Aamsanchar

मेचीनगरमा को बन्दैछ मेयर र उपमेयर ?

Author Image
सोमवार, चैत ७, २०७३

(सन्तोष आचार्य)

मेचीनगर।

आगामी बैशाख ३१का लागि घोषित स्थानीय तहको निर्वाचनमा को उम्मेदवार बन्ला ? भन्ने आम कौतुहलताकाबीच आकांक्षीहरु पनि बढ्दो क्रममा छन् ।
दलका कार्यकर्ता टिकट फुत्काउने दौडमा छन् । दलले आयोजना गर्ने कुनै पनि कार्यव्रmम नछुटाइ आफ्नो सक्रियता देखाउन र टिकटका लागि लविङ गर्न स्थानीय नेता कार्यकर्तालाई यतिबेला भ्याइ–नभ्याइ छ । १९ वर्षपछि हुन लागेको यो निर्वाचनमा आफ्नो स्थान सुरक्षित गर्न नसके राजनीतिक भविष्य नै अन्यौलमा पर्ने डरले पनि दलका कार्यकर्ताहरुको दौडधुप बढेको हो ।
स्थानीय निकायलाई स्थानीय तहका रुपमा पुनर्संरचना गरेपछि झापालाई ८ नगरपालिका र ७ वटा गाउँपालिकामा विभाजन गरिएको छ । स्थानीय तहको छिनोफानो भएसँगै नगरपालिकाको मेयर, उपमेयर र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको दौड शुरु भएको हो । चुनावी सरगर्मीले मेचीगनरलाई पनि छोएको छ । मेचीनगरमा सबै दलका गतिविधिहरु निर्वाचन लक्षित हुन थालेका छन् । वडाहरुको भेला, जनवर्गीय संगठनहरुको अधिवेशन जस्ता कार्यक्रमहरु तीब्र रुपमा भइरहेका छन् । नेता तथा कार्यकर्ताहरुलाई भ्याइनभ्याइ भएको छ ।
झापाका स्थानीय तह मध्ये मेचीनगर जनसंख्या र क्षेत्रफलका हिसाबले सबै भन्दा ठूलो नगरपालिका हो । मेचीनगरको मेयर र उपमेयरको दौडमा यहाँ भएका सबै दलले उम्मेदवारी दावी गर्ने देखिन्छ । मेयर तथा उपमेयर मध्ये एकमा महिलाको प्रतिनिधित्व हुने चर्चा भए पनि उपमेयरमा मात्र महिलाको नाम चर्चामा छ । दलगत रुपमा उम्मेदवारी दाबी गर्दै टिकट प्राप्तिको दौडमा निस्किएकाहरुको चर्चा यस्तो छ ।
नेपाली कांग्रेसबाटः २०५४मा मेचीनगरका उपविजेता बनेको नेपाली कांग्रेस यसपटक भने बिजेता बन्ने योजनाका साथ आफ्ना उम्मेदवारहरु तय गर्ने रणनीतिमा देखिन्छ । आधिकारिक रुपमा उम्मेदवारी घोषणा हुनु पूर्व मेचीगनरमा २०५४ कै मेयरका उम्मेद्वार राम कट्टेलको नाम यसपटक पनि चर्चामा छ ।

कट्टेल नेपाली कांग्रेस झापाका उपसभापति तथा मेची अञ्चल अस्पताल भद्रपुरका अध्यक्ष समेत हुन् । मेयरको टिकट प्राप्तिको दौडमा कोषाध्यक्ष केशवराज पाण्डेको नाम पनि चर्चामा छ । जिल्ला सदस्य बिमल आचार्य कार्यकर्ताहरुका बीचमा सबैभन्दा बढी चर्चामा रहेको नाम हो । क्षेत्रीय सभापति मणिकुमार उप्रेती, अशोक पोखरेल, प्रेम सम्बाहाम्फे, ताराबीर कट्वाल, भरत सुब्बालगातयको नाम पनि मेयरको दौडमा छ ।

त्यसैगरी उपमेयरमा डम्बरकुमारी थापा, रचना घिमिरे, दुर्गा खतिवडा, कविता शर्मा, मैया उप्रेती, राधा कार्की, बिना तामाङ, झुनादेवी बानिया, रुपा खतिवडा लगायतको नाम चर्चामा रहेको छ ।
नेकपा एमालेबाटः मेचीनगरलाई आप्mनो पकडको रुपमा चर्चा गर्ने गरेको नेकपा एमालेले यसपटक पनि विराशतलाई निरन्तरता दिने रणनीति बनाएको देखिन्छ । एमाले जिल्ला कमिटीले आफूखुशी उम्मेदवारी घोषणा नगर्न निर्देशन जारी गरे पनि कार्यकर्ताहरुका बीचमा केही नामहरु चर्चामा छन् ।

यसरी चर्चामा आएका नामहरु मध्ये गोपाल बुढाथोकीको नाम अग्रपंक्तिमा रहेको छ । बुढाथोकी एमालेका जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्रीय इञ्चार्ज हुन् । इमान्दार र स्पष्टवक्ताको छवि बनाएका बुढाथोकी कार्यकर्ताबीच लोकप्रिय छन् । यसपछि विष्णु प्रसाईंको नाम चर्चामा छ । प्रसार्इंले यस अघि जिल्ला विकास समिति झापाको उपसभापति, चिया विकास निगमको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।

संविधानसभा निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउन प्रसार्इंले निर्वाह गरेको भूमिकाका कारण उनको लोकप्रियता बढेको छ । हाल प्रसाईं प्रदेश कमिटी सदस्य हुन् । मेयरकै रुपमा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरे, श्रीप्रसाद मैनाली, देवकुमार राई, नगरअध्यक्ष राजु पोखरेल लगायतको नाम पनि चर्चामा रहेको छ । त्यसैगरी उपमेयरमा एमालेमा पनि महिलाहरुकै चर्चा छ । एमालेबाट मीना उप्रेती, सविता दाहाल, शारदा शर्मा, रेणुका डाँगी, सविता भेट्वाल, शुभद्रा अर्याल, लक्ष्मी काफ्ले, कल्पना ओली, कमला सुवेदी लगायतका नाम उपमेयरको दौडमा देखिएको छ ।
माओवादी केन्द्रबाटः संविधानसभा निर्वाचन २०६४ मा पहिलो दल भएको माओवादी हाल तेस्रो दलमा सीमित छ । संविधानसभा निर्वाचन २०७० को परिणाम समेतको समीक्षा गर्र्र्दै आफ्नो पुराना विराशत कायम गर्ने रणनीतिमा माओवादी केन्द्र पनि देखिन्छ ।

यही योजना अन्तर्गत मेचीनगरको मेयर–उपमेयरमा आफ्नो दावी सुरक्षित गर्ने उसले बताएको छ । माओवादी केन्द्रबाट जिल्ला कमिटी सदस्य तथा मेचीनगर इञ्चार्ज प्रकाश भण्डारी (संजोग), जिल्ला कमिटी सदस्य हंशलाल राजवंशी, जिल्ला कमिटी सदस्य तथा मेचीनगर संयोजक माधव अर्याल लगायतको नाम चर्चामा रहेको छ । त्यसै गरी लीला सुब्बा, आयुषा भण्डारी, लीलादेवी बिमली घिमिरेलगायतको नाम उपमेयरको दौडमा देखिन्छ ।
राप्रपा नेपालबाटः निर्वाचन आयोगले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको एजेण्डा हटाइदिए पछि चुनावी एजेण्डामा संकट झेलिरहेको राप्रपा नेपाल स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवार खडा गर्ने योजनाबाट भनेपछि हटेको छैन । पछिल्लो समय मेचीनगरमा आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको राप्रपा नेपालले यसपटकको निर्वाचनमा मेयरका रुपमा कल्याण खड्का, अशोक सुब्बा, सुशील आचार्य मध्येबाट प्रस्तुत गर्ने तयारी गरेको छ ।

खड्का यस अघि शाही शासनकालमा मेयर बनेका थिए । सुब्बा संविधानसभा निर्वाचनमा क्षेत्र नं. १बाट उम्मेदवार बनेका थिए भने आचार्य मेचीनगर कमिटीका अध्यक्ष हुन् । त्यसैगरी उपमेयरमा राप्रपा नेपालकातर्फबाट सुनीता शर्मा, अस्मिता खरेल, सविना बजगाँई लगायतका नाम चर्चामा आएका छन् ।
स्थानीय तहको निर्वाचनलाई संघीय समाजवादी फोरम नेपालले बहिष्कार गर्ने भन्दै आन्दोलनमा छ भने बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले निर्वाचनमा उम्मेदवार छनौटको प्रक्रियामा प्रवेश गरिनसकेको बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर