Aamsanchar

साउदीमा ५० कोर्राको सजाय भोगेर घर फर्किन लागेका प्रेम फेरि जेलमा

Author Image
आइतवार, चैत २७, २०७३

सुजता सुनुवार,

इलाम –

गएको वर्ष साउदीमा आश्चर्य भयो ! इलामको माइ नगरपालिकाका प्रेम बहादुर राईले चलाउने गाडी पार्किङस्थलबाटै हरायो । गाडी पार्किङ गरेर उहाँ साथीलाई भेट्न जानु भएको थियो । गाडीमा तार बोकिएको थियो ।

सामान सहितको गाडी हराएपछि प्रेमले तत्काल कम्पनी र प्रहरीलाई खबर गर्नुभयो । दुई दिनपछि १० किलोमिटर टाढा गाडी तोडफोड गरिएको अवस्थामा फेला पर्‍यो । तर सामान चोरिएको थियो ।

त्यसपछि प्रेम गएको वर्ष पक्राउ पर्नुभयो । अदालतले दुई महिना कैद र ५० कोर्राको सजाय तोक्यो । नभन्दै प्रेमले त्यो पनि भुक्तान गर्नुभयो । दोश्रो पटक अल सहलावी होल्डिङ कम्पनीमा पुगेका प्रेमले त्यसपछि भने घर फर्किने निधो गर्नुभयो ।

पहिलो पटक जाँदा राम्रै कमाई भएको थियो । गाडी चलाउने काममा प्रेम खुसी नै हुनुहुन्थ्यो । तर यो पटक कमाउने सपना पुरा भएन । घर फर्किने तयारीमा रहेका प्रेम विरुद्ध कम्पनीले फेरी उजुरी गर्‍यो, पासपोर्ट दिएन । प्रहरीले हिरासतमा राख्यो ।

यस अघि दुई महिना कैद र ५० कोर्राको सजाय भोगीसक्नु भएको थियो । प्रेमको मुद्दा पहिलै सकिएको थियो । तर फेरि उहाँलाई जरीवाना तोकियो ९५ लाख रुपैयाँ । प्रेमले तिर्न सक्ने अवस्था नभएपछि एक वर्ष पहिले देखि जेलमै हुनुहुन्छ । उहाँलाई साउदी अरेविया स्थित रियाद नदिमको जेलमा राखिएको छ ।

चार महिनाको छुट्टीमा घर आएर पोहोर पुसको अन्तिम साता साउदी जानु भएको थियो । तर केहि महिना काम गर्नासाथ चोरीको अभियोगमा फस्नुभयो । जेल र कोर्रा भोगेर फर्किएपछि फेरि जेलमै लगियो । अहिले त तिर्नै नसक्ने जरिवाना तोकिएको छ ।

पाँच वर्ष अघि क्राउन इम्प्लोइमेन्ट प्रालि काठमाडौं गाडी चालकको काममा साउदी जानुभएको थियो । उक्त कम्पनीमा तीन वर्ष तीन महिना काम गरेर फर्किनुभयो । तर चार महिनाको छुट्टि सकिएपछि फेरि जानुभएको थियो ।

परिवारलाई उद्धारको चिन्ता

अहिले प्रेम जेल परेपछि परिवार पीडामा छ । उहाँको उद्दारमा हारगुहार गरिरहेका छन् । प्रेमका दाइ चक्र कुवेतमा हुनुहुन्छ । कुवेतबाट साउदीमा रहेको दूतावासमा दिन दिनै फोन गर्नुहुन्छ । तर दूतावासले उहाँलाई उद्धार गर्न सकेको छैन ।

भाइका कागजात बुझाउनु भएको छ । तर प्रेमलाई घर फर्काइदिन दूतावासले सकेको छैन ।  श्रीमती, ७ महिनाको छोरो, ७ वर्षकी छोरी र बुबा आमा छन् । कमाउन नसकेपछि दुइ महिना जेल बसेर श्रीमान फर्किने कुराले सरीता खुसीनै हुनुहुन्थ्यो । तर अब घर फर्किन्छन् भनेका श्रीमानलाई फेरी जेल पुर्‍याएपछि सरीताको पीडा बल्झिएको छ, सहिसक्नु छैन ।

सुत्केरी सरिता आफैं केहि गर्न सक्ने अवस्थामा हुनुहुन्न । आफन्तलाई गुहार्नु भएको छ, आफन्तले दूतावासमा पहल गरिरहेका छन् । तर दूतावासले के गरिरहेको छ, उद्धारका लागि परिवारले नतिजा पाउन सकेका छैनन् ।

प्रेमको उद्धारका लागि पहल गरिरहेका टंकराज कुलुङ्ग राईका अनुसार एक महिना पहिले प्रधानमन्त्री कार्यालय, श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय र कन्सुलरमा परिवारले निवेदन दिएका छन् । यी कार्यालयले पनि अहिले सम्म उद्धारका लागि कुनै पहल गरेका छैनन् । -उज्यालो

Views: 161

प्रतिक्रिया (०)