Aamsanchar

झापामा सुरक्षाकर्मी नै असुरक्षित !

Author Image
आइतवार, चैत २७, २०७३

बिर्तामोड।

शान्ति सुरक्षामा खलल पुग्न नदिन सरकारले दक्षिणी झापाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको स्थापना गरेको छ । यसैका लागि केचनाकवल, घेराबारी, टाघनडुब्बा, गौरीगञ्ज, बैगुनधुरा लगायतका स्थानमा सरकारले सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको स्थापना गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ५० जनाको दरबन्दीसहित सरकारले त्यस क्षेत्रमा २०७० सालमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको स्थापना गरेको हो । सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको स्थापनासँगै त्यस क्षेत्रमा शान्ति सुरक्षा सुदृढ हुनुका साथै चोरी, डकैती बन्द भएको स्थानीयबासीले बताएका छन् ।
तर, जनताको जीउधनको सुरक्षासहित सीमाको समेत सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका लागि सुरक्षित बासस्थान नहुँदा सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कष्टकर जीवन बिताउन बाध्य छन् । सरकारले त्यस क्षेत्रमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको स्थापना गरे पनि आवासका लागि कुनै ठोस योजना नबनाई प्रहरी परिचालन गर्दा त्यहाँ कार्यरत प्रहरीले सास्ती व्यहोर्नु परेको हो ।
केचनामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको स्थापना भए पनि आफ्नो भवन नहुँदा अहिले त्यहाँ कार्यरत ५० जना सशस्त्र प्रहरी छाप्रोमा बस्न बाध्य छन् । आफ्नो जग्गा नभएपछि वनको जग्गामा स्थापना गरिएको सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट केचना अहिले छाप्रोमा सीमित छ । हिउँदमा हावा–हुण्डरीको, वर्षातमा डुबानको डरसँगै त्यहाँ कार्यरत प्रहरी दैनिक जोखिम मोलेर सेवा दिइरहेका छन् ।


२०७० चैत २४ गते सशस्त्र प्रहरी निरीक्षक प्रभातकुमार गौतमको नेतृत्वमा त्यहाँ सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको स्थापना गरिएको थियो । स्थापनापछि भीमलाल चौधरीले कार्यभार सम्हाली सकेका छन् भने अहिले विश्वनाथ जिसी कार्यरत छन् ।
खरको छाप्रोमा सञ्चालित बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी निरीक्षक जिसीसहित एक सशस्त्र प्रहरी नायव निरीक्षक, एक सशस्त्र प्रहरी सहायक निरीक्षकसहित ५० जनाको दरबन्दी छ । त्यहाँ प्रहरी बस्ने भवन टाटीले बारेर बनाइएको छ भने मेस पनि खरले छाएर टाटीकै बेरा लगाएर तयार परिएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट घेरावारीको पनि अवस्था पनि उस्तै छ । सरकारले भवन निर्माणका लागि रकम प्रदान नगरेपछि स्थानीय दातासँग बाँस र खर सहयोग मागेर त्यहाँ कार्यरत प्रहरीले ओत लाग्ने ठाउँ स्थापना गरेका छन् ।
भारतीय सुरक्षा बलका लागि भारत सरकारले सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट नजिकै सुविधा सम्पन्न भवनसहित एसएसवी परिचालन गरेको छ । तर, नेपालमा भने सीमाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले घाम र पानी छल्न स्थानीयवासीसँग बास र खर माग्नुपर्ने बाध्यता सृजना भएको सरोकारवालाले बताएका छन् ।
सीमाको गस्तीका लागि सरकारले एक थान सवारी दिए पनि त्यसमा लाग्ने इन्धन नदिँदा त्यहाँ कार्यरत प्रहरीलाई इन्धन समेत माग्नुपर्ने बाध्यता रहेको बताइन्छ । चोरी तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा स्थापना गरिएका सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टमा पर्याप्त जनशक्ति दिए पनि साधन श्रोत नदिँदा सुरक्षाकर्मी समस्यामा पर्ने गरेको बताइन्छ ।


सीमा सुरक्षा कार्यालय झापाका सशस्त्र प्रहरी उपरीक्षक आनन्द नेम्वाङले गृह र अर्थ मन्त्रालयलाई आफूले सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट निर्माणका लागि डेढ करोड रुपैयाँ बजेट माग गरेको बताएका छन् । उनले आफ्नो पहलमा पृथ्वीनगरमा रहेको अस्थायी सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको भवन र गौरीगञ्जको भवन निर्माणका लागि काम अघि बढाएको बताएका छन् ।
तर, केचनामा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टका सुरक्षाकर्मी नै अहिले असुरक्षित रहेका छन् । उनीहरुले प्रयोग गर्ने हतियारको सुरक्षा गर्न न त भवन छ, न त उनीहरु बस्ने राम्रो बासस्थान नै छ । त्यहाँ कार्यरत सुरक्षाकर्मी नै असुरक्षित भए पनि दक्षिणी सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले खेलेको भूमिका सह्रानीय रहेको बताउँछन्– तत्कालीन वनियानी गाविस सचिव मिठाराम बस्नेत ।

Views: 171

प्रतिक्रिया (०)