Aamsanchar

सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा अख्तियारको छापा

Author Image
बुधवार, चैत ३०, २०७३

भद्रपुर।

झापाको भद्रपुरस्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा अख्तियारको टोलीले मंगलबार दिउँसो छापा मारेको छ ।
सामुदायिक वन उपभोक्ता समितिले वन नियम विपरीत मिलेमतोमा सखुवाको गोलिया काठलाई दाउरा भन्दै बेचबिखन गरेको आमसञ्चार डटकममा समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको टोलीले छापा मारेको हो । जिल्ला वन कार्यालय झापाका कर्मचारीको सहयोगमा अख्यितार शाखाका अधिकृत गणेश अधिकारीसहितको टोलीले समितिको कार्यालयमा छापा मार्दै आवश्यक कागजात नियन्त्रणमा लिएको छ ।
अख्यितारको टोलीले कार्यालयको अनुगमन गर्दै बेचविखन गरेको बिलभौचर, आर्थिक प्रतिवेदन, माइन्यूट लगायतको आवश्यक कागजात नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको शाखा अधिकृत निलकण्ठ विकले जानकारी दिए । घटनाको स्थलगत अध्ययन गर्दा अन्य जिल्ला भन्दा फरक गतिविधि सामुदायिक बनमा हुने गरेको भेटिएको शाखा अधिकृत अधिकारीले बताए । उनले वन ऐन विपरीत सामुदायिक वनले काठलाई दाउरा भन्दै दिने गरेको चलन रहेकोमा आश्चर्य व्यक्त गरे ।
अख्तियारको टोलीले शेखर काष्ठ मिल र खड्का काष्ठ मिलमा रहेको दाउरा भनिएको गोलिया काठको समेत जाँच गरेको थियो । मिलमा रहेको सखुवा जातको गोलिया काठको मापन गरी मुचुल्का समेत उठाएको छ । समितिका अध्यक्ष र सचिवसहित केही पदाधिकारीले उपभोक्तालाई थाहापत्तो नदिई घाटगद्दी खाली गर्ने बहानामा दाउरा भन्दै गोलिया काठ प्रति चट्टा २५ हजारको दरले १४ जना स्थानीय व्यापारीलाई बेचेका थिए । वन नियामावली २०५१ अनुसार १८ देखि २२ इञ्च गोलाइ र २ फिट लम्बाइ भएको काठलाई दाउरा भनेर बेच्ने कानूनी प्रावधान छ । तर, समितिले दाउरा भन्दै बचेको काठको लम्बाई ५ देखि ९ फिटसम्मको फेला परेको छ ।
यता जिल्ला वन कार्यालय झापाले पनि घटनाको छानविनका लागि समिति गठन गरिसकेको छ । सेक्टर वन कार्यालय जलथलका प्रमुख कमलदेव चौधरी र निचाझोडा रेञ्जर पोष्टका राजन राई रहेको छानविन समितिले पनि समितिको आवश्यक कागजात नियन्त्रणमा लिएर छानविन शुरु गरिसकेको छ । मिलमा भेटिएका दाउरा भनिएका गोलिया काठ यथास्थितमा राख्न मिल सञ्चालकलाई आदेश दिइएको वन कार्यालय झापाले जनाएको छ ।

Views: 148

प्रतिक्रिया (०)