चितवन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसी मोर्चाले गरेको स्थानीय तहको निर्वाचन बहिस्कारको निर्णयलाई पुनर्विचार गर्न आग्रह गर्नुभएको छ ।
राप्रपा चितवनले आज यहाँ आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले सिंहदरबारको अधिकार स्थानीय तहमा पु¥याउने यस महान अभियानमा सहभागिता जनाउन मोर्चालाई आग्रह गर्नुभयो ।
उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहनुभएका थापाले मधेसी जनताको अधिकारका लागि सरकार र दलहरू तयार रहेको तर प्राप्तिको बाटो मात्रै फरक रहेको भन्दै उहाँले भन्नुभयो “वार्ता र सहमतिको आधारमा निकास खोज्न सकिन्छ त्यसका लागि निर्वाचन वहिस्कार गर्न आवश्यक छैन ।”
सरकारले मोर्चालाई निर्वाचनमा सहभागी गराउनकै लागि संविधान संशोधनको विधेयक संसदमा दर्ता गरेको उहाँको भनाइ थियो । मुलुकमा २० वर्षपछि निर्वाचन हुन लागेको भन्दै अध्यक्ष थापाले काँग्रेस, एमाले, माओवादी र राप्रपा भएर होइन स्वभिमानी राष्ट्रभक्त नेपाली भएर मतदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाले मधेसवादी दलहरूलाई निर्वचनमा सहभागी गराउन सरकारसँग माग गर्नुभयो । मधेसी दलहरूको स्थानीय तहको निर्वाचनमा सहभागिता नजनाउने निर्णयले नेपालको एक तिहाई भागलाई छाडेर निर्वाचन गर्न सम्भव नरहेको उहाँको भनाइ थियो । संविधान संशोधनमा लचिलो भएर वा अन्य सवै प्रक्रियामा खुकुलो भएर मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो ।
पार्टीका उपाध्यक्ष एवम् भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले अहिले जनताले विकास चाहेकाले राप्रपाले जनताको चाहना पुरा गर्ने बताउनुभयो ।
आफूहरूले स्थानीय तहको निर्वाचनमा विजयी हासिल गरे विश्वको फरक देश बनाउँदै देशको स्वाभिमान गुम्न नदिने उहाँले दाबी गर्नुभयो ।
सो अवसरमा राप्रपाका महामन्त्री ध्रुवबहादुर प्रधानले जनताको अधिकार जनतालाई दिन निर्वाचन आवश्यक रहेको बताउनुभयो ।