बिर्तामोड । झापाको बिर्तामोडमा चिया क्षेत्रका समस्या र समाधानका बिषय सरोकारवालासँग अन्तरक्रिया भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा बुधवार (आज) बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम भएको हो । स्थानीय सरकार, प्रदेश सरकार तथा सरोकारवालाहरुसँग संलग्न चिया सम्बन्धी समसामयिक बिषय बस्तुमा केन्द्रित अन्तरक्रिया भएको छ ।
कार्यक्रममा चिया मजदुर, ब्यवसायी, उद्योगका समस्या एकदमै ठूला भएकाले स्थानीय स्तरबाट मात्र समाधान नहुने भएकाले राज्यले नै हल गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
कार्यक्रममा झापाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, चिया मजदुरका नेता तथा प्रतिनिधि, उद्योगी, ब्यवसायीले आ–आफ्नो समस्या र समाधानका बिषयमा आफ्ना भनाई प्रस्तुत गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा पूर्व मन्त्री जसमाया गजमेर, प्रदेश कृषि सचिव डा।लेखराज दाहाल, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष भूपाल सापकोटा, नेपाल चिया बगान श्रमिक संघका केन्द्रिय अध्यक्ष दीपक तामाङ, भद्रपुर नगरका प्रमुख गणेश पोखरेल, हल्दिबारी गाउँपालिका प्रमुख रबिन्द्र लिङ्देन, मेचीनगर नगर प्रमुख गोपाल बुढाथोकीलगायतले आ–आफ्नो भनाई राखेका थिए ।
बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद भट्टराईको अध्यक्षतामामा भएको अन्तरक्रियामा कोशी प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत बोर्डका निर्देशक दीपक खनालले गरेको कार्यक्रमको सहजीकरण बोर्डको क्षत्रिय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले गरेका थिए ।