Aamsanchar

कनकाईका सुकुम्वासी नदी नियन्त्रणमा

Author Image
बुधवार, चैत १६, २०७३

बिर्तामोड।

बर्षेनि कनकाई माईमा आउने बाढीले कनकाई नगरपालिका–४ कोटीहोमका सर्वसाधारण विस्थापित हुँदा समेत राज्यले केही सहयोग नगरेको भन्दै त्यहाँका भूमिहीन सुकुम्वासी कनकाई नदी नियन्त्रणमा जुटेका छन् ।
कनकाई नदीको पूर्वी तटमा विगत ११ बर्षदेखि कनकाई नदीले खेतीयोग्य जमिन कटान गर्दै सयौं विगाह जमिन बगरमा परिणत गरेको र धेरैलाई घरवारविहीन बनाएपछि त्यस क्षेत्रका स्थानीयवासी नदी नियन्त्रणका लागि आफै जुटेका हुन् । नदी नियन्त्रणका लागि शुरु गरिएको तटबन्धनमा सुत्केरीदेखि ७५ बर्षसम्मका बृद्धबृद्धा पनि ढुङ्गा बोक्दैछन् ।
कनकाई नदी नियन्त्रणका लागि जिल्ला विकास समिति झापालाई आर्थिक सहयोग मागे पनि जिल्ला विकास समितिले आर्थिक सहयोग नगरको भन्दै स्थानीयवासी स्वयम् प्रतिघर एक हजार रुपैयाँ उठाएर बिगत केही दिनदेखि कनकाई नदीको पूर्वी तटमा तटबन्धन गरिरहेका छन् ।
कनकाई माईको पश्चिम तटमा जनताको तटबन्धन कार्यक्रम अन्तर्गत बर्षेनि करोडौं रुपैयाँ नदी नियन्त्रणका लागि उपलब्ध भए पनि पूर्वी तटमा भने राज्यले नहेरेको उनीहरुको आरोप छ । पूर्वी तटमा कनकाई नदी नियन्त्रणका लागि समिति गठन गरी त्यहाँका स्थानीयवासी अहिले नदी तटबन्धनमा जुटेका हुन् ।
स्थानीय राजकुमार विकको अध्यक्षतामा नदी नियन्त्रण समिति गठन गरी उनीहरु अहिले नदी नियन्त्रणका लागि तटवन्धनमा सहभागी भएका छन् । त्यहाँका स्थानीय अधिकांश सुुकुम्वासी रहेका छन् । बर्षेनि खोलाले जमिन कटान गरेपछि उनीहरु सुकुम्वासी बनेको बताइएको छ ।
धेरैको हातमा जग्गा धनीपूर्जा छ तर नदी कटानले जमिन बगरमा परिणत भएपछि हामी सुकुम्वासी भएका हौं– समितिका अध्यक्ष राजकुमार विकले भने । ९ लाख २८ हजार ३ सय ५६ रुपैयाँको लागतमा निर्माण गर्न सकिने तटबन्धनका लागि उनीहरुले अहिले श्रमदान गरिरहेको बताइएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, जिल्ला विकास समितिको जिल्ला प्राविधिक कार्यालय भद्रपुर झापाले विस्तृत लागत इस्टीमेट तथा तेरिजमा सो कार्यका लागि उक्त रकम लाग्ने बताएपछि उनीहरुले आफैं प्रतिपरिवार एक हजार रुपैयाँ उठाउँदै २ लाख ३५ हजार र कनकाई नगरपालिकासँग तीन लाख रुपैयाँ आर्थिक सहयोग लिएर तटबन्धनमा जुटेको बताइएको छ । तटबन्धनका क्रममा जनताको तटबन्धन कार्यालयबाट जाली उपलब्ध भएको बताइएको छ ।
समाजसेवी राजेन्द्र पोख्रेलले माईपुल भन्दा दक्षिण करिव नौ सय घर परिवार नदी कटानका कारण विस्थापित हुने अवस्थामा पुगेको बेला भूमिहीनहरुले नदी नियन्त्रणका लागि देखाएको सक्रियताको सबैले कदर गर्नुपर्ने बताएका छन् । उनले राज्यको उपस्थिति नभएको बेला भूमिहीनहरु नदी नियन्त्रणमा जुट्नु भनेको स्वयम् सरकार नै लाचार रहनु सरह हो भने । नदी नियन्त्रणका लागि उनले सवैलाई सहयोग पु¥याउन आग्रह समेत गरेका छन् । कनकाई नदीको पानीको वहाव बढेर गाउँ पसे धनी र गरीव नभनी क्षति पु¥याउने भएकाले सवैलाई बैलैमा नदी नियन्त्रणमा जुट्न उनले आग्रह समेत गरेका छन् ।
यता कनकाई सामुदायिक वनका अध्यक्ष रुद्रप्रसाद चिमरियाले बेलैमा कनकाई नदी तटबन्धन गर्न नसकिए ठूलो धनजनको क्षति हुने बताएका छन् । नदी नियन्त्रणका लागि स्थानीयले देखाएको जागरुकतामा सबैले साथ दिनुपर्ने बताउँदै उनले राज्यले समेत तटबन्धनका लागि सहयोग गर्नुपर्ने बताए ।

Views: 90

प्रतिक्रिया (०)