बिर्तामोड।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय झापाले इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरे पनि झापाबासीले प्रशासनको आग्रहलाई बेवास्ता गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक सूचना जारी गर्दै इजाजत प्राप्त हतियार इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई बुझाउन आग्रह गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले आसन्न स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरण सम्पन्न गर्न झापाबासीलाई आग्रह गर्दै निर्वाचनको अवधिभर मदिराजन्य पदार्थको बिक्री–वितरणमा समेत रोक लगाउने बताएका थिए ।
तर, झापाबासीले प्रशासनको आग्रहलाई बेवास्ता गरेको सहायक जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले बताए । उनले भने– ‘हामीले चुनावलाई लक्षित गर्दै दर्तावाला हतियार बुझाउन भनेका थियौं अहिलेसम्म कसैले पनि हतियार बुझाएका छैनन् ।’
जिल्ला प्रशासनको तथ्यांक अनुसा र झापामा एक हजार एक सय छ वटा हतियार व्यक्ति र संस्थासँग रहेका छन् । सबै हतियारलाई जिल्ला प्रशासनले बुझाउन आग्रह गरे पनि उनीहरुले नबुझाएको सहायक प्रजिअ निरौलाले बताए ।
एक महिनासम्म हतियार बुझाउन सकिने बताउँदै प्रमुख जिल्ला अधिकारी खत्रीले भने– ‘रेकर्ड हामीसँग छ, हामी अहिले पहिलो चरणमा छौं । मलाई आशा छ उहाँहरुले हतियार बुझाउनुहुन्छ ।’

