Aamsanchar

भारतीयको तुलनामा नेपाली जनता खुशी, नर्वे विश्वकै सबैभन्दा ‘खुशी’ मुलुक

Author Image
मङ्गलवार, चैत ८, २०७३

काठमाडौं ।

पोहोरभन्दा खुसी हुनुहुन्छ कि दुःखी ? राजनीतिक अवस्थालाई दोष दिदैं भन्नु होला, ‘खुसी हुने अवस्थै छैन ।’ यस्तै सोचाइ हो भने तपाई विश्वभरकै खुसी मापनकर्तालाई चुनौती दिदैं हुनुहुन्छ । राजनीतिक अस्थिरतालाई दोष दिदैं दैनिक करिब १५ सय युवा विदेसिने गरेका बेला विश्व खुसी सूचकमा भने नेपाल पोहोरभन्दा ८ स्थानमाथि उक्लेको छ । अर्थात्, पोहोरभन्दा यसपालि नेपालीहरु खुसी छन् ।

न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा सोमबार सार्वजनिक ‘विश्व खुसी प्रतिवेदन २०१७’ (वर्ल्ड ह्यापिनेस रिपोर्ट) अनुसार गत वर्षको तुलनामा नेपालीको खुसी थपिएको हो । प्रतिवेदनअनुसार नेपाल ९९ औं स्थानमा छ । अघिल्लो वर्ष १०७ औं स्थानमा थियो ।

प्रतिवेदनअनुसार नेपाली भारतीयभन्दा खुसी छन् भने पाकिस्तानीभन्दा दुःखी । सार्क सदस्यमुलुकमध्ये नेपाल तेस्रो खुसी मुलुकमा परेको छ । सार्कमा पाकिस्तान सबैभन्दा खुसी मुलुक पर्छ भुटान दोस्रो स्थानमा छ ।

उता युरोपेलीमुलुक नर्वे विश्वकै सबैभन्दा खुसी मुलुक बनेको छ । संयुक्त राष्ट्रसंघको विश्व खुसी रिपोर्टमा डेनमार्कलाई उछिन्दै नर्वे एक नम्बरको खुसी मुलुक बनेको छ । यसपछि आइसल्यान्ड, स्वीट्जरल्यान्ड, फिनल्यान्ड खुसी मुलुकको सूचीमा परेका छन् । यो सूचीमा अमेरिका १४औं र ब्रिटेन १९औं स्थानमा छन् । मध्यअफ्रिकी मुलकहरु भने सूचीको सबैभन्दा पुछारमा परेका छन् ।

पश्चिमी युरोप र उत्तर अमेरिकीमुलुकले सूचीको अगाडिका स्थानहरु ओगटेका छन् । मुलुकको प्रतिव्यक्ति आय, सामाजिक सहयोग, आयु, स्वतन्त्रता, सदासयता, भ्रष्टाचारको अवस्थाजस्ता सूचकलाई खुसी मापकको मानक मानिएको थियो ।

विगत पाँच वर्षयता विश्व खुसी दिवस मार्च २० को अवसर पारेर राष्ट्रसंघले खुसी मुलुकहरुको सूची सार्वजनिक गर्ने गरेको छ । –कान्तिपुर दैनिकबाट

Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर