Aamsanchar

खेताला पत्रकारको चक्रव्यूहमा समकालीन पत्रकारिता

Author Image
आइतवार, जेठ २०, २०८१

‘उपचारको लागि काठमाडौं जाँदै छु । साता या १५ दिन लाग्न सक्छ । त्यसबेलासम्मका लागि केही अरू नै गर्नु वा शान्त भएर बस्नु । अन्यथा रिस्क आउन सक्छ ।’ दुई दशकदेखि लेखेरै परिवार चलाएका एक वास्तविक पत्रकार र अर्को बजारमा थर्काएर भए पनि मज्जैको जीवन बाँच्न कथित ग्ल्यामर पत्रकार बन्न निस्केका दुई पत्रकारबीच भएको संवाद हो ।
हामी सामान्यतया खेतमा काम गर्ने मजदुरलाई खेताला बुझ्छौं । तर पत्रकारिता पैसा र शब्दसँग खेताला शब्द जोडी रहँदा यसलाई भिन्न विश्लेषण गर्न आवश्यक सम्झिएँ। किनभने सवाल यहाँ खेताला अर्थात् कृषि मजदुरको होइन । यहाँ खेताला पत्रकारको परिभाषा र नियतिले पत्रकारिताको मर्म विपरीत पेसाको प्रकृतिलाई नै दाउमा लगाउने गलत अभ्यास देशैभर थालिएको छ । कृषि मजदुरले खेतमा आफ्नो परिश्रम बेच्छन् तर अन्य क्षेत्रमा खेताला भनेको आफूसँग भएका सीप, दक्षता, श्रम अरूलाई बेच्नु नभई त्यसलाई गलत ठाउँमा डेलिभरी गर्नु अर्थात् दुरूपयोग गर्नु भन्ने बुझ्नुपर्छ । जस्तो कि, दृष्टिविहीनको सम्मेलनमा फोटो प्रदर्शनी वा बिरामी नभएको मान्छेलाई इन्जेक्सन हाल्नु जति अपराध र मूर्खता हो, ठिक त्यस्तै पत्रकारिताको ज्ञान सीप नभएकोे र कहिले हुन पनि नचाहने व्यक्तिको नाउँमा अरू पत्रकारले समाचार लेखेर प्रकाशन र प्रसारण गर्नु र गराउनु त्यही स्तरको अपराध मानिन्छ । सप्तरीमा पछिल्लो समय आफूलाई दक्ष भनिएका केही पत्रकारबाट यस्ता खेताला बस्ने नियतको शुरूआत भएको देखिन्छ । र तिनीहरू नै पत्रकारिताको ’प’ अर्थात् कुनै प्रकारको आचारसंहिता जान्दै नजानेका वा जानेर पनि पालना नगर्ने दुई चार जना युवालाई पत्रकार हो भनेर चिनाउन कम्मर कसेर लागि परेका छन् ।

यसै सन्दर्भमा सप्तरीकै एक जना युवा अभियन्ता रामनारायण पण्डित लेख्नुहुन्छ, ’केही युट्युबर र पत्रकारसँग आग्रह गर्न चाहन्छु कि कृपया अलिकति अध्ययन गरेर अन्तर्वार्ता गर्नुहोला । तपाईंहरूको अन्तर्वार्ता हेर्दा विषयवस्तुमा अध्ययन नपुगेको दर्शकलाई आभास हुन्छ । तपाईंहरूको कारण पत्रकारको गरिमा दिनानुदिन घट्दै गएको छ । अफिसमा काम हुँदैन अथवा स्कुलमा पढाई हुँदैन वा अन्य समस्या छन् भने जिम्मेवार व्यक्तिसँग कुराकानी गरेर समस्या समाधानमा सहयोग गर्नु न कि हाल्नै नहुने कन्टेन्ट काटकुट गरेर हालेर मानसिक तनाव दिएर भ्युज बढाउनु ।’
पत्रकार गोकर्ण अवस्थी लेख्नुहुन्छ, ’पत्रकारिता बुझेका, गरेका, भोगेका मान्छे विस्थापित हुँदै छन् । कमसेकम हामीलाई थाहा छ, पत्रकारिता दलाली चाटुकारिता हैन । हुँदै हैन । जसले सक्दैन उसले चुपचाप छोड्छ । म जस्तै । तर पत्रकारिताको ’प’ नगरेकाको देश विदेशमा फुर्ती हेर्दा विरक्त लाग्छ । अहिले छोडे पनि २० वर्ष सक्रिय र इमानदार पत्रकारिता गरेको नाताले भन्न सक्छु र भन्नै पर्छ, पत्रकारितामा जे भइरहेको छ अधिकांश गलत भई रहेछ ।’

नेपाली पत्रकार र पत्रकारितालाई मर्यादित र भ्रमरहित पत्रकारिताको रूपमा विभिन्न अन्तर्राष्ट्रिय मञ्चले विभिन्न समयमा चिनाएका छन् । किनभने हरेक परिवर्तनमा पत्रकार र पत्रकारिताको भूमिका ऊर्जाशील र सकारात्मक रहेको इतिहास साक्षी छ । नेपालको विभिन्न कालखण्डमा भएको सामाजिक तथा राजनीतिक आन्दोलनको साक्षी मात्रै नभई सहयात्रीको रूपमा पत्रकारिता जगत् होमिएको कसैबाट लुकेको विषय होइन । फलस्वरूप राज्य व्यवस्थाको परिवर्तन र सुदृढीकरण सँगसँगै २०४६ सालको आन्दोलन यता कुनै क्षेत्रको तीव्रताले विकास भएको छ भने त्यो नेपाली पत्रकारिता क्षेत्र हो। विडम्बना हाम्रो पत्रकारिताका समकालीन दिनहरू लेख्ने पत्रकारभन्दा खेताला पत्रकारको संख्या बढिरहेको छ ।

पछिल्लो समय सजिलै कमाउने बाटोको रूपमा पत्रकार र पत्रकारितालाई लिने गरेको भ्रामक बुझाई पनि छ । यस्तो प्रकारको बुझाइले पनि पत्रकारितामा क्षेत्रमा खेताला पत्रकारको रजाइँ देखिन थालेको छ । यसले गर्दा पत्रकारको नाम सुन्ने बित्तिकै नाक खुम्च्याएर पिठ्यूँ देखाउने अवस्था आइसकेको छ । डरलाग्दो कुरा त के छ भने देशकै पुरानो नागरिक संस्था नेपाल पत्रकार महासंघमा पनि त्यस्ताकै बिगबिगी देखिन थालेको छ । यसले हाम्रो पत्रकारिता र पत्रकारको साख जोगाउन चुनौति खडा गरिएकै हो । १५ वर्ष अघिसम्म समाचारको विषयले पत्रकारलाई स्थापित गर्यो र त्यसरी स्थापित भएको पत्रकारको नाम सुन्दा समाजका अरूले वर्र्ग गर्थे । दुःखमा हामीसँग आशा राख्थे । तर अहिलेको पत्रकारप्रति नजरिया नै उल्टो हुँदै गएको छ ।

डाक्टर, इन्जिनियर प्रोफेसर, अर्थ विज्ञ, वकिल, वैज्ञानिक जस्तै पत्रकारिता पनि प्राविधिक पेसा हो । पत्रकारिता गर्नको लागि लेखन प्रविधि र दक्षता अनिवार्य हुनैपर्छ । योसँगै उच्च एकेडेमिक शिक्षा अनिवार्य हो । तर समकालीन पत्रकारिताको मर्यादालाई अधिल पार्न यो अनिवार्य मापदण्ड बाहेक दुई थरीको चरित्र छ्यापछ्याप्ती पाइएको छ । एउटा सामाजिक सञ्जालको नाममा अनियन्त्रित युट्युबरको भीड र अर्को आफू मार्केटबाट उठाउन सक्ने ल्याकत राखेर लेख्न सक्ने पत्रकारलाई हप्ता र महिनावारी बुझाएर आफ्नो नाउँमा समाचार लेखाउने खेताला पत्रकारको जमात बढ्दै गएको छ । यसले को पत्रकार र को गैर पत्रकार भनेर नागरिकमा अन्यौलता बढिरहेको छ । नेपाल पत्रकार महासंघको विधानले निर्दिष्ट गरेको पत्रकारको परिभाषामाथि पनि प्रश्न चिन्ह उठिरहेको छ । होला कि, यस्ताको भविष्य न त ऊ स्वयंले निर्धारण गर्न सक्छन् न त समाज वा हामीले नै निर्धारण गरिदिएका हुन्छौं । यद्यपि समाजमा यस्ताको बिगबिगीले सामाजिक रूपमा पत्रकारिताप्रति गलत भाष्य निर्माण गरिरहेको पक्षलाई पनि नकार्न मिल्दैन । अन्ततः तिनीहरू छोटो समयमा आफ्नो व्यक्तित्व समाप्त पार्छन् नै । योसँगै अरू पत्रकारको समेत विश्वसनीयता खतरामा पार्दै गएका छन् ।

दर्जनौं अनलाइन मिडिया, टेलिभिजन प्रस्तोता, युट्युबर भ्युजकै लागि पेसालाई बदनाम गर्दै सिंगो पत्रकारिताको मर्यादा र साखलाई निमिट्यान पार्न लागि परेका छन् । यसरी खेताला पत्रकारको भुमरीमा नेपाली पत्रकारिता जेलिँदै गएको छ । कालान्तर मै मौलाउँदो यो प्रवृत्ति नेपाली पत्रकारिताको भूगोलमा डरलाग्दो चुनौती हो । समाजलाई देखाउने ऐना नेपालको पत्रकारिता क्षेत्र प्रश्नै प्रश्नले धमिलो ऐनामा परिणत हुँदै गएको छ । अर्थात् नेपालको पत्रकारिता क्षेत्र काण्डै काण्ड र प्रश्नहरूको भुमरीमा अल्झिदै गएको छ । यसप्रति समाज र पत्रकारितासँग तालुक राख्ने सबै चिन्तित छन् । विकृत हुँदै गइरहेको पत्रकारिता क्षेत्रलाई नियमन गर्न नेतृत्व लागि परेका छन् । महासंघको सदस्य रहेर पनि पत्रकारिता नगरी अन्य पेसा व्यवसायमा लागेकालाई नेपाल पत्रकार महासंघको शुद्धीकरण अभियानअन्तर्गत गैर पत्रकारको शुद्धीकरण र संख्या न्यूनीकरण गर्दै लैजाने उद्देश्य बोकेका छन् । त्यसै देशभरिको ७६ जिल्ला शाखा, ४२ प्रतिष्ठान शाखा, ११ एसोसिएट, ९ वैदेशिक शाखा, १० प्रदेश परिषद्, १० प्रदेश समितिमा एकसाथ सदस्यता शुद्धीकरण अभियान थालेका हुन् । यसले समाजको दिशानिर्देश गर्ने पत्रकारिता क्षेत्रको मर्यादा आचारसंहिता र उचाइ कायम राख्दछ भन्ने लक्ष्य लिइएको छ । यहाँ मिडिया हाउस श्रमजीवी पत्रकार ऐन लागु नगरीकन आफू व्यावसायिक बन्ने र पत्रकारलाई श्रम शोषण गरेर बसेका छन् । त्यस्ता अधिकांश मिडिया हाउसले चरेर खानलाई माइक र कार्ड दिएर जन्माएका गैर खेताला पत्रकारलाई नियन्त्रण गर्नको निम्ति महासंघको अभियानमा सहयोगपूर्ण तदारुकता देखाउनै पर्ने बेला आएको छ । यसका अलावा नागरिक चेतनासँगै राज्य प्रणाली नीतिगत रूपमा सक्षम हुनै पर्छ । अर्थात् महासंघले यस्ता विकार पक्षलाई नियन्त्रणको नीति ल्याउनै पर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर
लुटिएका सपनाहरू 
मङ्गलवार, असोज २९, २०८१