हिजो दिउसो २ः ३० बजे गोप्य सूचनाको आधारमा वर्ष ४७ का तिख बहादुर विश्वकर्माको घरबाट उक्त बङ्गारा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शनिश्चरे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उक्त बस्तु बरामद गरेको थियो ।
विश्वकर्माको घरकोठामा खानतलासी गर्दा किराना पसलमा लुकाई छिपाई राखेको हात्तीको बङ्गारा जस्तो देखिने ७ इन्च लम्बाइ, १२ इन्च गोलाई र १ किलो ७९० ग्राम तौल भएको बस्तु फेला परेको हो । सोधपुछ गर्दा विश्वकर्माले वर्ष ५० को सावा लिम्बुको घरबाट ल्याई राखेको भनेर प्रहरीलाई बताए पछि अनुसन्धानको लागि विश्वकर्मा र लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुवै जना उपर थप अनुसन्धान र आवश्यक कारवाहीको लागि आज जिल्ला वन कार्यालय झापामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।