भद्रपुर।

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समिति भद्रपुरमा आवद्ध केही पदाधिकारीले नियम विपरीत कमिशनको खेलमा काठ बेच्दै आएको रहस्य खुलेको छ ।
अध्यक्ष र सचिवले समितिका अन्य सदस्यहरुलाई थाहा नै नदिई स्थानीय काठ मिलका व्यापारीलाई गोलिया काठ बेचेको उपभोक्ताले थाह पाएपछि घटना सार्वजनिक भएको हो । पछिल्लोपटक घाट गद्दी खाली गर्ने बहानामा समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराई र सचिव सन्तोष पोखरेलले गोलिया दाउरा भन्दै स्थानीय व्यापारी राजु खड्का, रत्नबहादुर भण्डारी र गणेश भण्डारीलाई प्रतिचट्टा २५ हजारका दरले काठ बिक्री गरेका थिए ।

उनीहरुलाई काठ बिक्री गरेको खुलेपछि स्थानीय उपभोक्ताले समितिमाथि आरोप लगाएका हुन् । उनीहरुले काठ दाउरा बिक्री गर्ने समितिका अध्यक्ष र सचिवलाई कार्वाहीको माग गर्दै आन्दोलित समेत बनेका छन् ।
विभिन्न उपभोक्ता र विश्रान्ति दाहसंस्कार गृहका लागि सहुलियतमा दाउरा दिएको निर्णय पुस्तिका बनाएर अध्यक्षकै निर्देशनमा सचिव पोखरेलले काठ बिक्री गरेको समितिका सदस्यको भनाइ छ । कागजी रुपमा एउटा निर्णय गर्ने व्यवहारिक रुपमा अर्कै काम गर्ने वन समितिले उपभोक्ता मैत्री काम नगरेको उपभोक्ताहरुको आरोप छ ।
वनको विधानले उपभोक्तालाई सर्वेसर्वा बनाएको भए पनि समितिका अध्यक्ष र सचिवको मनोमानीमा काठ दाउरा अवैध बिक्री वितरण भइरहेको बिक्री समितिका सदस्य ध्रुव कार्कीको भनाइ छ । उनले पछिल्लोपटक चन्द्रगढीको शेखरको मिलमा अवैध रुपमा आइपुगेको चिरान काठ समितिको निर्णयले नबेचिएको भन्दै यस बारेमा आफूलाई समेत थाहा नभएको प्रस्ट पारे ।
उपभोक्ता शिवप्रसाद भट्टराईका अनुसार यहाँका उपभोक्ताले ५ क्वीन्टल दाउरा माग गर्दा नपाउने, तर कमिशनको आडमा व्यापारीलाई कागज मिलाएर काठ बिक्री गर्नेलाई कार्वाही हुनुपर्ने माग राखे । उपभोक्तासँग नियम खोज्ने तर नियम मिचेर कमिशनका पछि लाग्ने समितिका पदाधिकारीलाई कार्वाही हुनै पर्ने भन्दै अर्का उपभोक्ता पशुपति सुवेदीले आक्रोश पोखेका छन् ।
शनिवार दिउँसो चिरानका लागि शेखर कँडेलको मिलमा दुई ट्याक्टर काठ झारिएको थियो । कँडेलले समितिको कागज पत्र माग गर्दा काठ ल्याउने व्यक्तिले कागज पत्र देखाउन सकेनन् । त्यसपछि कँडेलले स्थानीय केही उपभोक्ताहरुलाई बोलाएर अवैध काठ बारे जानकारी गराएका थिए । यता समितिका सचिव सन्तोष पोखरेलले काठ मिलवालाहरुले काठ दाउरा खरिद गर्न नपाएको रिस समितिमा पोख्दा समस्या आएको बताए ।
समितिले निर्णय गरेरै काठ होइन, दाउरा बिक्री गरेको उनको दाबी छ । जिल्ला वन कार्यालय झापाका प्रमुुख बोधराज सुवेदीले समितिले तोकिएको प्रयोजनभन्दा बाहिर गएर आफू खुशी काठ दाउरा बेच्न नपाउने भन्दै यस्तो पाइएमा कारवाही गरिने बताए ।


