Aamsanchar

पर्खाल भत्किएपछि बालबालिका जोखिममा

Author Image
शनिवार, चैत ५, २०७३

बिर्तामोड।

 

झापाको एक सामुदायिक विद्यालयमा निर्माण गरिएको पर्खाल निर्माण सम्पन्न भएको वर्षदिन बित्न नपाउँदै भत्किएको छ ।
साविक चकचकी गाविस हाल बाह्रदशी गाउँपालिकाको फूलवारीमा रहेको फूलवारी माध्यमिक विद्यालयको खेल मैदानको पर्खाल निर्माण सम्पन्न भएको ८ महिना बित्न नपाउँदै भत्किएको हो । गतवर्ष निर्माण गरिएको पर्खाल चार ठाउँमा भत्किएको छ । खेल मैदानको पूर्वी र दक्षिण भागमा पर्खाल निर्माण गरिएको थियो ।
पर्खाल निर्माण गर्दा गुणस्तरहीन सामग्री प्रयोग गरिएका कारण निर्माणाधीन पर्खाल लरक–लरक हल्लन्छ । पर्खाल हल्लिएपछि खेल्दै गरेका बालबालिका पर्खाल भत्किएर पुरिएलान् भन्ने चिन्ताले सताएको स्थानीय अभिभावकको भनाइ छ । कमसल सामग्री प्रयोग गरेर पर्खाल निर्माण गरेको आरोप उनीहरुले लगाएका छन् ।
खेलकुद मन्त्रालय अन्तर्गत जिल्ला खेलकुद विकास समितिबाट प्राप्त पाँच लाख रुपैयाँले सो विद्यालयमा खेलकुद मैदानमा पर्खाल निर्माण गरिएको थियो । तर, पर्खाल निर्माण समितिको लापरवाहीका कारण गुणस्तरहीन सामग्री प्रयोग गरिँदा पर्खाल भत्किएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बुद्धराज कार्कीले बताए ।
निर्माण गरिएको पर्खालको चारवटा व्लक पूरै भत्किएपछि विद्यालयले आकस्मिक बैठक बोलाएको छ । सम्भावित मानवीय क्षति हुने भन्दै विद्यालयले विहीवार आकस्मिक बैठक बोलाएर समस्याको निराकरणका लागि सम्बन्धित निकायलाई जानकारी गराउने निर्णय गरेको छ । वैठकले जिल्ला खेलकुद विकास समिति झापा, जिल्ला प्राविधिक कार्यालय, ठेकेदार, अनुगमन समिति र उपभोक्तासँग छलफल गर्ने निर्णय गरेको छ ।
यता स्थानीयवासी हरि उप्रेतीले गुणस्तरहीन सामग्री प्रयोग गर्दै निर्माण गरिएको पर्खाल भत्काएर नयाँ बनाउनु पर्ने माग गरेका छन् । उनले भने– ‘यो पर्खाल कतिवेला ढल्छ र बालबालिका पुरिन्छन् कुनै टुङ्गो छैन, यसमा विद्यालय पनि गैर जिम्मेवार छ ।’ विद्यालयका प्रधानाध्यापक स्वयम् निर्माण समितिको सदस्य सचिव हुनुहुन्छ गुणस्तरहीन सामग्री प्रयोग गरेर पर्खाल निर्माण गर्दा समेत प्रअले आवाज उठाउनुभएन– उप्रेतीले भने ।
यसैबीच पर्खाल निर्माण समिति अध्यक्ष तारा आचार्यले मापदण्ड अनुसार पर्खाल निर्माण गरिएको बताएका छन् । प्राविधिक त्रुटीका कारण पर्खाल लडेको उनको भनाइ छ । यता विद्यालयका प्रधानाध्यापक डुमेश्वर साहले पर्खाल निर्माणको विषयमा केही बताउन चाहेनन् । उनीसँग विद्यालयमा नै पुगेर पर्खाल निर्माणको विषयमा मैखिक सूचना माग्दा आफूले घरमै दराजको चावी छाडेको भन्दै केही सूचना दिन मानेनन् । प्रधानाध्यापक साह पर्खाल लड्नुमा को दोषी हो सो विषयमा छानविन हुन्छ तपाईलाई पछि खबर गरौंला भन्दै पन्छिए ।
उनले पर्खाल निर्माण, पर्खाल निर्माण गर्दा प्रयोग गरिएको सामग्री र ठेकेदारका विषयमा केही बोलेनन् । उनले पूर्वाञ्चलकर्मीलाई पटक–पटक समाचार लेख्दा गुणस्तरहीन सामग्री प्रयोग भयो भनेर नलेखिदिन आग्रह मात्र गरे । जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापाले आफूहरुले निर्माणाधीन संरचना ठीक छ भनेर प्राविधिकले सिफारिस गरेपछि रकम निकासा गर्ने गरेको बताए । पर्खाल भत्किएको विषयमा कुरा चलिरहेको र प्राविधिकसँग सल्लाह गरेर काम अघि बढाउँछौं– उनले भने ।

Views: 146

प्रतिक्रिया (०)