Aamsanchar

चुहावट नियन्त्रणसंगै विद्युत लोड घट्यो

Author Image
बिहिवार, चैत ३१, २०७३

(सुरेन्द्र भण्डारी)
झापा।

नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण गर्न सुरु गरेसंगै ट्रान्सफर्मर पड्किएर अन्धकारमा बस्नुपर्ने समस्याबाट सर्वसाधारणले मुक्ति पाएका छन् ।
विद्युत् चुहावट हुँदा ओभरलोडका कारण वर्षेनि ट्रान्सफर्मर पड्कने समस्याका कारण सर्वसाधारण महिनौंसम्म अन्धकारमा बस्न बाध्य थिए । तर, प्राधिकरणले सञ्चालन गरेको विद्युत् चुहावट नियन्त्रण अभियान प्रभावकारी भएपछि सर्वसाधारणले महिनौसम्म अन्धकारमा बस्नुपर्ने समस्याबाट मुक्ति पाएका हुन् ।
नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले ओभरलोडका कारण दिनहुँजसो ट्रान्सफर्मर बिग्रिएर हुने हैरानीबाट मुक्ति मिलेको छ भन्नुभयो ।
‘बिग्रिएको एउटा ट्रान्सफर्मर मर्मत गर्न विराटनगर पु¥याउनुपर्ने बाध्यता आफूहरुमा रहेका र प्रति ट्रान्सफर्मर मर्मतका लागि एक लाख रुपैयाँभन्दा बढी खर्च लाग्थ्यो प्रमुख इञ्जिनियरसिंहले भन्नुभयो– अब त्यो समस्याबाट समेत हामीले छुटकारा पाएका छौं । उहाँले अगाडि थप्नुभयो– ‘ठूलो उपलब्धि त सर्वसाधारणले लाइन गयो भनेर अन्धकारमा बस्नु परेको छैन ।’
कारवाहीबाट तीसलाख राजश्व संकलन
अनारमनी वितरण केन्द्रले साविक तीनवटा नगरपालिका र १८ वटा गाविसका ५२ हजार २ सय १ जना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । विद्युत् चुहावड नियन्त्रण अभियान प्रभावकारी भएसँगै प्राधिकरणले पछिल्लो समय तीसलाख रुपैयाँ  राजश्व संकलन गरेको छ ।
विद्युत् चोरीमा संलग्नलाई कारवाही गर्दैै प्राधिकरणले सो राजश्व संकलन गरेको बताइएको छ  । ३ सय ४९ जना विद्युत् चोरीमा संलग्नलाई कारवाही गर्दा प्राधिकरणले उक्त रकम राजश्व संकलन गरेको केन्द्र प्रमुख तथा प्रमुख इञ्जिनियर समेत रहनुभएका सिंहले बताउनुभयो ।
तीन प्रतिशत घट्यो चुहावट
विद्युत् चुहावट अभियान तीव्र पारेसँगै झापामा विद्युत् चुहावट प्रतिशत समेत घटेर गएको छ । केही समयअघिसम्म झापामा २२ प्रतिशत विद्युत चुहावट हुने गरेको तथ्यांक नेपाल विद्युत प्राधिकरणसंग रहे पनि त्यो दर अहिले १९ प्रतिशतमा झरेको बताइएको छ ।
आठ महिनामा ३७ करोड २० लाख उठ्यो महसुल
पछिल्लो ८ महिनामा नेपाल विद्युत प्राधिकरण अनारमनी शाखाले  ५२ हजार २ सय १ जनाबाट ३७ करोड २० लाख ४० हजार ८ सय ७२ रुपैयाँ ८४ पैसा विद्युत महसुल उठाएको छ । ३८ करोड ८१ लाख ५५ हजार ६७ रुपैयाँ १६ पैसा विद्युत् महसुल उठ्नुपर्नेमा ९७.७० प्रतिशत विद्युत महसुल संकलन गरेको केन्द्र प्रमुख सिंहले बताउनुभयो ।
यो दर पूर्वाञ्चलकै उच्च हो उहँँले भन्नुभयो–‘चुहावट नियन्त्रण र नियमित निगरानीका कारण यो सब सम्भव भएको हो ।
आठ महिनाको अवधिमा उल्लेख राजश्व संकलन गर्न सफल प्राधिकरणले आगामी दिनमा आफ्नो कार्यक्षेत्रलाई लोडसेडिङमुक्त क्षेत्र घोषणाको तयारी गरिरहेको छ’ –केन्द्र प्रमुख सिंहले भन्नुभयो ।

Views: 124

प्रतिक्रिया (०)