Aamsanchar

गर्मीसंगैं सर्पको बिगबिगी

Author Image
आइतवार, जेठ ३०, २०७३

इटहरी ।index

गर्मीयाम सुरु भएसँगै इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालय परिसरमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रमा विभिन्न स्थानका पीडितहरु आउने क्रम बढेको छ ।

पहाडी क्षेत्रसँगै तराईका विभिन्न जिल्लामा विषालु र विषालु नभएका सर्पदंशबाट पीडित भएर आउनेको सङ्ख्या दैनिक सरदर पाँच जनाभन्दा बढी हुने गरेको सामुदायिक सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष दिवश पोख्रेलले बताउनुभयो ।

अध्यक्ष पोख्रेलका अनुसार जेठ महिनाको २९ गतेसम्म सामुदायिक सर्पदंश उपचार केन्द्रमा एक सय ३५ जना सर्पदंशका पीडितले उपचार सेवा पाएका छन् । वैशाख महिनामा ९४ जना सर्पदंशका पीडितले उपचार सेवा पाएका थिए । उता जिल्ला अस्पताल इनरुवामा पनि वैशाख र जेठ महिनामा १५ जना सर्पदंशका पीडितले उपचार सेवा लिइसकेको अस्पतालले जानकारी दिएको छ ।

सर्पदंशका पीडितमध्ये अझै चार जनाको सामुदायिक सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको छ । यस सामुदायिक सर्पदंश उपचार केन्द्रमा सुनसरीसँगै झापा, मोरङ, भोजपुर, तेह्रथुमलगायतका जिल्लाबाट सर्पदंशका पीडित उपचारका लागि आउने गरेका छन् ।

अन्यत्रभन्दा नेपाली सेनाको निगरानीमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रले विश्वसनीय सेवा दिन्छ भन्ने विश्वासका आधारमा पूर्वका प्रायः सबै स्थानका सर्पदंशका बिरामी यही उपचारका लागि आउने गरेको अध्यक्ष पोख्रेलले बताउनुभयो ।

पहाडी क्षेत्रमा खासगरी जङ्गलमा पाइने हरियो भाइपर प्रजातिको सर्पले डसेका पीडित आउने गरेको र यो महिनामा पनि १० जना आएकामध्ये सात जना पहाडी क्षेत्रका रहेको पनि केन्द्रले आँकडा दिएको छ । तराईमा गोमनले डसेका पीडित आउँछन् भने पहाडी क्षेत्रमा भने हरियो भाइपर नामक सर्पको डसाइका पीडित आइरहेको केन्द्रको भनाइ रहेको छ ।

सामुदायिक सर्पदंश उपचार केन्द्रमा सर्पदंशका पीडितको उपचारका लागि १६ श्यया रहेको र सर्पको डसाइबाट ज्यादै पीडित भई भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामीलाई भने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने गरेको पनि केन्द्रले बताएको छ ।

यस केन्द्रले सर्पदंशका पीडितको निःशुल्क उपचार गर्दै आएको र एन्टी स्नेक भेनम औषधि पनि निःशुल्क उपलब्ध गराउँदै आएको छ । तर अरु औषधि प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भए त्यो भने बिरामी आफैँले व्यहोर्नुपर्ने हुन्छ ।

Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर