Aamsanchar

राजमार्गको कल्भर्टमा ३ सुते रड

Author Image
सोमवार, चैत ७, २०७३

बिर्तामोड।

हिजोआज सामान्यतः घर बनाउन ५ सुतेभन्दा बढीनै मोटाइको रड प्रयोग गरिन्छ । यो हिसाबले पुल तथा कल्भर्ट बनाउन कम्तीमा ८÷१० सुते रड प्रयोग हुने सहजै अनुमान लगाउन सकिन्छ । प्राविधिक दृष्टिले पनि त्यो उपयुक्त हुन्छ ।
तर, पूर्व–पश्चिम मुख्य राजमार्गमा भत्किएको कल्भर्ट तीन सुते रड प्रयोग गर्दै धमाधम निर्माण भइरहेको छ । मापदण्ड विपरीत सडक डिभिजन कार्यालयको प्रत्यक्ष निगरानीमा ठेकेदार कम्पनीले बिर्तामोडको मुक्तिचोकबाट एक किलोमिटर पूर्व नयाँ बसपार्क मोडिने ठाउँमा भत्किएको कल्भर्ट निर्माण गरिरहेको छ ।

केही चार सुते रड प्रयोग गरिए पनि पिलरका लागि उठाइएका सबै रड तीन सुते छन् । तीन सुते रडले राजमार्गमा गुड्ने सवारीको भार थेग्न नसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । गत असोजमा आएको अविरल बर्षाका कारण कल्भर्ट भत्किएर सडक नै अवरद्ध भएको थियो । तत्काल डाइभर्सन गरी यातायात सुचारु गराइए पनि अझै उक्त कल्भर्ट निर्माणको काम पूरा भएको छैन ।
सडक डिभिजन कार्यालय दमकले उक्त कल्भर्टका लागि पुस १७ गते बिर्तामोडमा रहेको एभरग्रीन कन्स्ट्रक्सनसँग सम्झौता ग¥यो । सोही सम्झौता अनुरुप अहिले कल्भर्ट निर्माणको काम भइरहेको छ तर ठेकेदार कम्पनीले राजमार्गको कल्भर्ट निर्माण गर्दा समेत तीन सुते रड प्रयोग गरेको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् । सात मिटर लम्बाइ र १२ मिटर चौडाइ भएको कज्वे निर्माण गरिँदैछ ।

कल्भर्ट निर्माणका लागि उठाइएका तीन वटा पिलरमा सबै तीन सुते रड प्रयोग गरिएको त्यहाँ कार्यरत मजदुरले बताएका छन् । ठेकेदार कम्पनीका भरत भट्टराईले ३५ प्रतिशत काम सम्पन्न भइसकेको र एक महिनाभित्र स्ल्यापिङको काम गरिने पूर्वाञ्चललाई बताए । उनले भने– केही त्रुटी छ, एक साताभित्र हाम्रो काम देख्नुहुन्छ, अहिले हामी पुल निर्माणकै चरणमा छौं ।

असार मसान्तसम्ममा उक्त कल्भर्ट निर्माणको काम सम्पन्न गर्नुपर्ने सडक डिभिजन कार्यालय दमकसँग सम्झौता गरिएको छ । ६४ लाख ५० हजार रुपैयाँको लागतमा कल्भर्ट निर्माण गर्ने सम्झौता भएको कन्स्ट्रक्सनका सञ्चालक भट्टराईले बताए । डिजाइनमा केही त्रुटी भएकै हो, यो त्रुटी मेरो कम्पनीले गरेको होइन, सडक डिभिजन कार्यालयका इञ्जिनियरले गरेको डिजाइन अनुसार हामीले काम अघि बढाएका छौं– उनले भने ।

यता सडक डिभिजन कार्यालय दमकका प्रमुख राजेश यादवले पुल निर्माणमा त्रुटी भएको स्वीकार्दै त्यसलाई तत्काल सच्याउने बताएका छन् । डिजाइनमा त्रुटी भयो, अब रड थपेर भए पनि जतिसक्दो काम चाँडो निर्माण सम्पन्न गर्छौ– उनले भने ।

 

Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर