद्योग संघ भद्रपुरले आयोजना गरेको छलफलमा हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय इटहरीका इञ्जिनियर उपेन्द्र दास र निर्माण कम्पनी कालिका, कनकाई र याक्थुमहाङ्ग जेभीका इञ्जिनियर प्रमिश वनेपालीमाथि स्थानीयले आक्रोश पोखे ।
झापाको सदरमुकाम हँुदै दक्षिणी गाउँपालिका जोड्ने बहुप्रतिक्षित सडकखण्ड निर्माण कार्य शुरु भए पनि योजना कार्यालय र सम्बन्धी निर्माण कम्पनीका कर्मचारीले निर्माण कार्य लापरबाही ढंगले गरिरहेको स्थानीयको आरोप छ । हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय इटहरीका प्रमुख शैलेन्द्र त्रिपाठी र निर्माण कम्पनीका ठेकेदार तेजकुमार कुरुङवाङ अनुपस्थित रहेपछि स्थानीयको आक्रोशको निशानामा इञ्जिनियरद्वय परेका थिए । इञ्जिनियर साहलाई प्रश्नको जवाफ फर्काउन हम्मेहम्मे परेको थियो । इञ्जिनियर साहले नगरबासीका गुनासा तथा समस्या कार्यालयका प्रमुख समक्ष पु¥याउँदै निर्माण कार्यमा सुधार गरिने बताए ।
निर्माण कम्पनीले स्काभेटर प्रयोग गरेर मापदण्ड विपरीत नाला खन्दै सडकको दुवैपट्टि माटो भरेको, कल्भर्ट निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको, निर्माण कार्य ढिलासुस्ती भएको, नाला खन्ने माटोले सडक धुलाम्मे बनाएको र खनिएको नालामा बर्खामा दुर्घटना हुन सक्ने लगायतका गुनासाहरु नगरबासीले राखेका थिए । इञ्जिनियरप्रति राखेको आक्रोशको कुनै औचित्य नभएको उद्योगी विश्वनाथ श्रेष्ठले आफ्नो तर्क राखे । उनले इञ्जिनियर भन्दा पनि सम्बन्धित पक्षका जिम्मेबार व्यक्तिलाई बोलाएर यस्तो कार्यक्रम आयोजना गर्नुपर्ने सुझाव राखेका थिए ।
झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकालको अध्यक्षतामा भएको छलफलमा नगरबासीबाट उठेको समस्यासहितको गुनासालाई झापाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी हँुदै सम्बन्धित सडक कार्यालय समक्ष पु¥याएर समाधान गरिने अध्यक्ष ढकालले बताए ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका इञ्जिनियर योगेन्द्र रञ्जितकार, व्यवसायी राजेन्द्र घिमिरे, पत्रकार महासंघका झापा अध्यक्ष तारामणि सापकोटा, नेपाली कांग्रेसका सभापति गणेश पोखरेल, माओबादी केन्द्रका एनपी लिम्बू लगायतले बालेका थिए । गत असोज १७ गते भद्रपुरस्थित झापाचोकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले एक भव्य समारोहकाबीच चारआली–केचना सडक खण्डको तेस्रोपटक शिलान्यास गरेपछि निर्माण कार्य शुरु भएको हो ।

चारआलीदेखि केचनासम्मको ४० किलोमिटर लामो कालोपत्रे निमार्ण कार्य अन्तर्गत ० देखि २० किलोमिटर (चारआलीदेखि सोमबारे) सम्मको सडक निर्माणको ठेक्का कालिका, कनकाई र याक्थुमहाङ जेभीले लिएको छ । भ्याटसहित ४१ करोड ६१ लख ८४ हजार १ सय ४२ रुपैयाँमा कूल बजेट रहेको यस सडकको निर्माण कार्य अवधि ३० महिना रहेको छ । सडकको सर्भिस लेन ३ किलोमिटर र ५.५ मिटर दुवैतर्फ हुनेछ भने ६० वटा पाइप कल्भर्ट, दुई वटा स्लाब कल्भर्ट, एउटा वक्स कल्भर्ट र एउटा कज्वे हुनेछ ।

Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर