Aamsanchar

शिविरमा आङ खस्ने समस्या भएका महिला धेरै

Author Image
बुधवार, चैत ९, २०७३

काठमाडौँ ।

स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा रौतहटमा भइरहेको बृहत् शल्यक्रियासहितको निःशुल्क शिविरमा महिलाको आङ खस्ने समस्या धेरै देखिएको छ । शिविर टोली सदस्य तथा एनेस्थेसिया (बेहोस पार्ने चिकित्सक) तथा सघन उपचार विशेषज्ञ डा उदय बज्राचार्यले उपचार गराउन आएका बिरामीमध्ये महिलामा आङ खस्ने र पुरुषमा हाइड्रोसिलका बिरामी धेरै रहेको जानकारी दिनुभयो ।

हिजो र आज गरी ३५ वटा ठूला र तीनवटा साना शल्यक्रिया भएका छन् । यसमा आङ खस्ने र हाइड्रोसिलको शल्यक्रिया बढी छ । सैनिक अस्पताल छाउनीमा कार्यरत रहनुभएका डा बज्राचार्यले हर्निया र जटिल खालका गर्भवतीको पनि शल्यक्रिया भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अधिकांश महिलाले आङ खस्ने समस्या लुकाएको वा विविध कारणले घरका सदस्यलाई नभनेका कारण शल्यक्रिया गर्नैपर्ने अवस्थाका छन् । कति महिलामा दम, मुटुको समस्या, उच्च रक्तचाप लगायतका समस्या रहेकाले शल्यक्रिया गर्न सकिएन । शिविरले मात्र हुँदैन । शिविरलाई निरन्तरता दिँदै जनचेतना फैलाउन पनि आवश्यक देखिएको छ ।”

यही १४ गतेसम्म सञ्चालन हुने शिविरमा अहिलेसम्म दुई हजारभन्दा बढीले जाँच गराई औषधि लिएका छन् । बिरामीको चाप अत्यधिक रहेकाले शिविरको अवधि लम्बिन सक्ने डा बज्राचार्यले बताउनुभयो । मन्त्रालयको पहलमा पहिलो पटक नेपाली सेनासँगको सहकार्य प्रारम्भ गर्दै जनतामा न्यूनतम स्वास्थ्य सेवाको पहँुच पु¥याउन शल्यक्रियासहितको शिविर आयोजना गरिएको हो ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले भन्नभयो, “मन्त्रालयसँग अन्य क्षेत्रसँग साझेदारी गर्न रकम भए पनि त्यसको प्रयोग नभएका अवस्थामा अहिले नेपाली सेनासँग मात्र रहेको मोबाइल अस्पताललाई जनताका लागि पनि उपलब्ध गराउन पहल थालिएको छ । निजी अस्पतालसँग यस्तै साझेदारी गरेर जनतामा स्वास्थ्य सेवा पु¥याउन छलफल थालिएको हो ।”

शिविरमा मन्त्रालय र नेपाली सेनाका विभिन्न रोगका विशेषज्ञ चिकित्सक, फिजिसियन, नर्सिङ स्टाफसहित ५० जना स्वास्थ्यकर्मी परिचालित छन् । मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले अझ धेरैले उपचार पाऊँन भन्ने उद्देश्यले थप सातजना चिकित्सक रौतहट पठाइएको जानकारी दिनुभयो । धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सिराह, सप्तरी, मकवानपुर, सिन्धुलीलगायतका जिल्लाका बासिन्दा शिविरबाट लाभान्वित भइरहेको बताइएको छ ।

जनताकै घरदैलोमा विशेषज्ञ सेवा पु¥याउन देशका अन्य भागमा पनि मोबाइल अस्पतालसहितको सघन स्वास्थ्य शिविर आयोजना गर्ने तयारी भइरहेको स्वास्थ्यमन्त्रीका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो ।

Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर